कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्गममा विशेषज्ञ सेवा

हरि गौतम

रुकुमपूर्व — भूमे गाउँपालिका–४ तथा साबिकको काँडा गाविसकी ५२ वर्षीया मनकुमारी बुढाले सोही गाउँपालिका ३ तथा साविकको मोराबाङ गाविसको झुम्लाबाङबाट हाडजोर्नीसम्बन्धी उपचार सेवा लिइन् । आर्थिक समस्या अभावले जिल्ला बाहिर उपचार गराउन जान नसकेकी उनको झुम्लाबाङको विशेषज्ञ स्वास्थ्य शिविरमा राम्रो उपचार भयो ।

दुर्गममा विशेषज्ञ सेवा

घरबाट आधा दिन हिंडेर झुम्लाबाङ पुगेकी उनले हाडजोर्नीसम्बन्धी औषधोपचारका साथै घरायसी उपचार विधि पनि सिकेकी छन् । स्वास्थ्य शिविरले उनलाई सञ्चो त भयो । उनले आफूजस्तै लक्षण देखिने गाउँघरका अरुलाई पनि घरायसी विधिबाट रोग निको पार्ने सल्लाहसमेत दिन्छिन् । दुर्गममा हुने विशेषज्ञ स्वास्थ्य शिविरमार्फत लाभ लिने मनकुमारी एक्ली भने होइनन् । वर्षको २ पटक
झुम्लाबाङमा यस्तो शिविर गरिन्छ । सेवा लिन त्यस आसपासका मात्रै नभएर टाढाका पनि आउने गर्छन् ।

०६५ मा पहिलोपटक झुम्लाबाङमा विशेषज्ञ स्वास्थ्य शिविर गरिएको थियो । घुम्न भन्दै पर्यटक भिसामा झुम्लाबाङ पुगेकी फ्रान्सकी स्टाफ नर्स भेरोनिक चेनाटको पहलमा पहिलोपल्ट शिविर राखिएको हो । पहिलोपल्ट गरिएको शिविरमा आएका स–साना रोगबाटै ग्रसित भएको पत्ता लागेपछि यसलाई निरन्तरता दिन थालियो । विशेषज्ञ डाक्टरसहितको शिविरलाई हरेक वर्षको २ पटक सञ्चालन तथा व्यवस्थित गर्न स्थानीय मिलेर झुम्लाबाङ भिलेज फाउण्डेसन नामक संस्था गठन गरेका छन् । सम्पूर्ण शिविर आयोजना, पहल, समन्वय सोही फाण्डेशनले गर्दै आएको छ । दुर्गममा पनि वर्षको २ पटक विशेषज्ञ स्वास्थ्य सेवा दिन सकिने भएपछि
फाउन्डेसलने त्यसको सम्पूर्ण व्यवस्थापन गर्न थालेको अध्यक्ष रामबहादुर बुढाले बताए ।

‘भेरोनिक चेनाटसहितको टोलीले पहिलो पटकको शिविरबाट धेरै नागरिक ठूलो समस्याबाट ग्रसित रहेको पाइयो, विदेशी टोलीले पनि विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनका लागि इच्छा देखाएपछि हामीले सहयोग गर्दै आइरहेका हौं,’ बुढाले भने । हरेक वर्षको २ पटक गरिने शिविरबाट आर्थिक अवस्था कमजोर भएका, घरायसी कारणले उपचारमा टाढा जान नसकेका, गरिब, दलित, महिला तथा बालबालिका बढी लाभान्वित छन् । शिविरमा हाडजोर्नी, बाल, प्रजननलगायत सेवा प्रदान गरिँदै आइएको छ । शिविर सञ्चालन र उपचारमा आवश्यक सम्पूर्ण उपकरणसहितको विशेषज्ञ टोली झुम्लाबाङ पुग्ने गरेको छ । हरेक पटकको शिविरमा विदेशीका साथै स्वदेशी विशेषज्ञले जाँच तथा उपचार गर्ने गरेका छन् ।

