कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वरोजगारको आधार सहकारी

आबद्ध सदस्यबाट संकलित रकम उत्पादनमूलक क्षेत्रमा लगाउन जनप्रतिनिधिको जोड
वीरेन्द्र केसी

अर्घाखाँची — गाउँपिच्छे सहकारी र समूह । मासिक रूपमा पैसा उठाएर बचत गर्ने बानीको विकास भएको छ । कोषमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी कमै भएको छ ।

स्वरोजगारको आधार सहकारी

शीतगंगा नगरपालिका १३ हिटनटोला गाउँका २४ महिला आबद्ध जागरण स्वावलम्बी महिला कृषक समूहमा १ लाख १२ हजार ४ सय १७ रुपैयाँ कोषमा जम्मा भएको छ ।

एक जनाले महिनामा एक सय रुपैयाँ बचत गर्छन् । समूहकी सदस्य सीता विकले १० हजार ऋण लिएकी छन् । घरखर्चका लागि चामल, नुन, तेल, लत्ताकपडा र छोराछोरीको स्कुल खर्च तिर्न ऋण लिएको बताइन् । ‘त्यो ऋण कुखुरा, पाडा र बोका बेचेर तिर्छु,’ उनले भनिन्, ‘समूहबाट ऋण लिएपछि घरखर्चका लागि साहूको महँगो ब्याज तिर्नु परेको छैन ।’ उनले ऋण पशुपालनमा लगानी गरेकी छैनन् ।

रनबहादुर विकलाई श्रीमती विमलाले समूहबाट घरखर्चका लागि ऋण लिएपछि साहूकहाँ पैसा खोज्न धाउनु पर्दैन । घरखर्च धान्न ऋण त ल्याइन्छ तर तिर्ने कसरी ? तिनै बाख्रापाठा बेचेर हो । ५ हजार ऋण लिएर चामल किनियो, एउटा पाडो छ त्यही बेचेर तिर्नुपर्ला, विकले भने । हिटनटोला मगर र दलित जातिको बाहुल्य बस्ती हो । विकासमा गाउँ पछाडि परेको र गरिब परिवार छन् । समूहमा गरिने बचतले घरखर्च टार्ने पैसा जुटाउन धनी व्यक्तिकोमा धाउन नपरेकोमा उनी खुसी छन् । समूहकी अध्यक्ष रीता हिटनले ऋण सबैले घरखर्चकै लागि लगेको बताइन् । अब पशुपालन, कृषि र उत्पादन क्षेत्रमा लगानी गर्ने योजना छ, उनले भनिन् ।

जिल्लामा यस्ता धेरै समूह र सहकारी भएको उनी बताउँछिन् । समूहमा जम्मा गरेको पैसा गाउँमा कोही बिरामी परे, मृत्यु भएमा किरिया खर्च, चामल, नुनतेल, कपडा, घर बनाउन र घडेरी किन्न खर्च गरिन्छ । जनप्रतिनिधिले अब सबैलाई सहकारीमा आबद्ध गराएर संकलित रकम उत्पादनमूलक क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिएका छन् । डिभिजन सहकारी कार्यालय कपिलवस्तुले अर्घाखाँचीका ६ स्थानीय तहका जनप्रतिनिधिलाई सहकारी संस्थाको अभिलेख हस्तान्तरण गरेको छ । सहकारी ऐनसँग नबाझिने गरी स्थानीय तहले कानुन बनाउन सक्ने अधिकार छ । अभिलेख बुझेपछि जनप्रतिनिधिले सहकारीबाटै समृद्ध पालिका बनाउने उपाय खोजिने दाबी गरे ।

डिभिजनका सहकारी अधिकृत ऋषिराम पौडेलले सन्धिखर्क, शीतगंगा, भूमिकास्थान नगर प्रमुख र छत्रदेव, पाणिनी, मालारानी गापा अध्यक्षलाई एक सय ३४ सहकारीको अभिलेख हस्तान्तरण गर्दै पालिकाको आर्थिक, सामाजिक र सांस्कृतिक विकास सहकारीबाटै सम्भव भएको बताए । हाम्रै सहकारीले कफी, अदुवा, मसलाबाली उत्पादन राम्रो गरेका छन् तर प्रचार भएन, अब जनप्रतिनिधिको काँधमा जिम्मेवारी आयो, उनले भने ।

