स्थानीय तहद्वारा स्वरोजगारीमा जोड

स्वरोजगार बढाउँछौं : जनप्रतिनिधि
वास्तविक कृषकलाई उपेक्षा : किसान
वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनी गाउँपालिका अण्डा उत्पादन र मासुमा आत्मनिर्भर छ । खाद्यान्न, मसला बाली, फलफूल र तरकारीमा परर्निभर छ । यहाँ २६ हजार ४ सय ३४ जनसंख्या छ । ६ हजार २ सय ५४ घरधुरी गुजाराका लागि भारत र तेस्रो मुलुकमा निर्भर छन् । सबै वडामा मोटरबाटो पुगेको छ । तर खेतीयोग्य जमिन र सिँचाइ सुविधा छैन ।

त्यसैले जनप्रतिनिधि उर्वर भूमिलाई उपयोग गर्दै कृषि, पर्यटन, पशुपालन र उत्पादनमा स्थानीयलाई स्वरोजगार बनाउने योजना तयार गर्न व्यस्त छन् । असार १३ गते पाणिनीको दोस्रो गाउँसभा हुँदैछ । पहिलोले कृषिमा एक करोड, पशुमा ६५ लाख र पर्यटनमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसपालि पनि त्यसमा नघट्ने जनाइएको छ ।

पूर्वाधार विकास, खानेपानी, मोटरबाटो, शिक्षा, स्वास्थ्य, सिँचाइ योजना छँदैछन् । ‘महत्त्वपूर्ण रूपमा कृषि, पशुपालन, पर्यटन पूर्वाधार र उत्पादनमा जोड दिन्छौं,’ गाउँपालिका अध्यक्ष अच्यूत गौतमले भने, ‘यहाँका विभिन्न गाउँमा ४ हजार लिटर दूध उत्पादन हुन्छ । आउँदो वर्ष ५ हजार पुर्‍याउने लक्ष्य छ ।’

धातीबाङ, पटौटी, पोखराथोक, खिदिम, मैदान र पणेनामा उत्पादन हुने दूध गाडीबाट पाल्पाको तानसेन जान्छ । पटौटीमा नियाली देउराली छ्रुर्पी उद्योग सञ्चालनमा छ । ‘एक वडा एक उत्पादन योजना अघि सार्दै छौं,’ उनले भने, ‘एक वडा एक डेरी उद्योग स्थापना गरेर दूध बाहिर पठाउने लक्ष्य छ ।’ दुर्गाफाँटलगायत खेत धेरै छन् । त्यसमा व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्न जग्गाधनीलाई प्रोत्साहन गर्ने उनले बताए । पाणिनीको बेग्लै महत्त्व छ । पाकिस्तानबाट ऋषिमुनि पाणिनी जंगलमा आएर शान्तिको कामना गर्दै तपस्या गरेको भनाइ छ ।

यहींबाट संस्कृत व्याकरणको सुरुवातसमेत भयो । प्रचार अभाव र भौगोलिक दुर्गमले गर्दा ओझेलमा परेको छ । महत्त्व लुम्बिनीको भन्दा कम छैन, अब गुरुयोजना बनाएर गन्तव्य बनाउँछौं, उनले भने । छत्रदेव गाउँपालिका र पाणिनीको सीमा धोवीघाटमा ड्याम बाँधेर ठूलो ताल बनाउने योजना छ । प्रदेश सरकारसँग बजेट माग गरेको उनले बताए । ‘पोखराको फेवातालभन्दा ठूलो ताल बन्छ,’ उनले भने, ‘डुंगा चलाएपछि पर्यटक भित्रिने, माछापालन, धेरै जमिन सिँचाइ पुग्छ ।’

