नाकाबाट लाभ

काठमाडौँ — उद्योग–व्यापार ५ नम्बर प्रदेशको समृद्धिको मुख्य आधार हो । ती उद्योग, कारखानाको विकास र विस्तारका लागि सीमा नाकाको महत्त्वपूर्ण भूमिका हुन्छ । भारतसित जोडिएका धेरै नाका भएको यही प्रदेशमा छन् । यो प्रदेश उन्नतिको आधार बन्न सक्छ ।

नाकाबाट लाभ

हामीले यी नाकाबाट भरपूर फाइदा उठाउन जरुरी छ । अहिलेसम्म अपेक्षाअनुसार भारतसित जोडिएका नाकाबाट लाभ हासिल गर्न सकेका छैनौं । प्रदेशका ६ जिल्लामा नाका छन् । कुनै ठूला छन् । केही साना छन । रूपन्देहीको सुनौली, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगन्ज भन्सार मुलुककै १० ठूला भन्सार नाकामा पर्छन् । ठूला भन्सारबाट ठूलो मात्रामा राजस्व संकलन भइरहेको छ । तीनबाट आयात/निर्यात बढाएर आर्थिक लाभ लिनुपर्छ । यहाँ १० भन्दा बढी छोटी भन्सार नाका छन् । प्रदेश आफंैले कानुन बनाउन सक्ने भएकाले विज्ञका सुझाव संकलन गरेर कसरी फाइदा लिने सकिन्छ योजना बनाउनुपर्छ ।

तर, नाकाका भौतिक पूर्वाधार कमजोर छन् । सुधार योजना जरुरी छ । छोटी भन्सारका भवन जीर्ण छन् । मर्मत नभएकाले कर्मचारी बस्दैनन् । भारतीय भन्सार कार्यालयजस्तै यहाँ पनि पूर्वाधार विकासमा जोड दिनुपर्छ । ठूला तीन भन्सारमा एकीकृत सुरक्षा जाँच प्रणाली (आईसीपी) लागू हुन सकेको छैन । भैरहवा र नेपालगन्ज नाकामा उक्त कार्यक्रम कार्यक्रम परेको छ । त्यसलाई छिटोभन्दा छिटो पूरा गर्नुपर्छ । यस्तो प्रणाली लागू भएपछि सानो अंकमा कर उठाउँदा पनि प्रशस्त हुन्छ । यहीं आम्दानी बढेमा केन्द्रको मुख ताक्नु पर्दैन ।

पश्चिम नवलपरासीको महेशपुर, कपिलवस्तुको चाकरचौडा र मर्यादपुर, दाङको कोइलाबास र बर्दियाको राजापुर छोटी भन्सारलाई स्तरोन्नति गर्नु जरुरी छ । यिनलाई मूल भन्सार कायम गर्न सके त्यहाँबाट आयात निर्यात हुन्छ । नाका विस्तारपछि स्थानीय लाभान्वित हुन्छन् । उद्योग फस्टाउँछन् ।

आवश्यकताअनुसार स्तरोन्नति गर्नुपर्छ । यसका लागि भारतीय अधिकारीसित प्रक्रिया बढाउन संघीय सरकारले ध्यान दिन जरुरी छ । प्रदेश सरकार अग्रसर हुनुपर्छ । नाकालाई जति व्यवस्थित र सुविधा दिन सकियो उति व्यापार व्यवसाय उकासिन्छन् । प्रदेश सरकार नयाँ भएकाले संघले सहयोगी भूमिका खेल्नुपर्छ । आर्थिक उन्नति पर्यटनसित जोडिएको छ । त्यसैले कृष्णनगर नाकामा अध्यागमन कार्यालय राख्न ढिला गुर्न हुँदैन । सीमा क्षेत्रमा लिंक रोड निर्माणमा नेपाल अघि छ । दुवै मुलुकबीच राष्ट्रिय राजमार्गदेखि सीमा नाकासम्म ६ लेनको सडक बनाउने सहमति छ । नेपालले ६ लेन बनाउन थालिसक्यो । तर, भारतले दुई लेनको पनि बनाउन सकेको छैन ।

