नियमविपरीत पराल र छवाली पोलिँदै

‘वातावरण दूषित मात्रै नभई माटोको जैविक पदार्थसमेत नष्ट भएर उर्वराशक्ति ह्रास हुन्छ’
माधव ढुंगाना

भैरहवा — धान र गँहु काटेपछि खेतमा रहेको छवाली र पराल जलाउन सरकारले प्रतिबन्ध लगाएको छ । सरकार मातहतकै यहाँस्थित एक कार्यालयले भने बर्सेनि जलाएर नियमको धज्जी उडाउँदै आएको छ ।

५२ बिगा क्षेत्रफलको भैरहवास्थित राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमले आफ्नै स्वामित्वको जमिनमा धान र गहुँ काटिसकेपछि कामदार लगाएरै खेतमा पराल र छवाली जलाउने गरेको हो ।

कार्यालय परिसर र कर्मचारी आवास क्षेत्रबाहेक उक्त जमिनको पूरै भूभागमा धान र गहुँ लगाइन्छ । चारैतिर बस्तीबीचको उक्त कार्यालयले खेतमा आगलागी गर्दा निस्किने धूँवाले स्थानीय आक्रान्त बनेका छन् । खासगरी गहुँ काटेपछि थुपारिएको छवाली जलाउने बेला गर्मी समय हुने र त्यतिबेला तराईमा चल्ने तातो हावासँगै धूँवा चारैतिर फैलिँदा वातावरण निकै प्रदूषित हुन्छ । तातो हावाले उडाउने खरानी घरभित्रसमेत पस्ने गरेको स्थानीयले बताए ।

वातावरण संरक्षण ऐनअनुरूप खेतमा थुपारिएको पराल र छवाली जलाउन सरकारले प्रतिबन्ध लगाएको हो । पराल र छवाली जलाउँदा वातावरण दूषित हुनुका साथै माटोको जैविक पदार्थसमेत जलेर नष्ट हुने हुँदा यसलाई प्रतिबन्ध लगाएको कृषि विकास कार्यालय प्रमुख भोजराज सापकोटा बताउँछन् ।

‘खेतमा रहेको पराल र छवाली जलाइँदा गड्यौलालगायत लाभदायक जीव मर्ने र वातावरण दूषित हुन्छ,’ सापकोटोले भने, ‘आगो लगाउँदाको बेफाइदाबारे स्वयं कृषि मन्त्रालयले नै प्रचारप्रसार गर्नुका साथै जलाउनेमाथि दण्डित गर्ने गरेको छ ।’ उनका अनुसार जलाइँदा माटोमा रहेका जैविक पदार्थ नष्ट भई माटोको उर्वराशक्ति नै ह्रास हुन्छ ।

कम्बाइन र हार्बेस्टर मेसिन प्रयोग गरी खेतमा धान र गहुँ काट्दा पराल र छवाली खेतमै छुट्ने र किसानले त्यसमा आगो लगाइदिने भएकाले केही वर्षअघि सरकारले यी मेसिनको आयात र प्रयोगमै प्रतिबन्ध लगाएको थियो । कृषि प्रविधिको युगमा औजार प्रयोग नगरी हातैले खेती गर्न मजदुर अभाव हुँदा असम्भव हुने भएपछि ती मेसिनको साथमा पराल र छवाली संकलन गर्ने ‘स्ट्ररेपर’ नामको उपकरण पनि ल्याउनुपर्ने र प्रयोग गर्दा पनि ती जोड्नै पर्ने प्रावधान सरकारले ल्याएको छ । यी दुवै प्रावधान सरकारले लगाउनुको पछाडि खेतमा पराल र छवालीमा आगलागी हुनबाट जोगाउनु हो ।

राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम भैरहवाका प्रमुख शेषरमण उपाध्यायले खेतमा रहेको पराल र छवाली जलाउन नियमले नपाइने भए पनि छिटो नगल्ने र नि:शुल्क दिँदा पनि कसैले नलग्ने हुँदा जलाउन बाध्य भएको बताए ।

‘पराल र छवाली संकलन गर्न नै गाह्रो हुने भएकाले अतिरिक्त मजदुर खोजेर जलाउने गरिएको हो,’ उनले भने । यसरी जलाउँदा माटोको उर्वराशक्ति घट्ने, जैविक पदार्थ नष्ट हुने, वातावरण प्रदूषित हुने र लाभदायक जीव पनि मर्ने कुरामा उनी सहमत छन् ।

प्रकाशित : जेष्ठ १, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी विश्वविद्यालयमा ऐनविपरीत पढाइ

तिलोत्तमामा स्नातक तहमा बौद्ध दर्शन र यात्राको पढाइ सुरु
अमृता अनमोल

बुटवल — लुम्बिनी बौद्ध विश्वविद्यालयले विषय र सन्दर्भ नमिल्ने साधारण विषय पढाउन थालेको छ । काठमाडौंमा गत वर्षबाट सुरु स्नातकोत्तर तहमा इन्जिनियरिङ र यस वर्षबाट तिलोत्तमामा स्नातक तहमा बौद्ध दर्शन र यात्रा सुरु गरेको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा आयोजित दीक्षान्त समारोहका सहभागी । तस्बिर : अमृता

विश्वविद्यालय ऐनमा यी विषय पठनपाठनको अनुमति छैन । विश्वविद्यालयले भने बुद्ध दर्शन विशाल भएकाले यसमा टेकेर दर्शनको प्रचार, विद्यार्थीको चाहना र आवश्यकताअनुसार कक्षा सञ्चालन गरेको दाबी गर्‍यो ।

उपकुलपति नरेशमान वज्राचार्यले बौद्ध दर्शनअनुसारका नैतिकवान् जनशक्ति उत्पादन गर्ने अभियान भएको दाबी गरेका छन् । ‘दैला–दैलामा बौद्ध शिक्षा पुर्‍याउन यसो गरेका हौं,’ उनले भने, ‘नैतिकवान् समाज बनाउन पनि धर्म होइन शिक्षाका माध्यमबाट बुद्ध दर्शन बुझेको जनशक्ति उत्पादन गर्न आवश्यक छ ।’ बौद्ध दर्शन, साहित्य, संस्कृतिको खोज, अध्ययन, अनुसन्धान र विस्तार गर्नु विश्वविद्यालयको मुख्य उद्देश्य छ । विषय र सन्दर्भ नमिल्ने स्नातकोत्तरमा डिजास्टर रिक्स इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट तथा कन्स्ट्रक्सन इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट र स्नातकमा टुर एन्ड ट्राभलजस्ता विषय अहिले पढाउन थालेको हो ।

अन्य विश्वविद्यालयले सञ्चालन गर्न सक्ने साधारण विषयमा हात हाल्दा यसको स्थापनाको मर्म र उद्देश्य हराउने चिन्ता सरोकारवालामा छ । लुम्बिनी विकास कोषका पूर्वसदस्यसचिव तथा प्राध्यापक रामलाल श्रेष्ठले विश्वविद्यालयले मुख्य उद्देश्य बिर्सेर विषय छनोट गर्न नहुने बताए । ‘विद्यार्थी आकर्षण गर्न उनीहरूले रुचाएका र चलेका विषय राख्न आवश्यक होला,’ उनले भने, ‘यसो भन्दैमा विषय र सन्दर्भ नै नमिल्ने राख्नु उचित हुँदैन ।’ बुद्ध दर्शनभित्रै पनि धेरै विषय रहेकाले प्राविधिक इन्जिनियरिङ खालका विषयको सट्टा समाजशास्त्रलगायत पढाउँदा बरु राम्रो हुने उनले बताए ।

२०६१ मा अध्यादेशमार्फत् यसको स्थापनाको घोषणा गरिएको थियो । विश्वविद्यालयले ०६७ देखि काठमाडौंमा विद्यावारिधि र ०७० देखि केन्द्रीय क्याम्पस लुम्बिनीमा थेरावाद, महायान, वज्रयान र एप्लाइड विषयमा बौद्ध दर्शन पढाउन थालेको छ । ९ वटालाई सम्बन्धन दिएको विश्वविद्यालयले आंगिक क्याम्पसमार्फत चालु शैक्षिक सत्रदेखि रूपन्देहीको तिलोत्तमामा स्नातकतर्फ बौद्ध दर्शनमा यात्रा र पर्यटक व्यवस्थापन तथा लुम्बिनीमा एक वर्षे प्रमाणपत्र तहका बौद्ध भाषा साहित्यका कक्षा सुरु गरेको छ । ०६७ मा काठमाडौंमा विद्यावारिधि र २०७० देखि केन्द्रीय क्याम्पस लुम्बिनीमा थेरवाद, महायान, वज्रयान र एप्लाइडमा बौद्ध दर्शन पढाउन थालेको हो । पर्यटक व्यवस्थापनको विषय यसको क्षेत्रमा पर्दैन ।

विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्य बुद्ध दर्शनको ज्ञान र सही व्याख्या गर्न नसकेकाले विरोध आएको बताउँछन् । ‘बुद्ध दर्शन विशाल छ । यसमा विज्ञान, आयुर्वेद, अर्थशास्त्र व्यवस्थापन सबै छ । त्यसैले हामीले पढाएका विषय उद्देश्यअनुसार नै चलेका छन्,’ उनले भने, ‘कतिले यसबारे जानेर पनि बुझ पचाएका छन् भने कतिले बुझ्नै खोजेका छैनन् ।’ बौद्ध पर्यटन नेपालको प्रमुख आय भएकाले यसलाई बढाउन बुद्ध दर्शनमा व्यवस्थापन र यात्रा पढाएको दाबी गरे ।