जिल्लाकै धेरै सुन्तला फल्ने पणेनाको सिम्लेमा थप बिरुवा रोप्ने र खेती विस्तार गर्ने योजना रहेको उपाध्यक्ष लक्ष्मी गौतमले बताइन् । कृषि उत्पादनबाट आम्दानी भित्र्याएर परिवार पाल्न सहज हुने वातावरण मिलाएर वैदेशिक रोजगार जानेको संख्या घटाउने लक्ष्य छ, उनले भनिन् ।

पोखराथोक, पणेना र पटौटीमा जंगल फाँडेर ओखरका ५ सय र दालचिनीका ४० हजार बिरुवा रोपिएको छ । जिल्ला वन, सामुदायिक वन र पालिकाको संयोजनमा यसपालि डेढ लाख बिरुवा रोप्ने वन अधिकृत दीपक ज्ञवालीले बताए । ‘दालचिनी र ओखरबाटै समृद्ध बन्छ,’ उनले भने, ‘काठ नहुने जंगलका रूख फँडानी गरी दीर्घकालीन आम्दानी दिन खेती विस्तार हुन्छ ।’

पाणीनिसहित तीन गाउँपालिका र ती नगरका जनप्रतिनिधि दोस्रो सभाको विकास योजना तय गर्न लागेका छन् । जिल्लाबाट बर्सेनि १२ टन कफी जापान, अमेरिका, कोरियालगायत देशमा निर्यात भएको छ । आम्दानीको स्रोत नै कफी खेतीबाट आत्मनिर्भर बनाउने, फलफूल, बेमौसमी तरकारी, बीउबिजन, पशुपालन, सिँचाइको व्यवस्था, टोलमा पुगेका सडकलाई कालोपत्रे गरी गाउँको उत्पादन सहजै बजारसम्म पुर्‍याउने योजना सबै पालिकाको छ । छत्रदेवका प्रमुख लेखनाथ पोखरेलले कृषि र पशुपालन कार्यक्रम कसरी दिगो बनाउन सकिन्छ भनेर दोस्रो बजेट विनियोजन गर्न छलफल चलिरहेको बताए । पालिकाभित्रका बल्कोट र ठूलापोखरामा कफी खेती राम्रो छ ।

मेरङ, अर्घातोष, भगवतीमा सुन्तला, तरकारी र दूध उत्पादन हुन्छ । त्यसलाई विस्तार गरेर उत्पादनमा बर्सेनि वृिद्ध गर्ने र विदेशबाट फर्किएका युवालाई यहीं रोकेर कृषितिर लगाउने खालको बजेट आउँदैछ, उनले भने । तम्घास नजिक भएकाले उत्पादित वस्तु गाडीबाटै सहजै पुर्‍याउन सकिन्छ । पढेलेखेका र विदेश जाने युवालाई फार्म खोल्न र कृषिकर्मबाटै भविष्य उज्ज्वल छ भनेर आकर्षित गरेर उत्पादनमा लगाइने उनले बताए । अदुवा, बेसार, खुर्सानीसहित खाद्यबाली उत्पादनमा यो वर्षको बजेट वृद्धि गर्छौं, पोखरेलले भने ।

सदरमुकामसँग जोडिएको मालारानी गाउँपालिकाका धेरै गाउँ रेमिट्यान्सकै भरमा छन् । कृषि र पशुपालनको सम्भावना भए पनि कृषितिर आकर्षण कमै छ । सीपमूलक तालिम, स्वरोजगारका कार्यक्रम र गाई–भैंसी पाली दूध बेचेर विदेश जाने पैसा यहीं कमाउन सकिन्छ भन्ने सन्देशसहित उत्पादनमुखी बजेट ल्याउने तयारी छ, अध्यक्ष आचार्यले भने । मोटरबाटो स्तरोन्नति, सरकारी भवन निर्माणसहित विकासका अत्यावश्यक पूर्वाधार निर्माणसहित कृषि र पशुपालनका कार्यक्रम पनि प्राथमिकतामा रहेको उनले बताए । सबै बस्तीका बासिन्दालाई सहकारीमा आबद्ध गराएर उत्पादनमा लगाउने उनले दाबी गरे ।

