कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

गौरवशाली गौरव आयोजना

काठमाडौँ — नेपालमा राष्ट्रिय गौरवका २१ आयोजना छन् । २०६८/६९ देखि १७ र २०७०/७१ मा चारवटालाई यस वर्गमा पारिएको हो । विशेष महत्त्व दिई ती आयोजनाका लागि बजेट विनियोजन गरेर कार्यान्वयनका क्रममा छन् । अधिकांशको प्रगति भने सन्तोषजनक छैन ।

गौरवशाली गौरव आयोजना

तीमध्ये प्रदेश ५ मा मात्र पाँच आयोजना निर्माणाधीन छन् । ती आयोजनामा सिक्टा सिँचाइ, बबई सिँचाइ, भेरी बबई ड्राइभर्सन, गौतमबुद्ध विमानस्थल र लुम्बिनी क्षेत्र विकास कोष पर्छन् । यसबाहेक मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, पूर्व पश्चिम रेलमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र कालिगण्डकी कोरिडर यस प्रदेशसँग पनि सम्बन्धित छन् ।

यस प्रदेशमा मात्र कार्यान्वयनमा रहेका राष्ट्रिय गौरवका आयोजनामध्ये सिक्टा आयोजना बाँके जिल्लामा छ । यसले राप्ती नदीमा ३१७ मिटर बाँध निर्माण गरी ४२७६६ हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्य लिएको छ । यो आयोजना २०६२।६३ मा सुरु भएको हो । २०७१/७२ मा नै सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काम पूरा नभएका कारण समयावधि २०७६/७७ सम्म बढाइएको छ । सुरुमा १२ अर्ब ८० करोडको लागतमा सम्पन्न हुने अनुमान गरिएको भए पनि समयमा नसकिँदा लागत बढेर २५ अर्ब २ करोड पुग्ने संशोधित अनुमान छ । चालु आर्थिक वर्ष २०७४/७५ मा यस आयोजनाका लागि १ अर्ब ५८ करोड बजेट विनियोजित भएको छ । तर, ६ महिनासम्म जम्मा २८ प्रतिशत मात्र खर्च भएको छ । यस वर्षसम्म यस आयोजनाको भौतिक प्रगति जम्मा ५५.८ प्रतिशत भएको छ ।

बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले बबई सिँचाइ २०४४।४५ मा सुरु भएको हो । आर्थिक वर्ष २०६९।७० मा सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि पूरा नभएपछि आर्थिक वर्ष २०७८।७९ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो आयोजनाको अनुमानित लागत १२ अर्ब ६९ करोड छ । चालु आर्थिक वर्षसम्म ७१ प्रतिशतसम्म भौतिक प्रगति भएको छ ।

भेरी बबई ड्राइभर्सन यस प्रदेशमा निर्माणाधीन तेस्रो राष्ट्रिय गौरवको आयोजना हो । अन्न भण्डारका रूपमा रहेको बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ उपलब्ध गराउने उद्देश्यले २०६८।६९ बाट यो आयोजना सुरु भएको हो । आर्थिक वर्ष २०७७।७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । करिब १६ अर्ब ४३ करोड अनुमानित लागत भएको यस आयोजनामा सुरुङ निर्माणका लागि अत्याधुनिक टनेल बोरिङ मेसिनको प्रयोग भएको छ । चालु आर्थिक वर्ष ६ महिनामा विनियोजित बजेटको ६२.६ प्रतिशत खर्च भएको छ ।

सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएको गौतमबुद्ध विमानस्थल दुई वर्ष अवधि थप भएको स्थिति छ । यस आयोजनाको अनुमानित लागत ६ अर्ब ६७ करोड जति छ । जग्गा अधिग्रहणका लागि ७ अर्ब २२ करोड बजेट विनियोजन भएको छ । अहिलेसम्म करिब ३६ प्रतिशत कार्यसम्पन्न भएको छ । त्यस्तै लुम्बिनी क्षेत्र विकास कोष सबभन्दा लामो समयसम्म कार्यान्वयनमा रहेको आयोजना हो । गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्तिकेन्द्रका रूपमा विकास गर्ने उद्देश्यले २०४२ देखि नै गुरुयोजना तयार गरी यो आयोजना कार्यान्वयनमा आएको भए पनि कहिले सकिने भन्ने निश्चित छैन । यस आयोजनाको अनुमानित लागत ६ अर्ब १० करोड छ ।

