१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पार्क बनाउने जग्गा खोज्दै उपमहानगर

जैविक विविधता, वैज्ञानिक महत्त्वको जिवांश सुरक्षामा महत्त्वपूर्ण हुने
घनश्याम गौतम

रूपन्देही — प्रदेश स्तरको भूगर्भीय पार्क बुटवलमा बन्ने भएको छ । बुटवल उपमहानरपालिकाले नेपालकै जैविक विविधता झल्काउने तथा भूगर्भबारे अध्ययन गर्न मिल्ने जियोलोजिकल पार्कका लागि जग्गा खोजी गरिरहेको हो । जग्गा छनोटपछि डीपीआर तयार गरी यसै वर्ष निर्माण थालिनेछ ।

पार्क बनाउने जग्गा खोज्दै उपमहानगर

भूगर्भीय पार्क निर्माणमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समेत चासो देखाएका छन् । मुख्यमन्त्रीले तत्काल जग्गा व्यवस्थापन गर्न निर्देशन दिएपछि उपमहानर जग्गा खोजीमा लागेको हो । उपमहानगर प्रमुख शिवराज सुवेदीसहित टोलीले बुटवल आसपासका शिवनगर सामुदायिक वन क्षेत्र, हिलपार्क, मणिमुकुन्द सेन उद्यानसहित जंगल क्षेत्रको अध्ययन भएको छ ।


‘वन विज्ञान र वातावरणका विद्यार्थीका लागि अध्ययन र प्रयोगात्मक अभ्यास गर्न मिल्ने पार्क निर्माणको तयारी थालिएको हो,’ उनले भने, ‘प्रदेश मुख्यमन्त्रीको कार्यालय र उपमहानरपालिकाले जियोलोजिकल पार्क निर्माण गर्नेछ ।’ त्यसका लागि मुख्यमन्त्रीले जग्गा व्यवस्थापन र डीपीआरसहितको लिखित प्रस्ताव माग गरिसकेको उनले बताए । सम्भावित र प्रस्तावित क्षेत्रका प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनाल र योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठसहितको टोलीले सोमबार अवलोकन र अध्ययन गरेको छ ।


भूगर्भीय महत्त्वका स्थलको अध्ययन, संरक्षण र पर्यटन प्रवद्र्धनका लागि बुटवलमा जियोलोजिकल पार्क निर्माण गर्न थालिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । ‘भूगर्भीय पार्क निर्माणले यस क्षेत्रको जैविक विविधता, वैज्ञानिक महत्त्वको जीवांशको सुरक्षा र प्रवद्र्धन गर्नेछ,’ उनले भनिन्, ‘त्यस्तो पार्क वातावरणीय स्रोत र साधनको संरक्षणमा समेत महत्त्वपूर्ण हुन्छ ।’


बुटवल क्षेत्रमा झन्डै ५४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको र त्यसले पार्क निर्माणमा पनि ठूलो सहयोग पुग्ने उनले बताइन् । वातावरण सन्तुलित राख्न करिब ४३ प्रतिशत भूमि वनक्षेत्र हुनुपर्छ । बुटवलनजिक पर्याप्त वन छ ।


त्यसले पार्क निर्माण पनि नमुना बन्ने भएकाले उपयुक्त जग्गा छनोट गरी डीपीआरको काम सुरु गर्ने निमित्त प्रशासकीय अधिकृत विष्णु खनालले बताए ।


‘अहिले जग्गाको खोजी र प्रस्तावित क्षेत्रको अवलोकन भइरहेको छ,’ उनले भने, ‘उपयुक्त जग्गा छिट्टै छनोट हुन्छ ।’ उपमहानगरले बुटवल १२ को जवईमा वाटर पार्क बनाउन प्रस्तावित क्षेत्रको समेत अवलोकन गरेको छ । भूगर्भीय पार्कबारे अध्ययन गर्न डा. सागर न्यौपानेसहित चिनियाँ विशेषज्ञ टोलीले विभिन्न क्षेत्रको अध्ययन गरेको अभियन्ता बलबहादुर आचार्यले बताए । डा. न्यौपानेले चीनमा भूगर्भीय विषयको अध्ययन सकेर नेपाल फर्किएको र बुटवलमै जियोलोजिकल पार्क निर्माणमा चासो दिएको उनले बताए ।


मुख्यमन्त्री पोखरेलले भूगर्भीय पार्क निर्माणमा बढी चासो देखाएपछि नगरपालिकाले काम तीव्र पारेको योजना शाखाका इन्जिनियर सुमन श्रेष्ठले बताए । ‘तत्काल डीपीआर तयार गर्न निर्देशन छ,’ उनले भने, ‘मुख्यमन्त्री र मेयर दुवैको चासो रहेकाले काम तीव्र भइरहेको छ ।’ मुख्यमन्त्री पोखरेलले यसै वर्ष निर्माण थाल्न निर्देशन दिएको स्रोतले बतायो । प्रदेश सरकारले चालु वर्षको बजेटमै सम्भाव्यता अध्ययन र डीपीआर निर्माण योजनालाई प्राथमिकता दिएको थियो । तर सरकारबाट अहिलेसम्म कुनै योजनाको डीपीआर तयार हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?