यहाँका नाकालाई नजिक बनाउन ४ ठाउँमा भारतीय रेल जोड्नुपर्छ । भारतीय रेलको समुद्रसित सम्पर्क छ । यसले तेस्रो मुलुकसित प्रदेश जोडिन्छ । व्यापारले अन्तर्राष्ट्रिय बजार पाउँछ । कच्चा पदार्थदेखि तयारी मालवस्तुको आयात निर्यात सहज हुन्छ । कम लागतमा ल्याउने लैजाने गर्न सकिन्छ । यसले मालवस्तुको मूल्य कम भएर बजार प्रवद्र्धनमा राम्रो सहयोग पुग्छ । अहिले भारतीय रेलले कृष्णनगरलाई छोएको छ । कृष्णनगर हुँदै रेल नेपाल प्रवेश गर्ने कार्यक्रम छ । सर्भेको काम भइरहेको छ । यो रेल लुम्बिनी हुँदै काठमाडौं पुग्नेछ । रेलको प्रवेशविन्दु ५ नम्बर प्रदेश हँुदा त्यसले छुट्टै महत्त्व र अर्थ राख्छ ।

सुक्खा बन्दरगाह बनाउनुपर्छ । अन्य प्रदेशले पनि यहाँका नाका प्रयोग गरून् । बुटवल–गोरखपुर अन्तरदेशीय विद्युत् प्रसारण लाइन पनि यहाँको समृद्धिको जग बन्न सक्छ । यो दुई मुलुकको कार्यक्रममा परिसकेको छ । तर, ढिलो भइरहेको छ । त्यसलाई छिटो कार्यान्वयन गरिनुपर्छ । यही प्रसारण लाइन मार्फत भारतलाई बिजुली बेच्न सकिन्छ । अभाव भए ल्याउन सकिन्छ । यसअघि पूर्व मुजफरपुर र पश्चिम टनकपुर हुँदै भारतबाट बिजुली आयात हुन्थ्यो । रेलले प्रदेशका उद्योगधन्दाका मालसामान ओसारप्रसार सजिलो हुन्छ । आयात/निर्यातलाई सहज र व्यापार बढ्छन् । अर्को महत्त्वपूर्ण पक्ष के भने छिमेकी भारतकै ठूला प्रदेश उत्तरप्रदेश र विहार नेपालसँग जोडिएका छन् । दुवै प्रदेश भारतका लागि जति महत्त्वपूर्ण छन् । अझ नेपालको ५ नम्बर प्रदेशका लागि उत्तिकै महत्त्वपूर्ण छन् । यो प्रदेशसँगको सीमा नाकाबाट उत्तिकै बुद्धमत्तापूर्ण तरिकाले फाइदा लिन सक्नुपर्छ ।

सीमा नाकाको सहज पहुँचले यहाँ औद्योगिक कोरिडोर बनाउन पनि उत्तिकै सहयोग पुग्छ । उद्योगधन्दा स्थापना गर्न आवश्यक पर्ने उपकरण र कच्चा पदार्थ पनि सजिलै कम लागतमा आपूर्ति गर्न सकिन्छ । यसका लागि कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर, भुमही–परासी, दाङ र बाँकेमा एउटा/एउटा औद्योगिक कोरिडोरको स्थापना गर्न लाग्नुपर्छ । नेपालगन्ज नाकालाई जडीबुटीको ‘हब’ बनाउनुपर्छ । जडीबुटी निर्यातको नाकाका रूपमा विकसित गर्नुपर्छ । नेपालगन्जमा जडीबुटी संकलन गोदाम बनाएरै काम गर्नुपर्छ । ५ नम्बर प्रदेशको मात्र नभएर सबै ठाउँको जडीबुटी निर्यातको गन्तव्य बनाउन सकियो भने प्रदेशले आर्थिक फड्को मार्न बेर लाग्दैन । जडीबुटी निकासी नाका यस प्रदेशमा मात्र हुन्छ ।

भारतमा ‘हवाई चप्पलवाले, हवाइजहाज चढेङ्गे’ कार्यक्रम सञ्चालन हुन लागेको छ । न्यून आय भएकालाई हवाइजहाजबाट तीर्थाटन गराउने कार्यक्रम छ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाली सीमावर्ती पर्यटकीयस्थलको खोजीमा छन् । गोरखपुर र लखनउबाट पाहुना ल्याएर फाइदा लिनुपर्छ । छिमेकीलाई गाली गरेर मात्र हुँदैन । छिमेकीका राम्रा कुरा सिक्ने र नराम्रा त्याग्ने गर्नुपर्छ । सीमितता र समस्यामा पनि काम गर्न सक्नुपर्छ ।

-दीपकुमार उपाध्याय
पूर्वमन्त्री तथा भारतका लागि पूर्वराजदूत
(मनोज पौडेलसँग कुराकानीमा आधारित)

प्रकाशित : जेष्ठ ११, २०७५ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?