अहिलेसम्म जग्गा अधिग्रहण, गुरुयोजना तयारी, आयोजनाको प्रारूप तयार, अन्तर्राष्ट्रिय विहार क्षेत्रहरूको निर्माण, पवित्र उद्यान निर्माण र अन्तर्राष्ट्रिय विहार क्षेत्रमा नहर निर्माण गरिएको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म विनियोजित बजेटको २०.६९ प्रतिशत मात्र खर्च भएको देखिन्छ । यस प्रदेशमा सञ्चालित पाँचवटा राष्ट्रिय गौरवका आयोजनामध्ये तीनवटा सिँचाइसँग सम्बन्धित छन् । यस प्रदेशका ५ तराई र एउटा भित्री मधेसका जिल्ला खेतीयोग्य भूमि हुन् । ती भूमिमा सिँचाइ सुविधा उपलब्ध हुन जाँदा बाह्रैमासे खेती गर्न सकिने हुन्छ । यी आयोजना सम्पन्न भएपछि यो प्रदेशको कृषि उत्पादन वृद्धि हुने अपेक्षा गर्न सकिन्छ । अहिले नै खाद्यान्न बचत रहने प्रदेश यी आयोजना सम्पन्न भएपछि थप खाद्यान्न उत्पादन भई कृषिउपज निर्यात गर्ने प्रदेशको रूपमा विकास हुने देखिन्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले यो प्रदेश अन्तर्राष्ट्रिय जगत्सँग सीधा जोडिनेछ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी विमानस्थलदेखि नजिकै रहेकाले यो विमानस्थल सम्पन्न भएपछि लुम्बिनी क्षेत्रमा आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ । बढ्दो पर्यटक आगमनसँगै यो प्रदेश पर्यटनको हबको रूपमा विकास हुने निश्चित छ । साथै, विमानस्थलको सञ्चालन र पर्यटकको संख्यात्मक वृद्धिसँगै यो प्रदेशमा होटल तथा रेस्टुराँ क्षेत्रको पनि विस्तार हुनेछ । लुम्बिनी आएका पर्यटकहरूलाई यस प्रदेशका अन्य पर्यटकीय स्थलहरूमा आकर्षण गर्न सक्ने हो भने यस प्रदेशका अन्य स्थानहरूले पनि फाइदा लिन सक्नेछन् । लुम्बिनी क्षेत्र विकास कोषको गतिविधिले पनि लुम्बिनी क्षेत्रमा आउने पर्यटकलाई थप आकर्षण गर्नेछ । तर, लुम्बिनी क्षेत्र विकास गुरुयोजना कार्यान्वयन तीन दशकभन्दा बढी समय भैसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

यस प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवको आयोजनाहरूमध्ये भेरी बबई ड्राइभर्सनको काम लक्ष्यअनुरूप भएको छ भने अन्य आयोजनाहरूको कार्यान्वयन सन्तोषजनक छैन ।

यस प्रदेशमा हाल कार्यान्वयनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू कृषि र पर्यटन क्षेत्रसँग सम्बन्धित छन् । यी आयोजनाहरूबाहेक यस प्रदेशसँग सम्बन्धित मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, पूर्व पश्चिम रेलमार्ग र कालिगण्डकी कोरिडर यातायात पूर्वाधारसँग सम्बन्धित छन् । यी आयोजनाहरूले यस प्रदेशको कनेक्टिभिटी बढाउने देखिन्छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम वन तथा वातावरण संरक्षणसँग सम्बन्धित रहेको छ । तर, यी आयोजनाहरूको कार्यान्वयन पनि अपेक्षित गतिमा बढ्न सकेको छैन । कार्यान्वयनको गति बढाउन प्रदेश सरकारको भूमिका बढाउनुपर्ने हुन्छ ।

-डा. प्रकाशकुमार श्रेष्ठ
प्रदेश योजना आयोगका उपाध्यक्ष

प्रकाशित : जेष्ठ ११, २०७५ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?