झिंमरुकमा रोपाइँ सुरु

धान जोन परियोजनामार्फत उत्पादन बढाउने तयारी

बिजुवार (प्यूठान) — जिल्लाकै अन्न भण्डारका रूपमा मानिएको झिंमरुक फाँटमा रोपाइँ सुरु भएको छ । जेठभरमा रोपाइँ सकिन्छ । किसानले आलोपालो गरेर खेत रोपेका छन् ।

झिंमरुकमा रोपाइँ सुरु

बाहै्र महिना झिंमरुक नदीले सिँचाइ हुने भएकाले हरेक वर्ष जेठ पहिलो सातैबाट रोपाइँ सुरु हुन्छ । ‘पहिले सबैले गोरु पाल्ने चलन थियो । एक महिनाअघिदेखि खेत जोतेर हिलो गथ्र्यौं,’ प्यूठान नगरपालिका ४ का केशव कार्कीले भने, ‘हिजोआज हिलो गर्ने चलन हरायो । सबैले ट्रयाक्टरले जोतेर रोपाइँ गर्छौं ।’ धान रोप्नु दुई/चार दिनअघि पानी राखेर आली लगाई रोपाइँका लागि तयार पार्ने कार्कीले बताए ।

उर्बर फाँटमा हिजोआज रोपाइँ सुरु भएकाले झिंमरुक उपत्यका क्षेत्र निकै रमाइलो भएको उनले बताए । ‘रोपाइँ गर्ने पानीको कुनै समस्या नहुने हुँदा जेठभरमै रोपाइँ गरिसक्छौं,’ उनले भने, ‘फाँटको क्षेत्रफल घट्दै गए पनि आधुनिक प्रविधि प्रयोग गरेकाले उत्पादन घटेको छैन ।’ उनले झिंमरुक फाँटमा उत्पादन भएको अन्नले नगरपालिकाभित्र बसोबास गर्ने जनतालाई पालेको बताए ।

जग्गाको मालिक एउटा, खेती गर्ने किसान अर्को हुँदा फाँटमा आधुनिक कृषि प्रविधि प्रयोग गर्न समस्या भइरहेको छ । उनले पछिल्लो समय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा पारेर कार्यक्रम बढाउँदै गएकाले किसानमा हौसला बढ्दो छ ।

फाँटमा उब्जाएको अन्नले जिल्लाको खाद्यान्न आपूर्ति धान्न सक्ने क्षमता रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका प्रमुख वरिष्ठ कृषि अधिकृत भास्कर पौडेलले बताए ।

झिंमरुक नदीमार्फत सिँचाइ हुने लगभग १ हजार ५ सय हेक्टरमा धान जोनमार्फत किसानलाई सहयोग गरेको उनले बताए । परियोजनाले यस वर्ष झिंमरुक फाँटमा ६ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान गरेको छ । बीउबिजन र प्रविधिमा परियोजनाले सहयोग गरेको पौडेलले बताए । परियोजना सञ्चालक समितिमार्फत कार्यक्रम चलिरहेको छ ।

पौडेलका अनुसार यसवर्ष ३० क्विन्टल धानको मूल बीउ, साना सिँचाइ कार्यक्रममार्फत नहर मर्मत, १० प्रतिशत उत्पादन वृद्धि गर्ने २३ समूह, सहकारीका ८ सय ११ किसानलाई प्रतिफलमा आधारित नगदलगायत सहयोग परियोजनामार्फत गरिएको छ । सावित्री, रामधान, राधा १४, राधा १३ र मकनबानपुर १ जातको बीउ वितरण गरेकाले अर्को वर्ष उत्पादन बढ्ने परियोजनाको दाबी छ ।

जिल्लाकै अन्न भण्डार दम्तीदेखि दाखाक्वाडीसम्मको फाँटलाई जोगाउन र व्यावसायिक आधुनिक खेती गर्न किसानलाई प्रोत्साहन हुने खालका कार्यक्रम प्यूठान नगरपालिकामार्फत थालिएको नगर प्रमुख अर्जुनकुमार कक्षपतीले बताए । खाद्यान्नमा जिल्लालाई नै योगदान पुर्‍याउने फाँट जोगाउने योजना अगाडि सारेको उनले जनाए । रोपाइँ हुनुभन्दाअघि झिंमरुक फाँट क्षेत्रका सबै नहर नगरपालिकामार्फत मर्मत गरी पानी चलाउन सहयोग गरेको उनले बताए । कृषिमा लगानी बढाउँदै सिंचाइ, रासायनिक मल, कीटनाशक औषधि, बीउ बिजन र प्रविधिमा सहयोग गरी युवापुस्तालाई कृषिमा आकर्षित गर्ने योजना रहे पनि युवा पुस्ता विदेशिन छाडेका छैनन् । कृषिजन्य उत्पादनको हिसाबले अत्यन्तै महत्त्वपूर्ण झिंमरुक फाँटलाई मानिन्छ ।

दाङको भालुबाङबाट पहाडैपहाड भएर प्यूठान आउने जो कोहीको पहिलो नजर भिंmमरुक फाँटमा पर्छ । चेरनेटाबाट खैरा र बिजुवारतर्फको फाँट हेर्दा, कलकलाउँदै बग्ने झिंमरुक नदी र यसको दायाँ–बायाँ बनेका फाँटको हरियाली देख्दा आगन्तु सबै लोभिन्छन् । हिजोआज रोपाइँ गर्ने किसानको चहलपहलले फाँटमा मेला लागेजस्तै रमाइलो छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?