१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तरबुजा खेतीको सफल परीक्षण

पहिलो वर्षै एकै व्यक्तिले ३ लाखभन्दा बढीको आम्दानी गरे
माधव अर्याल

पाल्पा — पहाडी भेगमा पहिलोपटक स्थानीय बगनासकाली, १ का किसानले तरबुजा खेतीको सफल परीक्षण उत्पादन गरेका छन् । अत्यधिक गर्मी ठाउँमा मात्रै फल्ने तरबुजा पहिलोपटकमै सोचेभन्दा राम्रो उत्पादन भएपछि किसान हौसिएका छन् ।

तरबुजा खेतीको सफल परीक्षण

बगनासकाली १ बेलटारीकी रीता न्यौपानेले पहिलोपटक तरबुजा लगाएकी थिइन् । उनले पहिलो वर्षै व्यावसायिक उत्पादन गरेकी हुन् । उनीसहित अन्य ९ घरले केही बिरुवाबाट परीक्षण गरेका थिए । सबै सफल भए ।

व्यावसायिक उत्पादन थालेकी न्यौपाने पहिलो वर्षै ३ लाखभन्दा बढी आम्दानी लिने योजनामा छिन् । करिब ४ रोपनीमा ७ सय बिरुवा लगाएकी उनले ३ सय किलो बिक्री गरिसकेको बताइन् । ‘वरपर अरूको नभएर होला रातिमा चोरेर हैरानी पारेका छन्,’ उनले भनिन्, ‘उत्पादन भने निकै राम्रो छ ।’ उनका अनुसार अझै त्योभन्दा धेरै बिक्री गर्न सकिन्छ । न्यौपाने मात्र होइन, छिमेकीसमेत तरबुजा खेती गर्नुपर्छ भन्नेमा पुगेका छन् । उत्पादित तरबुजा दैनिक तानसेन, बर्तुङ बजारमा जाने गरेको छ ।

स्थानीय शंकर न्यौपानका अनुसार सीप र जाँगर भयो भने पहाडी भेगमा पनि तरबुजा फलाउन सकिने रहेछ । धान खेती स्याहारेपछि तरबुजा लगाउन सकिन्छ । उनका अनुसार खोलाको किनारको जग्गामा बढी फल्ने प्राविधिकले सल्लाह दिएका छन् । ‘भारतबाट सिकाउन आएका प्राविधिकले एउटा बोटबाट दुई मात्र फल लिन सकिने भनेका थिए,’ उनले भने, ‘तर यहाँ ५ भन्दा बढी फलेको छ ।

बगनासकाली गाउँपालिकाले बीउ र प्लाटिक मल्चिङका लागि सहयोग गरेको छ । अन्य काम आफैंले गरेर यसपटक परीक्षण उत्पादन गरिएको हो । स्थानीयका अनुसार वर्षांैदेखि प्रयोगविहीन तानसेनको खोला बगरमा तरबुजाखेती गरेर किसानले आºनो जाँगर देखाउन सक्ने देखिएको छ ।

‘पहिलो वर्षै राम्रो आम्दानी हात पार्ने देखिएको छ,’ बगनासकाली १ का वडाध्यक्ष सोमबहादुर झेडीले भने, ‘सोचेको भन्दा राम्रो र माडी क्षेत्रमा अझ बढी फल लागेको देखिएकाले पूर्ण सफल हुनेछ ।’ बगनासकाली गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय किसानले आफ्नै अग्रसरतामा खेत र खेर गएको बगरलाई उपयोग गरी तरबुजाखेती लगाउने योजना बनाएका छन् ।

उनका अनुसार बगर र बगर नजिकको बलौटे माटोमा खेती फस्टाउने देखिएको छ । पहिलोपटकमै तरबुजा खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । प्रतिरोपनीमा खेती गर्न १० हजार खर्च लाग्ने अनुमान गरेको बगनासकाली गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जीसीले बताए । उनका अनुसार असिनापानीले नबिगार्ने हो भने आम्दानी ३५ देखि ४५ हजार प्रतिरोपनी हुने पक्का छ । सुरुमा लगानी र मेहनत खेर जाने हो कि भन्ने चिन्तामा देखिएका किसान अहिले फलेको देख्दा र आम्दानी पनि राम्रो भएपछि हौसिएका छन् ।

‘उत्पादन भएको देख्दा अहिले हौसिएको पाइएको छ,’ प्रमुख जीसीले भने, ‘किसान खुसी भएकाले अर्को वर्ष पनि पक्कै यस खेती गर्छु भन्ने धेरै हुनेछन् ।’ एक रोपनीमा ३ हजार किलोसम्म फल्ने अनुमान गरिएको उनले बताए । तरबुजा अहिले किसानले आºनै बारीबाट प्रतिकिलो ३० देखि ४० रुपैयाँमा बिक्री गर्न थालेका छन् । पहाडी क्षेत्र भए पनि तातो हावापानी भएकाले उत्पादन राम्रो, गुणस्तरीय र तराईतिरको भन्दा स्वादिलो भएको बगनासकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले बताए ।

‘किसानले बगर मात्र होइन बगर छेउका बलौटे माटो भएका जग्गामा पनि खेती गरेका छन्,’ उनले भने, ‘यसले आगामी दिनमा कालीगण्डकी किनारका टारमा समेत खेर गएको जमिनलाई प्रयोगमा ल्याउन सकिने भएको छ ।’ धान र मकैखेती गर्दा चार हजार कमाउन मुस्किल पर्ने जग्गामा अहिले कम्तीमा ३० हजार आम्दानी गर्न किसान सफल भएका छन् । जिल्लामा उत्पादन भएको तरबुजाको प्रचारप्रसारका लागि किसानको उत्पादनलाई तानसेन, बर्तुङ, गाउँपालिका र विभिन्न सञ्चारमाध्यमबाट जानकारी दिइएको छ । उत्पादन गरेका किसानले बजारीकरणका लागि सहयोग गर्न आग्रह गरेको बगनासकालीका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । ‘सबैभन्दा ठूलो ५ केजीसम्म फलेको र अझ व्यवस्थापन गर्न सके ठूलो फल्ने देखिएको छ,’ उनले भने, ‘त्यसैले आम्दानी पनि राम्रो हुने भएपछि आगामी वर्ष किसानलाई सहयोग गरिनेछ ।’

उनले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन गाउँपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि नयाँ परीक्षणमा सहयोग गर्ने बताए । आम्दानी दिने बुझेपछि वैशाख, जेठको गर्मीमा पनि किसान खेतमा तरबुजा स्याहारमा लागेको उनले बताए ।

छोटो समयमै राम्रो आम्दानी दिने उत्पदान भएकाले व्यवसायलाई प्रवद्र्धन गर्न कार्यालयले कृषकलाई बीउ, औषधि र प्राविधिक सल्लाह दिने उनले बताए । खोला र नदीले काटेर बगर बनाएको ठाउँमा तरबुजा राम्रो फल्छ । कृषिका जानकारका अनुसार गर्मीमा स्वास्थ्यका दृष्टिले यो फाइदाजनक फल हो ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?