कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी चाप बढयो

उत्कृष्ट सामुदायिक विद्यालय

पाल्पा — स्थापनाकालमा पातीले बारेका भित्ता, खरले छाएका भवन र टहराबाट पठनपाठन सुरु गरेको विद्यालय अहिले जिल्लाकै उत्कृष्टमध्ये पर्छ । यो विद्यालयमा अहिले ८ पक्की भवन, आँगनमा पार्किङ टायल, हिँड्ने प्यासेज, छात्रछात्रा शौचालय बनेको छ ।

विद्यार्थी चाप बढयो

करिब हजार विद्यार्थीलाई गुणस्तरीय शिक्षा तथा अनुशासन सिकाउन शिक्षकशिक्षिका पनि अभ्यस्त बनेका छन् ।

माथागढी गाउँपालिका ३, कसेनीको दिव्य ज्योति माविले अभिभावक र शिक्षककै पहलमा विद्यार्थी आकर्षित गरेको हो । नजिकै २ वटा निजी विद्यालय पनि छन् । कक्षा ७ माथिका सबै कक्षामा १ सय ५० बढी विद्यार्थी छन् । कक्षा ९ मा १ सय ७६ र १० मा १ सय ६९ विद्यार्थी रहेको प्रधानाध्यापक नारायणप्रसाद अधिकारीको भनाइ छ । उनका अनुसार अहिले बालकक्षा, एलकेजीको पनि पढाइ हुन्छ । यहाँ नेपाली, अंग्रेजी दुवै माध्ययममा पढाइ हुन्छ । अन्य सामुदायिक विद्यालयमा भने विद्यार्थी संख्या घट्दो क्रममै छन् । विद्यालयले हालै स्वर्ण जयन्ती मनाएको छ । विद्यालयमा लघु संग्रहालय बनेको छ ।

सेवाको भावना विकास गर्न जुनियर रेडक्रस सर्कल छ । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष खेमानसिंह रानाको पहलमा समाजबाट लोप हुँदै गएको प्राची र दुर्लभ सामग्री संकलन, संरक्षण गरी नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले लघु संग्रहालय राखिएको हो । ‘अहिलेका बच्चालाई पुराना सामग्रीका विषयमा जानकारी छैन,’ रानाले भने, ‘त्यसैले यस्तो पनि सिकाउनुपर्छ भन्ने भावना जागेर खोलिएको छ । यसले विद्यार्थीलाई फाइदा पुगेको छ ।’ विद्यालयले महिनावारी हुँदा छात्रालाई नि:शुल्क सेनेटरी प्याड दिन्छ । विद्यालयमा कोठाकोठामा बुक कर्नर, वाचनालयको व्यवस्था गरिएको छ ।

११ र १२ कक्षालाई हुने गरी पुस्तक व्यवस्थापन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेखीराम राना बताउँछन् । उनका अनुसार कालोपाटी विस्थापित र चकको सट्टा मार्कर प्रयोग हुन्छ । कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ । ‘अब खेल मैदान व्यवस्थित गर्ने योजनाअघि बढेको छ,’ उनले भने ।

विद्यालयको घेराबार पर्खाल छ । विद्यालय हाता र शिक्षक शिक्षिकाको निगरानी गर्न सीसीटीभी जडान गरिएको छ । ३१ शिक्षकशिक्षिका र अन्य कर्मचारी कार्यरत छन् । प्रधानाध्यापक अधिकारीका अनुसार सिकाइ उपलब्धिको दरमा अझ वृद्धि गर्ने कार्यक्रम छ । उनले पुस्तकालयको आकार वृद्धि गर्नुका साथै ई–लाइब्रेरीको व्यवस्था गर्ने पहल भईरहेको बताए । विद्यालय हाताभित्र बाल उद्यानको व्यवस्था, चमेना गृह सञ्चलानको योजना अघि सारेको उनले बताए । थप कम्प्युटरको व्यवस्थापन गर्ने र स्मार्टबोर्ड सहितको आधुनिक कम्प्युटर ल्याबको व्यवस्था गर्ने विद्यालयको तयारी छ । ‘विद्यालयको भौतिक संरचनाभित्र स्नातक तहको कलेज सञ्चालन गर्न समुदायलाई सहयोग गर्ने योजना छ,’ उनले भने, ‘त्यसका लागि विद्यालयले पहल गर्नेछ ।’ अभिभावकहरूको चाहनाअनुसार अहिले एलकेजी तहसम्म मात्रै सञ्चालन गरिएको अंग्रेजी माध्यमको पठनपाठन विस्तारै माथिल्लो तहमा सञ्चालन गर्दै लैजाने योजना बनाएको छ ।

विद्यालयप्रति समुदायको अपनत्व गराउने र उनीहरूको भूमिकालाई अझै बढी बढाइने उनले बताए । विद्यालयका पूर्वअध्यक्षहरूको भूमिका महत्वपूर्ण रहेको र आगामी दिनमा उनीहरूको पनि सहयोग जरुरी रहेको अध्यक्ष रानाले बताए । ‘स्वर्ण महोत्सवमा जुन सहयोगको भावना देखियो त्यसले आगामी दिनमा काम गर्न हौसला मिलेको छ,’ उनले थपे । गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले ८ वडामध्ये उत्कृष्ट विद्यालयका रुपमा अघि बढेको बताए । उनले दिव्यज्योतिमा भएका विद्यार्थी संख्या, यहाँको पढाइको गुणस्तर, विद्यालयको मिहिनेतले आगामी दिनमा नमुना विद्यालयका रूपमा आफुलाई उभ्याइरहन आग्रह गरे । वडाध्यक्ष दीपक थापाले माथागढीको सानको रूपमा यस विद्यालयलाई राखिराख्नुपर्ने र त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने बताए ।

‘विद्यालयको शैक्षिक गुणस्तर बढाउन वडाको सहयोग रहिरहने छ,’ उनले भने, ‘त्यसका लागि यहाँ कार्यरत शिक्षक शिक्षिकाको अझ बढी भूमिका रहन्छ ।’ जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख संगीता रेग्मीले सामुदायिक विद्यालयमा पढाइको गुणस्तर र अभिभावकको माया भएको विद्यालयका रुपमा दिव्यज्योति चिनिने गरेको बताइन् । उनले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय सहयोगबाट नै गुणस्तर सुध्रिने बताइन् ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?