२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

‘रानीमहल’ स्थानीय तहलाई हस्तान्तरण हुने

माधव अर्याल

पाल्पा — संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको ‘रानीमहल’ लाई स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी गरेको छ । यहाँ के गर्ने, के नगर्ने, कसरी संरक्षण गर्ने भन्ने सम्झौतापत्र बनाउने कामसमेत अन्तिम चरणमा पुगेको छ ।

‘रानीमहल’ स्थानीय तहलाई हस्तान्तरण हुने

स्थानीय तहलाई हस्तान्तरणपछि अपनत्व र स्वामित्व पनि लिएर यसको विकास गर्दै पर्यटक भित्र्याउने योजना मन्त्रालय र पुरातत्त्व विभागले बनाएको हो । पाल्पाली संगम काठमाडौं, नेपाल पर्यटन बोर्डको आयोजनामा रानीमहलमै मंगलबार भएको बृहत् अन्तरक्रियामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले यस्तो जानकारी दिएका हुन् । उनले स्थानीय तहमा हस्तान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । ‘यहाँ के गर्ने वा नगर्ने भन्ने पुरातत्त्व विभागसँग बृहत् छलफल भइसकेको छ,’ उनले भने, ‘काठमाडौंमा बस्ने पुरातत्त्व विभागले यहाँको रानीमहललाई केही गर्न सकेन ।’

मुलुक संघीयतामा गएकाले अब स्थानीय तहलाई हस्तान्तरण गरेर सोहीअनुसारको विकास गर्ने योजना बनेको मन्त्री अधिकारीले बताए । उनले तानसेन नगरपालिकाले मुलुकमा भएको परिवर्तनअनुसार नै अघि बढाउने विश्वास लिएको बताए । ‘मुलुकमा संघीयता आयो तर स्थानीय तहले यस्ता पुरातात्त्विक क्षेत्रलाई सम्झौतापत्र तयार गरेर लिई पर्यटकीय क्षेत्र बनाउनुपर्छ,’ उनले भने, ‘मेरो लक्ष्य र उद्देश्य पनि यही भएकाले सफल हुनेछु भन्ने लाग्छ ।’

यहाँसम्म आउने सडकको विस्तार र स्तरोन्नतिको काममा समेत पहल गर्ने मन्त्री अधिकारीको भनाइ थियो । उनले मुलुककै पर्यटनसँग जोडेर यसको प्रवद्र्धन गर्ने खालका कार्यक्रम अघि बढाइने जनाए । ‘पाल्पा दरबार, रूरूक्षेत्र, रानीमहललगायतलाई जोडेर यस क्षेत्रको पर्यटन विकास गर्ने योजना अघि बढेको छ,’ उनले भने, ‘यसमा स्थानीय तहको पनि सक्रियता आवश्यक हुन्छ ।’ उनले ऐतिहासिक र पुरातात्त्विक महत्त्वको भएकाले अध्ययन, अनुसन्धान र अन्य हिसाबले पनि महत्त्वपूर्ण पर्यटकीय थलो बन्न सक्ने बताए । अन्तरक्रियामा प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेय, प्रदेशसभा सदस्य नारायण आचार्य, डा. पुरनमान वज्राचार्य, वीरबहादुर राना, रमा घर्ती, जिसस प्रमुख दयाराज बस्यालले यसको संरक्षण स्थानीय तहमा हस्तान्तरण भएपछि विकास र विस्तारमा सहज हुने बताए । तानसेन नगरपालिका प्रमुख अशोकुमार शाही पर्यटनसँग जोडेर रानीमहललाई आगामी दिनमा प्रमुख गन्तव्यका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको जनाए । ‘तानसेन आउने पर्यटकलाई एकपटक रानीमहल जाऊँजाऊँ लाग्ने बनाउन प्रतिबद्ध छौं,’ उनले भने, ‘त्यसका लागि पुरातत्त्व विभागसँग छलफल गरेर अघि बढेको र छिट्टै स्थानीय तहमा हस्तातरण हुनेछ ।’

१ सय २५ वर्षअघि तत्कालीन राणाकालीन जनरल खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा महल बनाएका हुन् । कालीगण्डकी नदी किनारमा भव्य महल बनेको र त्यसैलाई अहिले प्रेमको प्रतीकका रूपमा रानीमहल भनेर चिनिन्छ । पुरातत्त्व विभाग, स्थानीय तह र सम्बन्धित वडाले समेत प्रयोगमा ल्याउन नसक्दा अहिले अलपत्रजस्तै छ । विसं १९४९ मा सुरु गरेर ५४ मा निर्माण कार्य सकिएको हो । १ सय १९ वर्षअघि रानीको सम्झनामा बनाएका हुन् ।

भनिन्छ, खड्गशमशेरले आफ्नी रानीको मृत्युअघि काखमा राखेर तिमीले जे भने पनि मान्छु भन्दा, ‘मेरो नाममा नदीको किनार र एकान्त ठाउँमा भव्य महल बनाउनु भनिन् ।’ त्यहीअनुसार यो भवन बनाएका हुन् । दरबार बनाउन कालीगण्डकी नदीमा जग हालिएको छ । यसलाई भारतको आग्रास्थित ताजमहलसँग पनि तुलना गर्ने गर्छन् । रानीमहलभित्र ठूल्ठूला कोठा छन् । काठैकाठ छन् । बाहिरबाट हेर्दा निकै सुन्दर देखिन्छ ।

तत्कालीन बेलायती इन्जिनियरहरू भारतबाट झिकाएर यसको डिजनाइन बनाइएको थियो । २०४२ सालको हावा हुरीले महललाई कुरूप बनाएको थियो । २०५४ मा लाखौं खर्चेर पुनर्निर्माण गरिए पनि संरक्षण गर्ने कोही नहँुदा जीर्ण बन्दै गयो । अहिले त्यसको पुन: मर्मत गरिएको हो ।

प्रकाशित : जेष्ठ १०, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?