‘धेरै गाउँले कृषितिर आकर्षित छैनन्,’ उनले भने, ‘चेतनामूलक कार्यक्रम, तालिम, गोष्ठी ल्याएर यतातिर तान्छौं । फलफूल, तरकारी, बाख्रापालन, दूध उत्पादनको राम्रो सम्भावना छ ।’ समग्र जिल्लामा एक पटक विदेश गएर फर्किएकाले ठूला कृषि र पशु फार्म खोलेका छन् । केही उच्च शिक्षा पढेका छन् । त्यस्ता कृषकले स्थानीय सरकारले कृषिमुखी बजेटका नारा घन्काइरहे पनि प्रभावकारी नभएको गुनासो पोखे । जनप्रतिनिधिले नाता, कार्यकर्ता र नजिककालाई मात्रै कार्यक्रम दिएका छन् । कृषि, पशुपालनसम्बन्धी तालिम गोष्ठी र भ्रमणमा आसेपासे नै राखे, वास्तविक कृषकलाई थाहै दिएनन्, अनुदान पनि जनप्रतिनिधि र नेताका नजिककाले पाएको धेरै कृषकको गुनासो छ ।

सन्धिखर्क नगरपालिकाको डिभर्नामा बोयर बोका उत्पादनको चर्चा छ । ती बोकाबाट जन्मिएका पाठापाठी ६ महिना हुर्काएपछि ४०/४५ किलो तौलका हुन्छन् । त्यसले लाभ लिएका छन् । किमडाँडा, नरपानीमा तरकारी र दूध उत्पादन छ, त्यसलाई थप विस्तार गर्ने र जिल्लाभर कहाँ कसले के फार्ममा के उत्पादन गरेको छ त्यसको विवरण संकलन गरेर अनुदान दिने खालको बजेट ल्याउने सन्धिखर्क नगर उपप्रमुख ठाकुर विकले दाबी गरे । अन्नबाली, तरकारी, पशुपालन कसरी गर्ने ? थोरै जग्गामा धेरै उत्पादन कसरी गर्ने ? पशुपालन गर्ने तरिकाबारे अघिल्लो बजेटबाट तालिम, गोष्ठी गरियो । त्यसबाट कृषक उत्साहित छन् ।

‘अब अनुदानसहित उत्पादनमा जोड दिने आउँदो बजेट हुन्छ,’ उनले भने, ‘कृषिमा आधुनिकीकरणसम्बन्धी जानकारीबिना परम्परागत शैलीले निर्बाह चल्दैन । फरक तरिकाले खेती गर्ने र पशु पाल्ने कक्षा सञ्चालन गरियो ।’ प्रशिक्षणको निरन्तरतासहित सबैलाई उत्पादनमा जोडेर स्वरोजगारमुखी बजेट ल्याउने तयारीमै रहेको उनले दाबी गरे ।

क्षेत्रफलका हिसाबले देशकै ठूलो शीतगंगा नगरपालिका जल, जमिन, जडीबुटी, जंगल र कृषि उत्पादनका लागि उर्वर भूमि हो । छरिएर रहेको बस्तीमा जटिल भौगोलिकताले गर्दा विकासका काम गर्न अप्ठेरो भए पनि यस क्षेत्रका बस्ती अदुवा, बेसार उत्पादनमा अब्बल छन् । तराईसँग जोडिएको नगर भएको र धेरै जंगल भएकाले बाख्रापालन विस्तार राम्रो भएको छ ।

