कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय परिसरमै ‘झारफुक’

‘विज्ञान पढेको मान्छेलाई विश्वास नलागे पनि परिवारका लागि बाध्य भएँ’
नवीन पौडेल

परासी — धामीझाँक्रीमा विश्वास गर्नुलाई यहाँ नौलो मानिँदैन । स्वास्थ्य संस्थामा पहुँच नभएका अधिकांश ग्रामीण बासिन्दा झारफुकमा विश्वास गर्छन् ।

विद्यालय परिसरमै ‘झारफुक’

तर, यहाँ एक शिक्षकले विद्यालय परिसरमै धामी लगाएर रोग निको पार्न तन्ममन्त्र गरेका छन् । शिक्षित व्यक्तिले नै यस्तो गरेपछि जिल्लामा यसले पार्ने प्रभावबारे बहस सुरु भएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ३, अमुवास्थित न्यू गोल्डेन लाइफ इंग्लिस स्कुलका प्रिन्सिपल हरेन्द्र शर्माले परिसरमै धामी लगाएर श्रीमतीको ‘उपचार’ गराएका हुन् । उनले खाडल खनेर पुजा गरेको बताए । विज्ञानमा स्नातक ३५ वर्षीयले गाउँमा विद्यालय सञ्चालन गरिरहेका छन् । उनकी श्रीमती सोमारी लामो समयदेखि बिरामी छिन् । उपचारका लागि काठमाडाैंदेखि भारतका विभिन्न सहर पुर्‍याउँदा पनि निको भएन । छिमेकी र परिवारले धामी लगाए निको हुने सल्लाह दिए । त्यसैले गत शुक्रबार राति ‘मसान मन्साउन’ यस्तो गरेको शर्माले बताए । ‘लामो समयदेखि श्रीमतीको शरीर सुन्निने समस्या थियो,’ उनले भने, ‘औषधि गर्दा निको नभएपछि धामी लगाएँ ।’

आफूले विज्ञान पढेको बताउँदै अन्धविश्वासमा भरोसा नलागे पनि परिवारका लागि यस्तो काम गर्नु परेको उनको दाबी छ । मध्यरातमा करिब ४ फिट गहिरो खाडल खनेर तन्त्रमन्त्र गरेको स्थानीय फूलमती मुसहरले देखेकी थिइन् । रातारात तन्त्रमन्त्र गरेको देखेपछि मुसहरले ‘मानव बलि दिन लागेको’ भन्दै गाउँमा हल्ला गरेर प्रहरी बोलाइन् । शर्माले मसान मन्साउन राति १२ बजे पूजा गरेको बताएपछि सम्झाइबुझाइ गरेर फर्किएको प्रहरीले बतायो ।

स्थानीय झाँक्री कृष्ण प्याकुरेल (ओझा) ले विद्यालय परिसरमा मानव हड्डी भएको जिकिर गर्दै खाडल खनेर तन्त्रमन्त्र गर्न लगाएका थिए । झाँक्रीले भनेपछि ग्रहशान्ति गर्न खाडल खनिएको स्थानीय पञ्चराम मुसहरले बताए । ‘बिरामी निको हुने भनेपछि खाडल खनेर पूजा गरेको देखियो,’ उनले भने, ‘घटनालाई तोडमोड गरेर विद्यालयको बदनाम गर्न खोजियो ।’ गत जेठ १९ गते स्थानीयको भेलाले सामान्य घटना भन्दै मिलापत्र गराएको थियो । प्रहरीलाई खबर गर्ने फूलमती र पूजा गर्ने शर्मालाई बोलाएर छलफल गरेपछि मिलापत्र गरिएको डीएसपी मोहनबहादुर खाँडले बताए । ‘खबर फैलिनासाथ प्रहरीले घटनास्थल पुगेर अध्ययन गरेको हो,’ उनले भने, ‘तन्त्रमन्त्र गरेको देखेर डर लागेको बताउँदै फूलमती भोलिपल्ट आफैँ प्रहरीसमक्ष आएर मिलेकी हुन् ।’

विद्यालय परिसरभित्र यस्तो कार्य हुनु दु:खद भएको अधिकारकर्मीले बताए । अहिलेको जमानामा पनि प्रिन्सिपलले यस्तो गर्नु ‘लाजमर्दो’ भएकाले यस्ता कार्यलाई बढावा दिन नहुने अधिकारकर्मी दीपक शर्माको भनाइ छ । ‘विद्यालय हाताभित्र यस्तो गतिविधिले बालबालिकामा नराम्रो मनोवैज्ञानिक असर पर्छ,’ उनले भने, ‘शिक्षकबाट नै यस्तो घटना हुनुले तराईमा अन्धविश्वासले जरा गाडेको प्रस्ट हुन्छ ।’

दुई वर्षअघि जिल्लाकै कुडियामा एक बालकलाई बलि दिइएको थियो । उक्त घटना देखेका स्थानीयले तन्त्रमन्त्र भनेपछि मानव बलिको आशंका गरेका थिए । जिल्लाको दक्षिणी क्षेत्रमा कथित बोक्सी, मसान लागेको भन्दै दिनहँु यस्ता घटना हुने गरेका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?