समूह र सहकारीमा जम्मा भएको पैसा उत्पादन क्षेत्रमा लगानी गरी स्वरोजगार बनाउन भूमिका खेल्ने छत्रदेव गापा अध्यक्ष लेखनाथ पोखरेलले बताए । ‘अर्थतन्त्रको तीन खम्बे नीतिमा एक खम्बे सहकारी नै हो,’ उनले भने, ‘सहकारीको सदस्य भएर बचत गर्नेहरू धनी छन् । अब त्यो पैसालाई उद्योग, कृषि, पशुपालन र उत्पादन क्षेत्रमा लगानी गरी सबै सदस्यलाई स्वरोजगार बनाउँछु ।’ बचतको पैसा अनुत्पादक क्षेत्रमा खर्च भयो । एउटा सहकारीमा लाखदेखि करोडसम्म छ । त्यो सबै तरकारी, फलफूल, गाई–भैंसी, बाख्रापालन, घरेलु उद्योगमा लगानीबाट उत्पादन वृद्धि गरेपछि चामल किन्ने पैसा त्यहींबाट निस्कन्छ, समूहमा ऋण खोज्न जानु पर्दैन, शीतगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले भने । सहकारी र समूह गाउँका बैंक बनेका छन् ।

रेमिट्यान्स पनि उत्तिकै भित्रिएको छ । ‘घरैपिच्छेका परिवारलाई सहकारीमा सदस्य बनाएर बचत गराउने र उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउँछु,’ उनले भने, ‘मैले सहकारीबाटै समृद्धिको सपना देखेको छु । बाटो, खानेपानी, विद्युत् विस्तारलगायत पूर्वाधार विकास र योजना सरकारी बजेटबाट काम हुन्छ । उत्पादनबाट आत्मनिर्भर बनाउने काम करोडौं रुपैयाँ कोषमा रहेको सहकारीको पैसा परिचालन गर्नुपर्ने तर्क धेरैको छ ।

सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसालले सबैलाई सहकारीमा आबद्ध गर्ने, उत्पादनमा लगानी बढाउने र बेरोजगार युवालाई स्वरोजगार बनाउने दाबी गरे । ऋण तथा वचत सहकारीलाई अब पशु, कृषि, पर्यटन क्षेत्रमा लगानीमैत्री बनाउनुनपर्ने उनको धारणा छ । सुविधा खोज्दै सहर बसाइँसराइले गाउँका खेतीयोग्य जमिन र सहरमा प्लटिङले बाँझिए । उब्जनी घट्यो । खेर गएको जडीबुटी संकलन, कच्चपदार्थ, दुग्ध व्यवसाय, घरेलु उद्योग, पर्यटनलगायतमा लगानी गर्नुपर्ने जिसस प्रमुख पीताम्बर शर्माले बताए । ‘ऋण तथा बचत मात्रै गरेर हुँदैन, अब उत्पादनमा सहकारीको पैसा लगानी गर्नुपर्छ,’ उनले भने, गाई, भैंसी, कुखुरा, बाख्रा, तरकारी र मसलाबाली खेती गर्नेलाई ऋण दिने व्यवस्था हुनुपर्छ ।’

गाउँमा महिला समूह र सहकारी खुलेका छन् तर सबै आबद्ध छैनन् । गाउँमा पटुकी, खोपी, थैलीमा पैसा कुटुरो पारेर थन्किएको छ । त्यो पैसा चलायमान बनाउन सहकारीमा आबद्ध गर्ने र स्वरोजगार बनाउन लगानी गर्नुपर्छ । चुत्राबेंसीको साथी सहकारी संस्थामा १८ सय सेयर सदस्य छन् । मासिक र दैनिक बचत हुन्छ । अध्यक्ष प्रकाश भुसालले सबै नागरिकलाई स्वरोजगार बनाउन आधार नै सहकारी भएको बताए । जनप्रतिनिधिले ध्यान दिएर सहकारीको विस्तार र प्रवद्र्धन गर्नुपर्छ, उनले भने । मुलुकमा राजनीतिक क्रान्ति सकिएको छ, अब सहकारीमार्फत स्वरोजगार र आर्थिक समृद्धिको अभियान सुरुवात भएको जिल्ला सहकारी संघ अध्यक्ष एवं मालारानी गापा अध्यक्ष बालकृष्ण आचार्यले भने ।

प्रकाशित : जेष्ठ ७, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?