कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

यार्चा संकलन अन्योल

हिमपातले बुकी र पाटन सेताम्य
हरि गौतम

रुकुमपूर्व — यार्चा सिजन व्यवस्थापन समितिले यस वर्ष जेठ पहिलो साताबाट संकलन खुलाउने तयारी गरेको थियो तर अहिलेसम्म दिन तोक्न सकेको छैन । मौसमी प्रतिकूलताले पहिलो साता यार्चा खुल्ने सम्भावना न्यून देखिएको छ ।

यार्चा संकलन अन्योल

पुथाउत्तरगंगा गाउँपालिका १ र २ वडाको पुपाल, अरबिजा, जंगला, पूर्वाङ, भित्रीवन, उङ्ला, निम्कु, पानीढल, फूलबारीलगायतमा यार्चा पाइन्छ ।

ती स्थानमा मौसम प्रतिकूल बनेकाले समिति अन्योलमा परेको हो । यार्चा पाइने बुकी, पाटनमा दिनहुँ हिमपात भइरहेको छ । यही कारण दिन तोक्न समस्या भएको हो । पहिलो सातामै बुकी, पाटन खुला गर्ने भनिएको थियो । त्यहाँ हिमपात भइरहेकाले पहिले भनेको मितिबाट यार्चा खुल्ने सम्भावना नरहेको समिति उपाध्यक्ष जीवन रोकाले बताए । ‘बुकी, पाटन सेताम्य छ, सर्वसाधारणलाई बुकीमा लगेर दु:ख किन दिने भनेर हामीले त्यसबारे निर्णय गरेका छैनौं,’ रोकाले भने । अब जेठ १० गते बस्ने व्यवस्थापन समिति बैठकले यार्चा खुला गर्ने मितिको तय गर्ने उनले जनाए । ‘सायद त्यही १० गतेको बैठकबाट यार्चा टिप्ने तथा संकलन गर्ने दिनको टुङ्गो लाग्नेछ,’ उनले भने, ‘दुले क्याम्प पुगेर बैठक बस्दैछौं, हेरौं मौसम कस्तो हुन्छ ?’

दुले पुग्न गाउँबाट दुई दिन हिँड्नुपर्छ । समिति पदाधिकारी बुकी, पाटन तथा मौसमको अवस्था अवलोकन गरेर दुलेमा बैठक बस्नेछन् । अघिल्लो समितिले पनि दुले क्याम्पमै बैठक गरेर दिन तोकेको थियो । अघिल्ला वर्षमा यो समयमा यस्तो हिमपात हुन्थेन । यार्चा टिप्ने तयारीमा रहेका सर्वसाधारण तथा अन्य गाउँ तथा जिल्लाबाट आउने पनि हिमपात भइरहेको सुनेर अन्योलमा छन् । गत वर्षसम्म सर्वसाधारण बुकीतर्फ लागिसक्थे । ‘यो सिजनमा बेस्सरी हिमपात भइरहेको छ, त्यसैले सिजन व्यवस्थापन समिति पनि यार्चा खोज्ने दिन तोक्ने विषयमा अन्योलमा छ,’ स्थानीय भरतकुमार पुनले भने, ‘मौसम अनुकूल भएपछि यार्चा खोज्न सुरु हुन्छ ।’ उनले सर्वसाधारण यार्चा संकलनका लागि आतुर रहेको पनि बताए ।

जेठ महिनासम्म हिमपात हुनुलाई स्थानीयले आश्चर्यको रूपमा लिएको भनाइ उनको छ । यार्चाको सुरक्षाका लागि वैशाख ५ गते बुकी पुगेका युवा र प्रहरी भने त्यहीं छन् । उनीहरू टेन्टको सहायताले बसिरहेका छन् । टेन्ट हिउँले छोपेको देखिन्छ ।

समितिले उम्रिसकेको यार्चा चोरीबाट जोगाउन हरेक सिजनमा युवाहरू बुकीमा पठाउने गर्छ । यस वर्ष ६ सय स्थानीय युवा प्रहरीसहित बुकीको यार्चा सुरक्षाका लागि तैनाथ छन् । यार्चा टिप्ने दिनबारे निर्णय गर्नेबाहेक अरू सबै तयारी सिजन व्यवस्थापन समितिले गरिसकेको छ । यार्चा खोज्ने प्रतिव्यक्तिले सिजन व्यवस्थापन समितिलाई एक हजार पाँच सय शुल्क तिर्नुपर्ने छ भने संकलन गर्ने स्थानीय व्यापारीले प्रतिव्यापारी समितिलाई २० हजार रुपैयाँ तिर्नुपर्ने छ ।

गाउँभन्दा बाहिरबाट गएका व्यापारीबाट कति शुल्क लिने भन्ने निर्णय भने हुन सकेको छैन । जेठ १० गतेको बैठकले बाहिरबाट आउने व्यापारीको शुल्क निर्धारण गरिने समितिले जनाएको छ । समुद्री सतहबाट ४ हजार ५ सयदेखि ४ हजार ६ सय मिटरसम्मको उचाइमा यार्चा पाइन्छ । स्थानीयको मुख्य आम्दानीको स्रोत यार्चा नै हो । यार्चा टिप्न थालेदेखि एक महिनासम्म जारी रहन्छ । यार्चा टिपेर एक व्यक्तिले ३० हजारदेखि ५ लाखसम्म आम्दानी गर्छन् ।

प्रकाशित : जेष्ठ ३, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?