कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

४ खानेपानीमा मात्रै शुद्धीकरण प्रविधि

८६ वटामा खोलाको पानी सीधै ट्यांकीमा जोडेर धारामा जान्छ
दुर्गालाल केसी

दाङ — गर्मी बढदैछ, खानेपानीका स्रोत सुक्दैछन् । खानेपानी समितिलाई कसरी पुर्‍याउने भन्ने चटारो छ । भइरहेका मुहान सुक्दै गएपछि खोलाको पानी सीधै रिजर्भ ट्यांकीमा जोडेर धारामा वितरण गरिएको छ । यसले उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ ।

४ खानेपानीमा मात्रै शुद्धीकरण प्रविधि

जिल्लाका अधिकांश खानेपानीका मुहान जोखिमपूर्ण रहेको अध्ययनले देखाएको हो । खानेपानीको मुहानमा खोलाको पानी जोडदा शान्तिनगर गाउँपालिका दुई वडामा झाडापखाला फैलियो । सबै उपभोक्ता बिरामी भए । पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा १५ प्रतिशत पाइयो । दिसामा पाइने उक्त जीवाणु पानीमा भेट्टिएपछि खानेपानीको गुणस्तरबारे जिल्लाभर चिन्ता फैलिएको छ ।

जिल्लाका ९० खानेपानी समितिमध्ये चारवटामा मात्रै शुद्धीकरण प्लान्ट रहेको जिल्ला खानेपानी महासंघ अध्यक्ष खेमराज वलीले बताए । घोराही, तुलसीपुर, बेलझुन्डी र लमही समितिमा मात्रै शुद्धीकरण प्रविधि भएको र अन्यमा नजोडिएको उनले बताए । उनका अनुसार अन्य सबै खानेपानीका मुहान जोखिमपूर्ण छन् । ‘गर्मी समयमा पानीको स्रोत घटदै जाने जिल्लाभरको समस्या हो । यस्तो बेला खोलाको पानी जोडेर स्रोत बढाइन्छ,’ उनले भने, ‘आकाशको पानी पर्दा र छेउछाउको भल मिसिँदा प्रदूषित हुन्छ । अहिले अधिकांश खानेपानीका मुहान जोखिमपूर्ण छन् ।’ पानी शुद्धीकरणमा ध्यान नदिँदा उपभोक्ता असुरक्षित मुहानको पानी पिउन बाध्य भएको उनले बताए । ‘सके प्लान्ट जोड्ने, नसके रिजर्भ ट्यांकीमा दैनिक शुद्धीकरण पाउडर हालेर सुरक्षित बनाउन सकिन्छ,’ उनले भने, ‘पानी शुद्धीकरणबारे अधिकांश समितिलाई ज्ञान छैन । वितरणमा मात्रै ध्यान छ, गुणस्तरबारे गम्भीरता कसैमा छैन ।’ पानी शुद्ध भए/नभएको बारे जाँच पनि नहुने भएकाले गुणस्तरीयता थाहा पाउन समस्या भएको वलीले बताए ।

जिल्लाका सबैजसो मुहान प्रदूषित रहेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इन्जिनियर तिलक न्यौपानेले बताए । ‘अधिकांश खानेपानी आयोजनाका मुहान प्रदूषित छन् । मुहानमा शुद्धीकरण प्रविधि जडान गरिएको छैन,’ उनले भने, ‘उपभोक्ताले फोहोर पानी पिइरहेका छन् । मुहान आसपासका गाउँबाट बेलाबेला फोहोर मिसिएर समस्या आइरहेको छ ।’

शुद्ध पानी पाउनुपर्ने नागरिकको संवैधानिक हक भए पनि जिल्लामा त्यस्तो अवस्था नरहेको उनले बताए । ‘जोखिमपूर्ण पानी वितरण गर्नेलाई संवैधानिक रूपमै कारबाहीको दायरामा ल्याउनुपर्ने हो । हामीले जिल्लाबाट केही कारबाही गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘खानेपानी समितिहरू मुहान सुरक्षित बनाउनेतर्फ जिम्मेवार देखिँदैनन् । मुहानमा खोलाको पानी जोडिएका छन् । यो निकै जोखिमपूर्ण अवस्था हो ।’ फोहर पानी वितरण गर्नेलाई कारबाही गर्ने हो भने जिल्लाका सबैजसो समिति पर्ने अवस्था रहेको उनले बताए । ‘पहिले मुहानमै असुरक्षित रहेको पानी मुखसम्म पुग्दा कस्तो हुन्छ भन्ने प्रश्न गम्भीर छ,’ उनले भने, ‘पाइपलाइन पनि जोखिमपूर्ण अवस्थामा छन् । खानेपानी समितिले पानी शुद्धीकरणमा जोड दिन सकेका छैनन् । कारबाही गर्ने हो भने सबैलाई गर्नुपर्ने हुन्छ ।’

स्रोत साधन अभावमा मुहान शुद्ध राख्न समस्या भइरहेको शान्तिनगरस्थित माइलीपानी खानेपानी समिति अध्यक्ष माधव बस्याल बताउँछन् । स्रोत घटदै जाने र उपभोक्ताको संख्या बढदै जाने समस्याले वैकल्पिक मुहान खोज्न बाध्य भइरहेको उनले बताए । ‘पानीका मुहान सुक्दै गएका छन् । पानी अभाव छ । अरू मुहान खोज्नैपर्‍यो,’ उनले भने, ‘तत्काल मुहानमा शुद्धीकरण मेसिन जोड्न स्रोत साधनले भ्याउँदैन । सकेजति शुद्ध पानी वितरण गर्ने प्रयास भइरहेकै हुन्छ ।’ शान्तिनगरमा एक वर्षअघि खरिद भएको पानी शुद्धीकरण मेसिन विद्युत् आपूर्ति नहुँदा जडान गर्न नसकिएको उनले सुनाए । सबै ग्रामीण भेगमा प्रविधि जडान गर्न कठिन छ ।

अधिकांश रोग खानेपानीकै कारण लाग्ने भएकाले पानीको शुद्धीकरण पहिलो प्राथमिकता हुनुपर्ने राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका फिजिसियन डा. जितनारायण यादव बताउँछन् । पानीको मुहान र पाइप असुरक्षित हुँदा पानीमा प्रदूषण बढिरहेको उनले बताए । ‘अधिकांश रोग पानीकै कारण लाग्छन् । पानी अशुद्ध हुँदा रोग फैलने खतरा छ । पानी शुद्ध बनाउने कुरामा समितिको ध्यान जानुपर्छ,’ उनले भने, ‘मुहानमा दिसापिसाब मिसिएका घटना आइरहेका छन् । यो निकै जोखिमपूर्ण अवस्था हो ।’ धेरै ठाउँमा ढल र खानेपानीका पाइप एकै ठाउँमा देखिने गरेको उनले बताए । ढलको फोहोर पानीको पाइपमा मिसिने जोखिम बढी रहेको उनी बताउँछन् ।

प्रकाशित : जेष्ठ २२, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?