३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘सम्भावनाका क्षेत्र समेटेर विकास’

अमृता अनमोल

बुटवल — प्रदेशको आर्थिक उन्नतिका लागि यहाँ रहेका सम्भावनाका क्षेत्र समेटेर विकास गर्नुपर्ने सरोकारवालाले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शुक्रबार रूपन्देहीको मणिग्राममा गरेको ‘कान्तिपुरसँग कुराकानी’ कार्यक्रममा उनीहरूले बढ्दो आर्थिक गतिविधि र सञ्चालनमा रहेका गौरवका योजना पूरा भएपछि प्रदेश उन्नत बन्ने बताए ।

‘सम्भावनाका क्षेत्र समेटेर विकास’

‘उद्योग, पर्यटन, वाणिज्य र कृषि गरी ४ वटै क्षेत्रमा प्रदेशले विकास गर्न सक्ने प्रशस्त सम्भावना छन्,’ प्रदेश आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले भने, ‘यसलाई शक्तिका रूपमा लिएर अघि बढ्न आवश्यक छ ।’ लुम्बिनीका कारण यो प्रदेशले देशकै मुहार फेर्न सक्ने सामथ्र्य राखेको भिक्षु सागर धम्मले बताए । ‘लुम्बिनी र आसपासको आध्यात्मिकता विश्वमै बिक्ने खालको छ,’ उनले भने, ‘सञ्चारमाध्ययमले अब यही आध्यात्मिकता जोडेर विषय उठान गर्दा विश्वको ध्यान जानेछ ।’

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्दप्रकाश श्रेष्ठले लुम्बिनीबाट लाभ लिन उचित
व्यवस्थापन र पूर्वाधार विकास आवश्यक रहेको बताए । ‘भारतीय बाटो हुँदै एकछिन आउने पर्यटकले पर्यटन विकास हुँदैन,’ उनले भने, ‘फ्रि भिसा हटाउने र पर्यटकलाई कम्तीमा एक दिन बस्नैपर्ने नियम बनाउनुपर्छ ।’ उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले सहज भारतीय नाका र चीनसितको छोटो दूरीले प्रदेश ५ ले औद्योगिक विकासमा फड्को मार्ने प्रशस्त सम्भावना रहेको बताए । ‘सरकारले उद्योग र उद्योगीलाई हेर्ने नजर र उद्योगमैत्री नीति बनाउन मिडियाले घचघच्याउन आवश्यक छ,’ उनले भने ।

उद्योग वाणिज्य संघ सिद्धार्थनगरका पूर्वअध्यक्ष विष्णुकुमार शर्माले भैरहवा भन्सार सहज बन्ने हो भने प्रदेशमा अझ बढी आर्थिक प्रगति गर्न सकिने बताए । ‘तर नाकाबन्दीसमेत तोडेर देशवासीलाई सहयोग गरेको भैरहवा भन्सारलाई त्यसपछि वास्ता गरिएन,’ उनले भने, ‘भन्सारको आईसीपी वर्षौंदेखि अलपत्र छ । अब यसलाई चलाउन दबाब दिने समाचार आवश्यक छ ।’अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवालीले भौतिक विकासलाई मात्र विकासको आधार नमान्न सुझाए ।

शिक्षा र स्वास्थ्यको विकास अबको आवश्यकता रहेको बताउँदै उनले सञ्चारमाध्ययममा पनि यी विषयलाई प्राथमिकता दिन आग्रह गरे । च्याम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंक पोखरेलले प्रदेशको विकासमा निजी क्षेत्रको ठूलो भूमिका हुने भन्दै उनीहरूका समस्या समाधानमा पनि राज्यलाई सुन्ने र समाधान गर्ने बनाउनुपर्ने बताए ।


महिला अगुवा ज्ञानु पौड्यालले पूर्वाधार र आर्थिक विकाससँगै सामाजिक विकास र जवाफदेहिताका कुरा बाहिर ल्याउन आग्रह गरिन् । महिला अगुवा सावित्रा अर्यालले महिला सशक्तीकरण र हिंसाका कुरालाई मिडियाले प्राथमिकता दिनुपर्ने बताइन् ।

