पर्यटकीय गन्तव्य बन्दै गुफाडााडा

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिकाले तेल्घा गुफाडाँडालाई नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन पहल थालेको छ । त्यसका लागि पहिलो काम यहाँसम्म जाने मोटरबाटो स्तरोन्नति गरेको हो । सडक पहुँचका लागि नगरपालिकाले ८४ लाखमा ८ किलोमिटर स्तरोन्नति सकाएको छ ।

पर्यटकीय गन्तव्य बन्दै गुफाडााडा

एक किलोमिटर सडक डिभिजनका कारण स्तरोन्नति गर्न बाँकी छ ।

यहाँ १८ फिट अग्लो र ८ फिट चौडाइको गणेश मूर्ति स्थापना गर्ने कार्ययोजना छ । सोहीअनुसार काम अघि बढेको तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले बताए । विशाल गणेशको मूर्ति तयार भइसकेको छ । उक्त मूर्ति तानसेन टुँडिखेलमा २ वर्षदेखि अलपत्र छ ।

लुम्बिनी, पोखरा र मुक्तिनाथसँगै गणेशको मूर्तिले यहाँ नयाँ धार्मिक पर्यटकीय आकर्षण बढाउने प्रमुख शाहीले बताए । उनकै अगुवाइमा गणेशको मूर्ति काठमाडौंबाट तानसेन ल्याएर दुई वर्षअघि राखिएको छ । धार्मिक कार्यक्रम सकिए पनि गुफाडाँडासम्म लैजाने सडक नभएकाले अलपत्र बनेको थियो । नगर प्रमुखमा निर्वाचित भएपछि शाहीले प्रमुख धार्मिक गन्तव्य बनाउन पहिलो नगरसभाबाट ८४ लाख रुपैयाँ विनियोजन गरेर सडक स्तरोन्नति गरेका हुन् ।

जिल्लाका सञ्चारकर्मीलाई सडक स्तरोन्नति अनुगमन तथा डाँडामै पत्रकार सम्मेलन गरेर उनले यसबारे जानकारी गराएका हुन् । नगरपालिका प्राविधिक विशाल ओलीका अनुसार सडक डिभिजनले ठेक्का लगाएको केही भागबाहेक अन्यत्र स्तरोन्नतिको काम सकिएको बताए । उनले यही वर्षमै ९ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना छ ।

यही डाँडामा अध्ययन अनुसन्धान केन्द्र, ध्यान केन्द्र, नैतिक मूल्य र मान्यतामा आधारित शिक्षालय, रमणीय एवं उत्कृष्ट पार्क, होटल, रिसोर्ट निर्माण हुने कार्ययोजना तयार भएको छ । नगर सरकारले स्थानीय बासिन्दाको नगरपालिकामा सहज पहुँचलाई मध्यनजर गरेर लगानी गरेको जनाएको छ ।

‘सडक बन्नासाथ स्थानीयलाई नगरपालिकामा आउन र जान पनि सहज भएको छ,’ मोटरबाटो निर्माण उपभोक्ता समिति अध्यक्ष देवबहादुर अस्लामीले भने, ‘धार्मिक गन्तव्यका साथै स्थानीयले पनि विकास निर्माणको अनुभूति गर्न पाएका छन् ।’ग्रामीण तथा कृषिमा आधारित एग्रो रिसोर्ट, भ्यूटावर यस क्षेत्रमा विकास गरिनेछ । होमस्टे, उन्नत अर्गानिक कृषि तथा फलफूलको उत्पादन, तरकारीका बीउ, जडीबुटी उत्पादन, प्रशोधनलगायत काम हुने कार्ययोजना छ । ‘नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदा स्थानीयले नै फाइदा पाउने हो,’ उपप्रमुख लक्ष्मी पाठकले भनिन्, ‘जसले गर्दा विकास र समृद्धि दुवै हुने विश्वास छ ।’

जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रानीमहल, तानसेन, रिडीको ऋषिकेशव, केलादी, सिद्धबाबा क्षेत्रसँग जोडेर अघि बढ्ने सोच अघि बढेको शाही बताउँछन् । ‘नयाँ गन्तव्यका रूपमा गुफाडाँडालाई अगाडि बढाउन पूर्वाधारको विकास सुरु भएको छ,’ अवलोकनमा पुगेका उनले भने, ‘यसका लागि आवश्यक गुरुयोजना बनाएर अघि बढेका छौं र भविष्यमा साँच्चिकै घुम्न लायक स्थल बन्ने छ ।’ १० वर्षयता यस स्थलको विकासका लागि विभिन्न योजना बन्दै आएको छ । साबिकको तेल्घा गाविस अध्यक्ष मोहन गैरेले १२ वर्षमा खोलो पनि फर्कन्छ भनेजस्तै अहिले एउटा काम सम्पन्न भएको छ । ‘अब विकासको ढोका खुलेको छ,’ उनले भने, ‘जसले गर्दा भोलिका दिनमा काम गर्न र अवलोकन गर्न आउनलाई सहज भएको छ ।’

