२ प्रदेश जोड्ने पुल जीर्ण

एकतर्फी सवारी सञ्चालन, १२ टनभन्दा बढीकालाई रोक

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत दुई प्रदेश जोड्ने राम्दी पुल जीर्ण बनेको छ । प्रदेश ४ को स्याङ्जा र ५ को पाल्पा जोड्ने पक्की पुल जीर्ण हुँदा सवारी सञ्चालनमै समस्या आएको हो ।

२ प्रदेश जोड्ने पुल जीर्ण

४७ वर्ष पुरानो पुलको नियमित मर्मत भएको छैन । दैनिक गाडी सञ्चालनमा कठिनाइ भएको स्थानीय लक्ष्मण पन्थीले बताए । रंगरोगन र सामान्य नटबोल्ट कस्ने काम मात्र हुन्छ । गाडी गुडेका बेला पुल बेस्कन हल्लिने पन्थीले बताए । ‘अहिले केही समययता १२ टनभन्दा बढी तौलका सवारी चल्नमा रोक लगाएको छ,’ उनले भने, ‘पुल हल्लिएकाले सूचना टाँसेर जानकारी दिइएको छ र प्रहरीले भनेर पठाउने गरेको छ ।’

पुलको अवस्था कमजोर भएपछि सुरक्षित आवतजावत गर्न १२ टनसम्मका सवारी एकतर्फी आवतजावत गर्न पाउने व्यवस्था गरेको छ । रातिको समयमा अटेर गरेर दोहोरो गुडाउने र बढी भारवहन क्षमताका ट्रकसमेत लैजाने गरेको गुनासो स्थानीयले गरे । पाँच वर्षअघि पुलको सामान्य मर्मत र पेन्टिङ भए पनि सुरक्षा दृष्टिले चेकजाँच नहुँदा निर्बाध सवारी सञ्चालन गर्न अप्ठेरो परेको अर्का स्थानीय राजकुमार श्रेष्ठले बताए । पुल जीर्ण भएपछि पाँच वर्षदेखि प्रहरी र स्थानीयको पहलमा एकतर्फी मात्र सवारी चलाइएको उनले जानकारी दिए । पुलको दिगोपनका लागि सामान्य मर्मत गर्दै आएको छ ।

यस सडकमा दैनिक चल्ने सयौं सवारी पुल मर्मत नहुँदा एकतर्फी मात्र सञ्चालन गर्नुपरेको राम्दी प्रहरी चौकी प्रमुख रामबेलास यादवले बताए । जीर्ण राम्दी पुलकै कारण निर्वाध सवारी सञ्चालन हुन नसक्दा जाम हुने, ट्राफिक व्यवस्थापन गरिरहनुपर्नेजस्ता समस्या थपिएको छ । यस्तै सवारी चालक र यात्रुले समेत दुर्घटनाको भय पालेर दिनहुँ यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रु कमला खनालले बताइन् । यस पुललाई भारतको कोलकातास्थित हावडा पुलको नमुना पनि भन्ने गर्छन् । फलामे पक्की पुलको बेरिङमा ग्रिसिङ गरिने हुँदा पुल हल्लिनु सामान्य भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

डिभिजन सडकका इन्जियिनर तथा सूचना अधिकारी पवित्रमणि आचार्यका अनुसार दैनिक यस सडकमा चल्ने सयांै सवारी पुल मर्मत नहुँदा एकतर्फी मात्र सञ्चालन गर्नुपरेको छ । यही सडक भएर बाटो हुँदै स्याङ्जा, गुल्मी, पोखरासहित प्रदेश नम्बर ४ का विभिन्न जिल्ला ओहोरदोहोर गर्छन् ।

निर्माण कम्पनीलाई निर्देशन
बर्दिया (कास)– तोकेको समयमा काम नसक्ने निर्माण कम्पनीलाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । काम नसक्ने र शून्य प्रगति भएका २८ कम्पनीलाई स्थानीय प्रशासनमा उपस्थित गराउन प्रहरीलाई निर्देशन गरेको हो । उक्त निर्देशन अटेर गरे पक्राउ गर्न आदेश दिएको छ ।

यसपछि आइतबार २८ कम्पनी सञ्चालकमध्ये १० जना उपस्थित भए । बबई, ओराही र भादा नदी व्यवस्थापन कार्यालय, बबई, कर्णाली सिँचाइ आयोजना, सडक डिभिजन कार्यालय, हुलाकी आयोजना, नगरपालिका र गाउँपालिकालगायतबाट ठेक्का लिएका ठेकेदारलाई उपस्थितका लागि प्रहरीले जानकारी गराएको थियो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कार्यालयमा उपस्थित भएका निर्माण व्यवसायीलाई पहिलोपटक सम्झाउँदै कागज गरी छाडेको र अटेर गर्नेलाई थुनेर मुद्दा चलाइने बताए । केही निर्माण व्यवसायीले समयमा काम गरेको रकम उपलब्ध नगराउनु र म्यादभित्रै सक्ने वचन दिएका थिए । उनीहरूलाई समयभित्र काम गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको प्रजिअ कुरुम्बाङले बताए । केही निर्माण व्यवसायी काठमाडौं गएकाले केही दिनभित्र कार्यालयमा उपस्थित हुने जानकारी गराए । स्थानीय प्रशासनले आयोजनालगायत विकास अड्डाका कार्यालयका प्रमुखले काम गराउँदा ठेकेदारसँग मिलेमतो गरी फाइदा लिएको प्रमाणको आधारमा कारबाही गर्ने भएको छ ।

यसैबीच नेपाल–भारत सीमा जोड्ने सर्यूनदीमा निर्माण हुन लागेको पुल ठेकेदार कम्पनी काम छाडेर बेपत्ता भएकाले पक्राउ गरी थुनामा राखी कारबाही गरिने भएको छ । पुलको काम बीचैमा छाडेकाले अलपत्र छ । पुल यसै साउनको पहिलो साताभित्र सक्ने गरी सम्झौता भएको थियो । उक्त ठेक्का बीटी शिवराम जेभीले करिब ७ करोडमा लिएको हो । ०७३ असार मसान्तमा हुलाकी आयोजनाको ठेक्का जेभीले लिएको थियो । ४० मिटर लम्बाइ र दुई पिल्लर निर्माण गर्नुपर्ने कम्पनीले २२ महिना बितिसक्दा पनि कामै सुरु गरेको छैन । आयोजना प्रमुख सौरभ व्रजाचार्यले पुल निर्माण गर्न ताकेता गरे पनि वास्ता नगरेको जनाए ।

प्रकाशित : जेष्ठ १४, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?