फार्म खोलेर बाख्रा पाल्ने, दूधका लागि गाईभैंसी पाल्ने, बंगुर पाल्ने र तरकारी खेती गर्नेलाई राहत पुग्ने खालको आउँदो बजेट ल्याइने नगर प्रमुख सूर्यप्रसाद अधिकारीको भनाइ छ । उत्पादनमा नगदेबालीलाई पनि जोड दिएको उनले बताए । उत्पादनमा परनिर्भर रहेको भूमिकास्थान नगरपालिकालाई कृषि, पशुपालनमुखी कार्यक्रम ल्याउन कृषक, जनप्रतिनिधि र सरोकारवाला निकायसँग छलफल भइरहेको छ ।


प्रकाशित : जेष्ठ २१, २०७५ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चैनपुर सडकमा गाडी बन्द

कान्तिपुर संवाददाता

बझाङ — ४ वर्षअघि कालोपत्रे गरिएको जयपृथ्वी राजमार्गको बागथला–चैनपुर सडक खण्ड जीर्ण भएपछि यातायात व्यवसायीले गाडी सञ्चालनमा रोक लगाएका छन् ।‘सडकमा खाल्टैखाल्टा छन् ।

‘सडकमा खाल्टैखाल्टा छन् । ठाउँठाउँमा भत्किएको छ । पटक–पटक ध्यानार्कषण गराउँदा पनि सुधार भएन,’ सुदूरपश्चिम यातायातका बझाङ इन्चार्ज जीवन खड्काले भने, ‘सधैंभरि जोखिम उठाएर गाडी चलाउन नसक्ने भयौं ।’

उनले बागथलादेखि सदरमुकाम चैनपुरसम्मको ४८ किलोमिटर सडक जोखिमयुक्त भएकाले यातायात सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिए ।

गाडी नचलाउने निर्णयपछि सदरमुकाम चैनपुरको सिमखेतस्थित बसपार्कबाट सुदूरपश्चिम, पवनदूत, महाकाली, मालिका र उग्रतारा यातायातका सम्पूर्ण बस बागथलामा राखिएका छन् । यहाँको बसपार्कबाट दैनिक २० वटा बस बाहिर जिल्लाका लागि छुट्ने गरेका थिए ।

चैनपुरबाट धनगढी, महेन्द्रनगर र काठमाडौं लगायतका ठाउँमा जाने र त्यहाँबाट जिल्ला फर्कने यात्रुलाई भने समस्या भएको छ । जिल्ला फर्केका यात्रु केदारस्युँ गाउँपालिकाको बागथलामै अलपत्र छन् । बाहिर जानलाई आएका यात्रु सिमखेत बसपार्कमै बसिरहेका छन । जयपृथ्वीबहादुर सिंह मार्गको योजना कार्यालयले काम सम्पन गरी हस्तान्तरण गरेको वर्ष नबित्दै यो सडकको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी बिग्रेको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र १ सय ८ किलोमिटर लम्बाइको सडकको पिच उप्किएर दजनौं स्थानमा खाल्डाखुल्डी परेका छन् ।

कतिपय स्थानमा सडकमै पानीका तलाउ जमेका छन् । यात्रुले सास्ती भोग्नुपरेको र दुर्घटनाको जोखिम पनि बढेको व्यवसायीहरूको भनाइ छ ।

समानान्तरमा निर्माण गरिएका शाखा सडकबाट बगेर आएको ढुङ्गा र माटो राजमार्गमा थुप्रिने समस्याले पनि बागथला –चैनपुर सडक खण्डको कालोपत्रे कामै नलाग्ने गरी बिग्रिएको छ ।

यातायात व्यवसायीले बिनाजानकारी यातायातका साधन ठप्प गरेको प्रति जिल्ला प्रशासन कार्यालयले चासो राखेको छ । ‘यातायात बन्द गर्नुभन्दा पहिला आफ्ना मागको बारेमा जानकारी गराएको भए छलफल हुन सक्थ्यो । समाधान निकाल्न सकिन्थ्यो,’ प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कँुवरले भने ‘एक्कासि यातायात बन्द गरियो । यो राम्रो भएन ।’


प्रकाशित : जेष्ठ २१, २०७५ १२:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT