कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

खानीले आम्दानी

काठमाडौँ — प्रदेश ५ का महाभारत शृंखलामा प्रशस्त खानी पाइन्छन् । के के धातुका खानी छन्, अध्ययन बाँकी छ । अध्यननपछि खानी निकाल्न सकिन्छ । अहिले अत्यधिक उत्खनन भइरहेको ढुंगा खानी हुन् । यहाँका पर्वतमा प्रशस्त चुनढुंगा रहेकाले धेरैको ध्यान खिचिएको छ ।

खानीले आम्दानी

सबैतिर व्यवस्थित उत्खननभन्दा दोहन बढेको छ । बिनायोजना निकाल्दै जाने हो भने आउने पुस्ताले धिक्कार्नेछ । खानी क्षेत्र बन्न लाखौं वर्ष लाग्छ । अहिले हामीलाई कति चाहिन्छ, त्यसको अल्पकालीन र दीर्घकालीन गुरुयोजना बनाउनुपर्छ । अरू प्रदेशको दाँजोमा यहाँको सामथ्र्य राम्रो छ । यसले एउटा समृद्धिको बाटोमा अगाडि बढाउन सजिलो हुन्छ ।

नेपालको इतिहास लेख्ने विदेशी नागरिक ‘कक प्रेटिक’ ले सामरिक हिसाबसँगै खानी कहाँकहाँ छन् भन्ने अध्ययन गरेका थिए । यहाँ भएका फलाम, सिसा, तामाको भाँडा बनाउनेजस्ता परम्परागत सीपलाई आधार मानेर अध्ययन गरेका थिए । पहाडी भेगमा स्लेट ढुंगाको खानी पनि छन् । बुकी सुन (धूलो) कालीगण्डकीमा भेटिन्छ । कुटो–कोदालो बनाउने, घरको छाना बनाउने, धूलो सुन भारत बिक्री गर्नेजस्ता परम्परागत व्यापारलाई आधार मानिएको छ । उदाहरणका रूपमा अर्घाखाँचीमा जिंक, पाल्पाको मदनपोखरा छापमा फलाम खानी छ । यहाँ पुगियो भने ओडार अहिले पनि देख्न सकिन्छ । सात घर ठकुरी गोलनदार छन् । फलामको गोला बनाउने गर्थे । २९ घर विश्वकर्मा छन् । जहाँजहाँ खानी छ त्यहाँ टक्सार खुल्यो । चाँँदीको पैसा निकाल्न पाइन्नथ्यो । तामाको पैसा निकाल्थे । सेनकालीन अवस्थामै टक्सार चलाउन ठेक्कामा दिएको पाइन्छ ।

पाल्पा, प्यूठान, रुकुममा टक्सार चलेको थियो । टक्सार चल्नु भनेको खानीकै कुरा हुन्छ । यसमा लाभ र लागतको कुरा हुनुपर्छ । विगतमा इस्ट इन्डियाले पनि हाम्रो भेगमै अध्ययन गरेको थियो । खानी निकाल्नलाई बाटो बनाउनुपर्छ । गत वर्ष पाल्पा भैरवस्थानमा कपर ब्रुम निस्कियो । गोलीगठ्ठा बनाउने गर्थे भन्ने प्रमाण हो यो । गाउँमा स्थानीय खानीबाटै कच्चा पदार्थ निकालेर घरायसी सामग्री बनाउने गर्थे भन्ने पढिएकै हो । अग्लो डाँडामा पुराना दरबार थिए, त्यहाँ स्थानीय रूपमै निकालेर फलाम प्रयोग भएको पाइन्छ । दाङ, पाल्पाको कोइलाखानीसँग सम्बन्धित हीरा खानी हुन सक्छ । रोल्पामा दर्सनढुंगा पाइन्छ, जसलाई पत्थरका रूपमा प्रयोग गर्न सकिन्छ । हामीले अध्ययन गरेर योजना बनाउनुपर्छ । चुनढुंगा, कोइलाखानी अहिले निकासी भइरहेको छ । प्रदेश र स्थानीय सरकारले व्यवस्थित योजना बनाउनुपर्छ ।

अहिले सिन्कीको भाउमा निकासी भइरहेको छ । चुनढुंगा नभए सिमेन्ट उद्योग अन्यत्र जान्छन् । दाङमा कोइलाखानी अध्ययन भएको छ । १ करोड मेट्रिक टन रहेको अनुमान छ । सिसा, स्लेट र तामाको पनि खानी दाङमै भएको अध्ययनमा देखिएको छ । प्राकृतिक स्रोत र साधनका विषयमा स्थानीय तहबाटै सोच्नुपर्छ । केन्द्र, प्रदेश र स्थानीय तहले के कति अधिकार पाउने भन्ने कुराको अझै पनि प्रस्ट छैन । खानीकै कारण धेरै विवाद आउन पनि सक्छ । यहाँको खानीलाई कति दोहन गर्ने भन्ने हो ।

महाभारत क्षेत्र प्रशस्त भएकाले अध्ययन गर्नुपर्छ । यसलाई अध्ययन गरेर योजना निर्माण गर्ने हो भने जनतालाई समृद्ध बनाउन पनि खानी उद्योग सही बाटो हुन सक्छ । यसमा विदेशीको पनि सहयोग लिनुपर्छ । यस्ता खानीको अब खोजी गरिएन भने प्रदेशको सामथ्र्य पनि गुम्न सक्छ । हामी कस्तूरीजस्तो भएका छौं । आफैंसँग भएको कुरा अन्त खोजिरहेका छौं । नीति निर्माण गर्दा वस्तुगत कुरा आउनुपर्छ । संघ, प्रदेश र स्थानीय सरकारले जिम्मेवारी पूरा गर्नुपर्छ । प्रादेशिक सरकारलाई सक्षम बनाउन त्यहाँको खानीलगायत प्राकृतिक सम्पदालाई भरपूर प्रयोगमा ल्याउनुपर्छ । जे–जस्ता सम्पदा जुन–जुन प्रदेशमा छन्, त्यसको प्रयोग गर्नुपर्छ । स्थानीय तह र क्षेत्रकै स्रोत परिचालन बनाउनुपर्छ । सामान्यतया आर्थिक विकासचाहिं एक्कासि बढ्ने त्यस्तो जादुको छडी होइन । विकासका लागि पूर्वाधार विकास नै गर्नुपर्छ ।

-निर्मल श्रेष्ठ
भूगर्भ विज्ञ, अध्येता
(माधव अर्यालसँग कुराकानीमा आधारित)

प्रकाशित : जेष्ठ ११, २०७५ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?