कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

रुकुम पूर्वमा पनि अब शिक्षा एकाइ

रुकुम पूर्व — छुट्टै जिल्ला भएको लामो समयपछि शिक्षा विकास तथा समन्वय एकाइ स्थापनाको तयारी थालिएको छ ।शिक्षा विभागले शिक्षा विकास तथा समन्वय एकाइ स्थापना गरी आवश्यक कामकाज गर्न आदेश दिइसकेको छ ।

रुकुम पूर्वमा पनि अब शिक्षा एकाइ

त्यसका लागि जिल्ला शिक्षा कार्यालयका सल्यानका विद्यालय निरीक्षक तिलक गौतमलाई एकाइ प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि रुकुम पूर्वका सबै विद्यालय तथा शिक्षकले शिक्षासम्बन्धी सबै काम जिल्ला शिक्षा कार्यालय रुकुम पश्चिमबाट हुँदै आएको थियो ।

‘शिक्षा विकास तथा समन्वय एकाइ स्थापना गरी आवश्यक कामकाज गर्नू भन्ने आएको छ,’ एकाइ प्रमुख गौतमले भने, ‘हामी त्यसको व्यवस्थापनमा लागेका छौं ।’ यो नयाँ जिल्ला भएकाले पनि कार्यालय र कर्मचारी व्यवस्थापनमा अलि समस्या भइरहेको उनले बताए । शिक्षा विकास तथा समन्वय एकाइका लागि विभागले एकाइ प्रमुख प्रमुख, २ प्राविधिक सहायक र २ कार्यालय सहयोगी गरी ५ जनाको दरबन्दी स्वीकृत गरिसकेको छ । ‘दरबन्दी त दिइसकेको छ, म जिल्लामै छु, अन्य कर्मचारी आउनेबित्तिकै काम सुरु हुन्छ,’ उनले भने । उनले कार्यालयको छाप, लेटरप्याड बनाउने, साइडबोर्डसमेत तयार भइसकेको जनाए । जिल्ला प्रशासन कार्यालय साँघुरो भएकाले अन्यत्रै कार्यालय स्थापना गर्ने तयारी भइरहेको छ ।

एकाइले स्थानीय तहलाई दिइएका शिक्षासम्बन्धी अधिकारबाहेकका जिल्ला शिक्षा कार्यालयले गर्ने अन्य काम गर्नेछ । चालु आवमा शिक्षा कार्यालयबाट भइरहेका भौतिक संरचना तथा अन्य कामकाजको अनुगमन, मूल्यांकनलगायत काम एकाइबाटै हुनेछन् । एकाइ भने जिल्ला प्रशासन कार्यालय मातहत रहनेछ । एकाइ स्थापनापछि जिल्लास्थित शिक्षासँग सरोकार राख्नेहरू खुसी भएका छन् ।

सानो काम पर्दा पनि अर्को जिल्ला जानुपर्ने बाध्यता अब हट्ने भएपछि शिक्षकहरू पनि खुसी छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष कलु खडकाले शिक्षा विभागको पछिल्लो निर्णय स्वागतयोग्य भएको बताए । ‘सबै संरचना जिल्लामा हुने र शिक्षाका स–साना कामका लागि मात्रै अर्को जिल्ला जानुपर्ने बाध्यता अब हट्ने विश्वास पलाएको छ,’ उनले भने, ‘यसको स्थापना र काम सञ्चालनलाई चाँडै कार्यान्वनमा लैजानुपर्छ ।’ नयाँ जिल्ला भएकाले ढिलै भए पनि शिक्षाको एकाइ स्थापना हुनुलाई सबैले खुसीका रूपमा लिएको उनले बताए । तीन स्थानीय तह रहेको जिल्लामा १ सय १६ सामुदायिक विद्यालय छन् ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?