वर्षा नलाग्दै पहिरोको त्रास

हिउँदको समयमा पानी नपर्दा पनि धूले पहिरोले सास्ती
माधव अर्याल

पाल्पा — वर्षा नलाग्दै सिद्धार्थ राजमार्गमा पहिरोको त्रास सुरु भएको छ । गत वर्ष खसेको ठूलो पहिरो रोकथाम नअपनाइदा यसवर्ष त्यही स्थानमा पहिरो खस्न थालेको हो । गतवर्ष १५ दिनसम्म अवरुद्ध हुने र खुल्ने गरेको स्थानमा ९ महिनासम्म रोकथामका कुनै उपाय अपनाइएन । त्यही स्थानमा पानी पर्नासाथ पहिरो खस्न सुरु भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र सिद्धबाबा बीचको तिनाउ ३ हेडबक्सनजिकै गएको पहिरो । तस्बिर : माधव

असोजपछि वैशाख पहिलो सातासम्म पानी परेन । बीच–बीचमाा धूले पहिरो पनि खस्यो । तर डिभिजन सडकले वास्तै गरेन । अहिले ५ दिनअघि पहिरो खस्दा दुई घण्टा सडक अवरुद्ध भयो । पुन: आइतबार रातिको पानीले सोमबार दिउँसोसम्म सडक अवरुद्ध रह्यो ।

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्डको दोभान सिद्धबाबा हेडबक्समा गत वर्षदेखि बगेको निरन्तर पहिरोका कारण यात्रुले सास्ती बेहोर्नु परेको तिनाउ गाउँपालिका ३ दोभानका विष्णुप्रसाद पाण्डेयले बताए । गत वर्ष झण्डै महिना दिनसम्म केही समय खुल्ने र बन्द हुने सडकमा यस वर्ष पनि समस्या देखिएको उनले बताए । राजमार्ग बन्द भएपछि यात्रुले ६ किलोमिटर पैदल यात्रा गरेर गन्तव्य जानुपर्ने बाध्यता छ । सोमबार बिहान ७ बजेदेखि डोजर, स्काभेटर लगाए पनि ठूला ढुंगा भएकाले काम गर्न सकेन । ‘ब्रेकर लगाएर ढुंगा फोर्नु पर्दा समस्या भयो,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले भने, ‘गतवर्ष निकै दु:ख दियो यही स्थानमा फेरि उही समस्या सुरु भएको छ ।’

अघिल्लो वर्ष खसेको पहिरोमा यसवर्ष वर्षा सुरु नहुँदै हैरानी खेप्नु परेको उनले बताए । गतवर्ष सडक डिभिजनले दैनिक डोजर, एक्साभेटर, लोडर राखेर पहिरो पन्छाए पनि पर्खाल लगाउने वा अन्य उपायको काम नगर्दा यस वर्ष पनि जनताले दु:ख पाउने पक्का छ । गत वर्ष नै पहिरो फालेर सवारी नियमित भएको दुई–तीन घण्टा नबित्दै पुन: ढुंगा र माटोसहितको धूले पहिरो खसेर समस्या बेहोरेका थिए । ‘पानी पर्न सुरु भयो भने पहिरो सफा गरेको केही घण्टामै ढुंगा माटो झरेर बाटो अवरोध हुने पक्का छ,’ स्थानीय वडाध्यक्ष प्रेम पाण्डेयले भने, ‘सिद्धार्थ राजमार्ग भएर चल्ने सवारी र यात्रुले यस वर्ष पनि सास्ती खेप्नु पर्ने पक्का छ ।’ राजमार्गका अन्य भागमा पनि सवारी विगतमा यति लामो समय बन्द भएको थिएन ।

गत वर्ष दोभान बजारदेखि ५ सय मिटर टाढा खसेको पहिरो अनौठो प्रकृतिको छ । सफा गरेर हिँडेको केही समयमै ढुंगा खस्न थाल्छ । हेर्दाहेर्दै पूरै सडक भरिन्छ । ठूल्ठूला ढुंगासहितको पहिरो सफा गर्नसमेत माथिबाट ढुंगा खस्दा समस्या हुने गरेको ट्राफिक प्रमुख आचार्यले बताए । ‘गत वर्ष पनि पहिरोले हैरानी पारेको हो,’ उनले भने, ‘फेरि यस वर्ष पनि उही समस्या हुने पक्का छ ।’