०६५ यता झुम्लाबाङमा भएका शिविरमा आएकाको त्यही उपचार तथा स–साना अप्रेसनसमेत गरिन्छ । सम्भव नभएकाका लागि रिफर गर्ने व्यवस्थासमेत फाण्डेशनले गर्दै आएको छ । शिविरमा केही जटिल समस्यको पनि हल भएको अध्यक्ष बुढाले दाबी गरे । ‘धेरै ठाउँमा पुगेर धेरै रुपैयाँ खर्च गरेर उपचार नभएका केही केस हामीले सञ्चालन गरेको शिविरबाट ठीक भएका छन्,’ उनले भने, ‘केही शिविरमा खटिएका डाक्टरले सिफारिस गरेका अस्पताल तथा उपचार विधिबाट ठीक भएका छन् ।’ अधिकांश शिविरमा फ्रान्सका भेरोनिक चेनाट र जापानका रियुकिची इसिडा आउँछन् भने अन्य विदेशी तथा स्वदेशी विशेषज्ञ आउने गरेका छन् । शिविरमै रोग पत्ता लागेर उपचार हुन नसकेर रिफर भए पनि आर्थिक समस्याले उपचार गर्न बाहिर जान नसक्नेका लागि फाउन्डेसनले आर्थिक व्यवस्थासमेत गर्ने गरेको छ ।

कति बिरामीलाई अस्पतालसम्मको भाडा तथा कतिलाई उपचारमा समेत सघाएको बुढाले बताए । फाउन्डेसनसँग केही स्रोत नभए पनि सहयोग संकलन गरेर व्यवस्थान गर्दै आएको उनले जानकारी दिए ।शिविर गरिएपछि सर्वसाधारण थेग्न नसक्नेगरी आउने गरेका छन् । २०६५ यता एकपटक मात्रै स्थानीय सञ्चारमाध्यममा शिविरबारे सूचना प्रकाशन तथा प्रसारण गरिएको थियो । शिविरमा रुकुम पूर्वसहित पश्चिम र रोल्पाबाट आएका थिए ।

शिविरमा आउने प्रति सर्वसाधारणबाट एक सय ५० रुपैयाँ शुल्क लिने गरिएको छ । नाम दर्ता र (यूएसजी) भिडियो एक्सरेबापत उक्त शुल्क लिएको हो । ‘शिविरमा आएका अधिकांशले युएसजी नगरी फर्कनै मान्दैनन्,’ स्थानीय स्वास्थ्यकर्मी शिवकुमार बुढाले भने, ‘दुर्गम क्षेत्रमा सुविधा पाएको भनेर पनि होला कुनै रोग नभए पनि उनीहरूलाई यूएसजी त गर्नैपर्छ ।’

नाम दर्ता र यूएसजी गरेबापत प्राप्त हुने शुल्क शिविरमा खटिएका विशेषज्ञ तथा स्वास्थ्यकर्मीको खान बस्नमा खर्च हुन्छ । यहाँ आउने विशेषज्ञ तथा स्वास्थ्यकर्मीले पारिश्रमिक लिँदैनन् । उनीहरूको खान बस्नको व्यवस्थापन भने फाण्डेशनले गर्दै आएको छ । झुम्लाबाङमा शिविर हुन्छ भन्ने थाहा पाएका र सुनेकाले शिविर हुने दिन गन्दै बस्छन् । दुर्गम गाउँमा विशेषज्ञ सेवा दिने गरी वर्षको २ पटक आयोजना गरिने स्वास्थ्य शिविरले सर्वसाधारणलाई ठूलो राहत मिलेको स्थानीय शिक्षिका कमला बुढामगरले बताइन् ।

‘आर्थिक अभाव, घरायसी तथा अन्य कारणले रोग पालेर बसेकालाई शिविरले ठूलो सहयोग गरेको छ,’ उनले भनिन्, ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा फाउण्डेशनको योगदान महत्त्वपूर्ण छ ।’ उनले शिविरको व्यवस्थापनका लागि स्थानीय सरकारले केही सोच्नुपर्ने बताइन् । स्थानीयको सक्रियतामा गठन भएको फाउन्डेसनले सुरु गरेको कामलाई थप व्यवस्थित बनाउन स्थानीय सरकार योजनाबद्ध तरिकाले लाग्नुपर्ने सुझाव उनको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?