१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सीमामा निगरानी

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा वर्डफ्लु भित्रिन नदिन सीमामा निगरानी थालिएको छ । विभिन्न ठाउँमा वर्डफ्लु देखिएपछि सतर्कता अपनाइएको हो । ‘भारतको नौतनवासँग जिल्लाको सोझो सम्पर्क छ,’ जिल्ला वर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति अध्यक्ष तथा प्रजिअ मदन भुजेलले भने, ‘त्यही भएर सीमाबाट पन्छीजन्य कुरा भित्रिन नदिन उच्च सतर्कता अपनाएका हौं ।’

सीमामा निगरानी

जिल्ला वर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको सदरमुकाममा बसेको बैठकले सीमानजिक संक्रमण देखिएकाले निगरानी र सतर्कता अपनाउने निर्णय गरेको थियो । पशु सेवा कार्यालयले जिल्लाका १० वटै स्थानीय तहलाई रोगबारे सचेत पार्दै लिखित जानकारी गराएको थियो । प्रहरी उपरीक्षक मनोज यादवले सीमाबाट हुने अवैध चोरी तस्करी पूर्ण रूपमा रोक्न नाकामा कडाइ गरिएको बताए । सीमा सतर्कता अपनाउन थालेसँगै वर्डफ्लुको जोखिम बोकेका कुखुराका चल्ला सीमाबाट बरामद गर्न थालिएको उनले बताए । मुख्य भन्सार नाका कृष्णनगर, छोटी भन्सार मर्यादपुर र चाकलचौडामा अहिले विशेष कडाइ गर्न थालिएको छ । त्यस्तै, पैदल यात्रु मात्र आवतजावत गर्ने दर्जनभन्दा बढी नाकामा सुरक्षा बढाइएको छ ।


सरकारले ०६२ सालदेखि भारतबाट पन्छीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाएको छ । छिमेकमा वर्डफ्लुको प्रकोप देखिँदा कपिलवस्तु पनि उच्च जोखिममा पर्ने कुखुरा व्यवसायी प्रकाश घिमिरेले बताए । ‘यसको नियन्त्रणमा सबै सरोकारवालाले चासो दिन जरुरी छ,’ उनले भने, ‘नभए यहाँ पनि भयावह स्थिति आउन सक्छ ।’

प्रकाशित : जेष्ठ २३, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?