हरेक वर्ष कम्तीमा १० जनाले दोभानदेखि सिद्धबाबा क्षेत्रसम्म ज्यान गुमाउनु परेको छ । कहिले पहिरोले बस, कार, जिप, मोटरसाइकल बगाउने गरेको छ । ढुंगाले लागेर ज्यान गुमाउने पनि उत्तिकै हुन्छन् । ‘सधैं समस्या झेल्नुपर्ने बाध्यता छ,’ आचार्यले भने, ‘यस विषयमा सांसद, जनप्रतिनिधि गम्भीर हुन जरुरी छ ।’ दोभानदेखि ६ किमि क्षेत्रमा कहाँ पहिरो खस्छ भन्ने थाहा हुँदैन । साढे ३ किलोमिटर सडक अझै बढी जोखिममा छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालका अनुसार साढे ३ किलोमिटर क्षेत्रमा १ सय १३ पहिरो खसेको छ । यस क्षेत्रमा १० वर्षमा ७० को मृत्यु, १९ बस, ८ ट्रक, ११ कार र जीप साथै २१ मोटरसाइकलमा क्षति पुगेको तथ्यांक छ । यस क्षेत्रमा भौगोलिक बनावट पनि उस्तै छ । जसले गर्दा यस भेगमा पहिरो र ढुंगा खस्ने पत्तासमेत लाग्दैन । कतिपय स्थानमा झन्डै डेढ किलोमिटर माथिबाट पहिरो खस्छ ।

गत वर्ष भदौमा विद्युत् हेडबक्समाथि खसेको पहिरो पनि कम्तीमा ३ सय मिटर लामो छ । पहिरोले राजमार्गको कालोपत्रे भागसमेत भत्कायो । ‘गत वर्ष खसेको पहिरोको समस्या समाधानका लागि पहल भइरहेको छ,’ डिभिजन सडक प्रमुख बाबुराम सापकोटले भने, ‘ठेक्का लगाएको छ तर निर्माण व्यवसायीले काम नगर्दै फेरि त्रास सुरु भइसकेको छ । दैनिक सवारी नियमित गराउन पहल भए पनि निरन्तर खसेको पहिरोले समस्या भएको हो ।’ उनका अनुसार यसको वैकल्पिक बाटोका रूपमा नुवाकोटतर्फबाट बुटवल बेलबास साथै झुम्सादेखि चौकी भञ्ज्याङ भएर चरङ्गे निस्कने बाटोका लागि काम अघि बढेको छ । डिभिजन सडकले तिनाउ र कचल खोलामा पक्की पुल निर्माण अघि बढाएको छ ।

यस्तै, टनेल र सेमी टनेलको अध्ययनसमेत अघि बढेको उनले बताए । राजमार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, बागलुङ, कास्की, मुस्ताङलगायतका यात्रुले यात्रा गर्छन् ।

तराईबाट पहाड र पहाडबाट तराई जाने उत्तर–दक्षिण राजमार्गमा यात्रा गर्न सहज हुनुपर्ने यात्रुले सधैं माग गर्दै आए पनि अहिलेसम्म हुन नसकेको दोभानका चोपलाल गिरीले बताए । ‘यति महत्त्वपूर्ण बाटो भएर पनि चासो दिने तर काम गर्ने प्रवृत्ति देखिएन,’ उनले भने, ‘सधैं यस क्षेत्रका बासिन्दालाई सास्ती खेप्नुपर्ने बाध्यता छ ।’

प्रकाशित : जेष्ठ १, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नियमविपरीत पराल र छवाली पोलिँदै

‘वातावरण दूषित मात्रै नभई माटोको जैविक पदार्थसमेत नष्ट भएर उर्वराशक्ति ह्रास हुन्छ’
माधव ढुंगाना