सञ्चारकर्मी, वडाध्यक्ष टोलीले तेल्घा गुफाडाँडाको अवलोकन गरेर गुरुयोजना अघि बढाउन सुझाव दिए । पत्रकार महासंघ जिल्ला अध्यक्ष राजेशकुमार अर्यालले पर्यटकीय क्षेत्र बनाउँदा स्थानीयलाई रोजगार वृद्धि हुने खालका काम गर्न सुझाव दिए । सिद्धार्थ राजमार्गबाट ७ र तानसेनबाट १० किलोमिटर टाढाको गुफाडाँडा मनोरम स्थल हो । यहाँबाट तराई र हिमालको दृश्यावलोकन एकैपटक गर्न सकिन्छ ।

हिमालको काखमा तानसेन अडिएको दृश्य हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेको तानसेन ११ बन्दीपोखराका अध्यक्ष तथा नगरपालिका प्रवक्ता दामोदर घिमिरेले बताए । पर्यटक आकर्षित गर्न सकियो भने लुम्बिनी र पोखरामा आउनेलाई यहाँ पनि तान्न सकिने उनको विश्वास छ । ‘पर्यटकलाई आकर्षित गर्ने खालका गुरुयोजना तयार गर्नुपर्ने हुन्छ त्यसैले सोहीअनुसार काम अघि बढेको छ,’ उनले भने, ‘यस क्षेत्रको विकासमा सबैले सहयोग गर्नुपर्छ ।’

यहाँ पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारिए पनि पूर्वाधार भने पुगेको छैन । ट्रयाक खुलेको मोटरबाटोको स्तरोन्नति गरिएको मात्र हो । गुफाचौरमा जाँदा उराठ लाग्दो छ । कुनै काम अघि बढेको छैन । ‘अहिले बाटो विस्तार गरिएको छ, अब ग्राभेल र कालोपत्रे गर्नु जरुरी छ,’ स्थानीयवासी तथा अगुवा कृष्णबहादुर रानाले भने, ‘जसले गर्दा हिउँद र वर्षायाम गरी सधैं यहाँ पुग्न सकियोस् भन्ने चाहना हो ।’

उनका अनुसार गुफाडाँडामा प्राकृतिक सोन्दर्यताको अवलोकनका लागि सयौं पर्यटक अहिले पनि आउने गरेका छन् । सिद्धार्थ लोकमार्गको डुम्रे, प्रवास र तानसेनबाट यहाँ पुग्न सकिन्छ । यहाँ पर्यटकीय क्षेत्र बनेपछि तेल्घाका साथै मस्याम, बन्दीपोखरा, मदनपोखरा र तानसेनको दिगो विकासमा प्रत्यक्ष योगदान पुग्ने उनले बताए ।

गुराँसडाँडा सामुदायिक वनका अध्यक्षसमेत रहेका रानाका अनुसार अहिले मोटरबाटो स्तरोन्नति भएको छ तर नाली निर्माण र ग्राभेललाई ध्यान दिनुपर्छ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्ड स्तरोन्नति गर्दै दूरी कम गर्नुपर्ने हुन्छ । पहुँच मार्गको स्तरोन्नति र ग्राभेल पहिलो काम भएको बताउँदै डुम्रे–सुनडाँडा–तेल्घाका साथै तानसेन–सेतीपोखरी–बन्दीपोखरा–गुफाचौर सडकलाई कम्तीमा ग्राभेल गर्नुपर्ने उनले बताए ।

वन समितिका अध्यक्ष रानाका अनुसार स्थानीयले यसैसँग जोडिएको ४२ रोपनी जग्गा प्रदान गरिसकेको छ । यहाँको खानेपानी लिफटङ गरी गुफाचौर र यस भेगका बासिन्दालाई पिउने पानीको सहजता आवश्यक छ । यहाँ पुग्ने जरेपीपल–फिरफिरे–तेल्घा साथै मस्यामको बेलडाँडा–तेल्घा गुफाचौरलाई पर्यटकीय पदमार्गका रूपमा स्तरोन्नति र विकास गर्नुपर्ने युवा व्यवसायी केशव कार्कीले बताए ।

गुराँसडाँडा सामुदायिक वन क्षेत्रमा राखिने गणेशमूर्ति र यहाँ बन्ने संरचनाका लागि २ सय रोपनी जग्गा व्यवस्थापन पहल अघि बढेको छ । जरेपीपलका युवा उद्यमी कार्कीले यहाँको विकासका लागि १ लाख ५ हजार नगद प्रदान गरेको बताए । ‘काम अघि बढाउने हो भने सहयोग जुटाउन समस्या होइन जस्तो लाग्छ,’ उनले भने, ‘यस्तै ढिलाइ गर्दै जाने हो भने विश्वास कम हुन्छ त्यसैले कामलाई छिटो अघि बढाउनुपर्छ ।’

प्रकाशित : जेष्ठ १२, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?