‘लुम्बिनी आउने धार्मिक पर्यटकलाई टुरिस्ट गाइड नपाउने समस्या छ । यस क्षेत्रकै होटलहरू पनि बौद्ध परम्पराअनुसार व्यवस्थापन नहुँदा समस्या छ ।’ रजिस्ट्रार आचार्यले भने, ‘व्यवस्थापनको पढाइले यो समस्या हराउने अपेक्षा छ ।’ सरकारले सुरुदेखि नै अपनत्व महसुस नगर्ने र विद्यार्थीको टाउको गनेर रकम पठाउने गरेकाले पनि नयाँ विषयमा हात हाल्नु परेको उनले बताए ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रतिबद्धता जाहेर गरे पनि राज्यले सुरुदेखि यस विश्वविद्यालयप्रति अपनत्व महसुस गरेको छैन । यसले पनि सही दिशामा हिँडाउने नीति बनाउन र सञ्चालित विषयमा आवश्यक विद्यार्थी, जनशक्ति र पूर्वाधार जुटाउन सकेको छैन । ९ वटा सम्बन्धन प्राप्त क्याम्पससहित विश्वविद्यालयमा जम्मा ४ सय ४७ विद्यार्थी अध्ययनरत छन् । उत्पादित जनशक्तिको सीप र क्षमतासमेत समुचित प्रयोग भएको छैन ।

यसबाट अहिलेसम्म स्नातकोत्तर तह पार गर्ने ९१ र विद्यावारिधि गर्ने १६ जना मात्र छन् । विद्यार्थी नपाएको र सरकारले सहयोग नगरेको भन्दै विषय र क्षेत्रबाहिर गएर विश्वविद्यालयले कक्षा सञ्चालन गर्नु कत्तिको जायज होला ? रजिस्ट्रार तिलक आचार्य भने ऐन परिमार्जन गरेर भए पनि यसलाई जायज बनाउने बताउँछन् । ‘घरघरमा बुद्ध दर्शन पुर्‍याउन र यसले परिकल्पना गरेअनुसार जनशक्ति तयार गर्न साधारण विषय पनि पढाउने अभियान जारी राख्नेछौं,’ उनले भने । यसका लागि विश्वविद्यालयले शैक्षिक गुरुयोजना बनाएर लागू गरेको उनले जनाए ।

शैक्षिक गुरुयोजनामा के छ ?
बौद्ध दर्शनको व्याख्या गर्ने क्षमता बढाई चरित्र निर्माण गर्ने गरी शिक्षा दिन भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राज्ञिक गुरुयोजना बनाएको छ । बौद्ध विश्वविद्यालयले ३ वर्षअघि बनाएको प्राज्ञिक गुरुयोजनामा अन्तर्राष्ट्रिय पहिचान दिँदै नेपालकै फरक शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने उल्लेख छ । त्यसमा शिक्षणका अतिरिक्त मनोशान्तिका लागि विपश्यना, सामाजिक काम, जनचेनतामूलक सेवा र शारीरिक अभ्यासलाई पनि जोड दिइएको छ ।

जसमा बौद्ध विश्वविद्यालयमा विभिन्न विषयका १४ विभाग रहेका छन् । त्यसमा थेरवाद, महायान, वज्रयान, बौद्ध इतिहास, बुद्धिष्ट कला र पुरातात्त्विक, हिमालयन बुद्धिजम, बुद्धिजम एन्ड मेडिसिन, टुरिजम एन्ड गाइडलगायत विभाग छन् । उपकुलपति नरेशमान वज्राचार्यका अनुसार बौद्ध र साधारण गरी विश्वका ५२ विश्वविद्यालयमा सञ्चालन गरिएका कार्यक्रमको अध्ययनबाट समितिले विभाग र विषय छनोट गरेको हो ।

बौद्ध ग्रन्थहरू लेखिएका पाली, संस्कृत, तिब्बती र चाइनिज भाषा तथा साहित्यमा प्रमाणपत्र तथा डिप्लोमा तह चलाउन सकिने प्रस्ताव समितिको छ । त्यसमा पोस्ट ग्रेजुएट डिप्लोमाको व्यवस्था पनि गरिएको छ । यो कार्यक्रम एक वर्षको हुनेछ । गुरुयोजना कार्यान्वयन भएमा विद्यार्थीलाई एमएमा विशिष्टीकृत विषय रोज्न सकिने मौका पनि मिल्नेछ ।

विश्वविद्यालयमा अन्तर्राष्ट्रिय आकर्षण बढाउन विदेशी विज्ञलाई मानार्थ उपाधि दिन सकिने व्यवस्था समितिले बनाएको छ । लेक्चर, प्रोफेसर, पीएचडी र डी. लिटरेचरको उपाधिबाट पनि विज्ञलाई विश्वविद्यालयले सम्मान गर्न सक्नेछ । क्याम्पसमा शिक्षणका लागि भिजिटिङ प्रोफेसर, अतिथि लेक्चर, बौद्ध विज्ञहरूलाई आमन्त्रण गरिने योजना छ । रजिस्ट्रार आचार्यले राज्यले आवश्यक लगानी नगर्दा गुरुयोजनाअनुसार शैक्षिक र व्यवस्थापकीय काम अघि बढाउन नसकेको बताए ।

प्रकाशित : जेष्ठ १, २०७५ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्