भैरहवा — धान र गँहु काटेपछि खेतमा रहेको छवाली र पराल जलाउन सरकारले प्रतिबन्ध लगाएको छ । सरकार मातहतकै यहाँस्थित एक कार्यालयले भने बर्सेनि जलाएर नियमको धज्जी उडाउँदै आएको छ ।

५२ बिगा क्षेत्रफलको भैरहवास्थित राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमले आफ्नै स्वामित्वको जमिनमा धान र गहुँ काटिसकेपछि कामदार लगाएरै खेतमा पराल र छवाली जलाउने गरेको हो ।

कार्यालय परिसर र कर्मचारी आवास क्षेत्रबाहेक उक्त जमिनको पूरै भूभागमा धान र गहुँ लगाइन्छ । चारैतिर बस्तीबीचको उक्त कार्यालयले खेतमा आगलागी गर्दा निस्किने धूँवाले स्थानीय आक्रान्त बनेका छन् । खासगरी गहुँ काटेपछि थुपारिएको छवाली जलाउने बेला गर्मी समय हुने र त्यतिबेला तराईमा चल्ने तातो हावासँगै धूँवा चारैतिर फैलिँदा वातावरण निकै प्रदूषित हुन्छ । तातो हावाले उडाउने खरानी घरभित्रसमेत पस्ने गरेको स्थानीयले बताए ।

वातावरण संरक्षण ऐनअनुरूप खेतमा थुपारिएको पराल र छवाली जलाउन सरकारले प्रतिबन्ध लगाएको हो । पराल र छवाली जलाउँदा वातावरण दूषित हुनुका साथै माटोको जैविक पदार्थसमेत जलेर नष्ट हुने हुँदा यसलाई प्रतिबन्ध लगाएको कृषि विकास कार्यालय प्रमुख भोजराज सापकोटा बताउँछन् ।

‘खेतमा रहेको पराल र छवाली जलाइँदा गड्यौलालगायत लाभदायक जीव मर्ने र वातावरण दूषित हुन्छ,’ सापकोटोले भने, ‘आगो लगाउँदाको बेफाइदाबारे स्वयं कृषि मन्त्रालयले नै प्रचारप्रसार गर्नुका साथै जलाउनेमाथि दण्डित गर्ने गरेको छ ।’ उनका अनुसार जलाइँदा माटोमा रहेका जैविक पदार्थ नष्ट भई माटोको उर्वराशक्ति नै ह्रास हुन्छ ।

कम्बाइन र हार्बेस्टर मेसिन प्रयोग गरी खेतमा धान र गहुँ काट्दा पराल र छवाली खेतमै छुट्ने र किसानले त्यसमा आगो लगाइदिने भएकाले केही वर्षअघि सरकारले यी मेसिनको आयात र प्रयोगमै प्रतिबन्ध लगाएको थियो । कृषि प्रविधिको युगमा औजार प्रयोग नगरी हातैले खेती गर्न मजदुर अभाव हुँदा असम्भव हुने भएपछि ती मेसिनको साथमा पराल र छवाली संकलन गर्ने ‘स्ट्ररेपर’ नामको उपकरण पनि ल्याउनुपर्ने र प्रयोग गर्दा पनि ती जोड्नै पर्ने प्रावधान सरकारले ल्याएको छ । यी दुवै प्रावधान सरकारले लगाउनुको पछाडि खेतमा पराल र छवालीमा आगलागी हुनबाट जोगाउनु हो ।

राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम भैरहवाका प्रमुख शेषरमण उपाध्यायले खेतमा रहेको पराल र छवाली जलाउन नियमले नपाइने भए पनि छिटो नगल्ने र नि:शुल्क दिँदा पनि कसैले नलग्ने हुँदा जलाउन बाध्य भएको बताए ।

‘पराल र छवाली संकलन गर्न नै गाह्रो हुने भएकाले अतिरिक्त मजदुर खोजेर जलाउने गरिएको हो,’ उनले भने । यसरी जलाउँदा माटोको उर्वराशक्ति घट्ने, जैविक पदार्थ नष्ट हुने, वातावरण प्रदूषित हुने र लाभदायक जीव पनि मर्ने कुरामा उनी सहमत छन् ।

प्रकाशित : जेष्ठ १, २०७५ १०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT