कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोबाइलमै स्थानीय सरकार

नगरपालिकाबाट दिइने समग्र सेवा प्रवाहमा सर्वसाधारणको सहज पहुँच
ठाकुरसिंह थारू

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले विकास निर्माणका काममा पारदर्शिता अपनाउन मोबाइल एप्समार्फत खुला स्थानीय सरकार सुरु गरेको छ । त्यसका लागि मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको हो ।

मोबाइलमै स्थानीय सरकार

नगरपालिकाबाट दिइने समग्र सेवा प्रवाहमा सर्वसाधारणको सहज पहुँचका लागि नयाँ प्रविधि सुरु गरेको छ । सेवाग्राहीले उक्त एप्लिकेसन डाउनलोड गरेर नगरपालिकाका योजना, बजेट, कार्यक्रमबारे आफ्नो मोबाइलमा हेर्न सक्नेछन् ।

खुला सरकारको अवधारणाअनुसार नगरपालिकाको सेवालाई प्रविधिमैत्री बनाइएको हो । मोबाइल एप्लिकेसन सुरु गर्ने नेपालगन्ज उपमहाननगर दोस्रो हो । उक्त प्रविधिको पहुँचले नगरको गतिविधिबारे जानकारी लिन कार्यालय पुग्नुपर्ने छैन । चाहेको सूचना आफ्नै मोबाइलबाटै प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । यसअघि नीलकण्ठ नगरपालिकामा उक्त सेवा थालिएको हो । वेभसाइडमा उपमहानगरपालिकाको प्रोफाइल, बजेट, परियोजना, सेवा, संसाधन, सूचना तथा गतिविधि, नक्सा आदि सम्पूर्ण तथ्य समावेश छन् । वडाका सम्पूर्ण सेवा, योजना प्रगतिसँगै जनताले नगरप्रमुखसँग हटलाइनमा कुरा गर्न सक्नेसम्मको व्यवस्था मिलाइएको छ ।

जिल्लाबाट प्रदेश सांसद कृष्णा केसीले नयाँ प्रविधिले नेपालगन्ज उपमहानगरलाई पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रविधिको प्रयोगसँगै गोपनीताका कुरा पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ । ‘नयाँ प्रविधिबाट स्थानीय सरकारका गतिविधिबारे जानकारी दिनु सकारात्मक हो । तर त्यसको दुरुपयोग हुनु हुँदैन,’ उनले भने । यूएसआईडीका एन्टी क्रप्सन तथा गुड गभरनेन्सका वरिष्ठ सल्लाहकार भिक्टोरिया अयरले मोबाइलबाटै आफ्नो गतिविधिबारे जानकारी दिन सक्ने प्रविधिमा प्रवेश गरेकोमा बधाई दिइन् । उनले नगरपालिकाका सेवालाई सबैको पहुँचमा पुर्‍याउन आवश्यक रहेको बताइन् । यूएसआईडीकी अयर र नगरप्रमुख धवलशमशेर राणाले संयुक्त रूपमा ल्यापटपमा एप्स क्लिक गरेर उद्घाटन गरेका थिए ।

प्रमुख राणाले सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन अनेकन चुनौती भए पनि नयाँ प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रविधिमैत्री सेवाले जनताको कामलाई सहज र प्रभावकारी बनाउने जनाए । एप्लिकेसनबाट नेपालगन्ज उपमहानगरभित्र भइरहेका विकासका काम, लागत रकम, सडकको अवस्था र नगरका विभिन्न प्वाइन्ट हेर्न सकिन्छ । त्यससँगै उपमहानगरको कामप्रति गुनासो पनि गर्न सकिने व्यवस्था मिलाइएको छ । कुनै कर्मचारीको काम चित्त नबुझे सोही एप्लिकेसनका माध्यमबाट कमेन्ट गर्न सकिनेछ ।

जिसस अध्यक्ष अजयकुमार श्रीवास्तवले नेपालगन्ज उपमहानगर प्रविधिमैत्री युगमा प्रवेश गरेको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, माओवादी नेता गोपाल पुनलगायतले नयाँ प्रविधिले सर्वसाधारणलाई सहज सेवा दिने विश्वास गरे । उक्त एप्लिकेसन चलाउन मोबाइलको प्लेस्टोरमा नेपालगन्ज उपमहानगरपालिका लेखेपछि डाउनलोड गर्न सकिन्छ । उपमहानगर प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले नयाँ प्रविधिले जनतालाई घरमै सेवासुविधासँगै भावी रणनीति बनाउन सहयोग पुग्ने धारणा राखे ।

प्रकाशित : जेष्ठ ३, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?