विश्लेषक पदम कार्कीले राष्ट्रियता र पहिचानमा आधारित विषयलाई उठान गर्न आग्रह गरे । त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. शंकर नेपालले विकासमा नागरिकको प्रत्यक्ष सहभागिता रहेका विषय रुचिकर हुने बताए । राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख अशोककुमार पौडेलले प्रदेशमा पूर्वाधार विकाससँगै बैंक, वित्त र सहकारी निकै फस्टाएको बताए । काठमाडौं बाहिर रूपन्देहीका बैंकिङ क्षेत्र फस्टाउँदै र प्रदेशभर सहकारीले स्वरोजगार वृद्धि गर्न निकै सहयोग गरेको उनको भनाइ थियो । प्रधानसम्पादक सुधीर शर्माले कान्तिपुरले प्रदेशका सबै कुरा समेट्न सातै प्रदेशबाट छुट्टै संस्करण निकालेको बताए । प्रदेश ५ मा विकासका प्रशस्त सम्भावना रहेकै कारण सुझाव संकलन सुरु गरेको शर्माको भनाइ थियो । विषयगत र नागरिकका चाहनालाई मध्यनजर राख्दै अघि बढ्ने उनले जनाए ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले देश संघीयतामा गएपछि पहिलोपटक यहाँका सुझाव लिन आएको जानकारी दिए । छलफलमा निकै गहन सुझाव प्राप्त भएको बताउँदै अध्यक्ष सिरोहियाले त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।

पर्यटनबाट समृद्धि
मुख्यमन्त्री शंकर पोखरेलले यहाँका सम्भावना विकास गरेर समृद्ध प्रदेश बनाउने बताएका छन् । अहिले विभिन्न सूचकांककाा आधारमा प्रदेश औसत रहेको बताए । यहाँ भइरहेको तीव्र औद्योगीकरण, गौरबका योजना, लुम्बिनी र कृषि क्षेत्रको विकास गरेर उन्नतिलाई अघि बढाइने उनको भनाइ थियो । केन्द्रबाट अझै अधिकार प्रदेशमा नआएको मुख्यमन्त्रीले बताए । ‘आफूलाई मुख्यमन्त्रीका रूपमा जनताले चिने पनि अधिकार नहुँदा आवश्यकताअनुसार काम गर्न सकिएको छैन,’ पोखरेलले भने । मुलुक संघीयतामा गएपछि सञ्चारमाध्यम पनि काठमाडौंबाहिर आउन थालेको बताउँदै प्रदेशका मुद्दालाई प्रशस्त स्थान दिनुपर्नेमा उनले जोड दिए । कृषिले जीवनस्थर सुधार गरे पनि पर्यटनबाट समृद्धि सम्भव हुने उनको भनाइ थियो ।

पर्यटनका लागि लुम्बिनी महत्त्वपूर्ण केन्द्र सावित हुने मुख्यमन्त्रीको कथन छ । ‘बाँके, दाङ र रूपन्देहीमा ठूला औद्योगिक करिडोर बनाइनेछ,’ मुख्यमन्त्रीले भने, ‘रूपन्देहीलाई वाणिज्य र पर्यटन हवका रूपमा विकास गरिनेछ ।’मुख्यमन्त्रीले प्रदेशको अर्को सबल पक्ष जैविक विविधता रहेको बताए । प्रदेशमा ५० प्रतिशत जंगल रहेको बताउँदै उनले अब जंगललाई शैक्षिक र पर्यटकीय अध्ययन केन्द्र बनाउनेमा जोड दिए । पहाडी क्षेत्रको विकासका लागि पाल्पादेखि रोल्पासम्म हिल स्टेसन बनाउने योजना कार्यक्रममा मुख्यमन्त्रीले सुनाएका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?