कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सहमतिपछि आन्दोलन स्थगित

गाउँसभाको निर्णय कार्यान्वयनमा ल्याउने
हरि गौतम

रुकुमपूर्व — पुथाउत्तरगंगा गाउँपालिकाले गाउँसभाको पूर्वनिर्णय कार्यान्वयन गर्ने सहमति जनाएपछि स्थानीयले बुधबार आन्दोलन स्थगित गरेका छन् ।

सहमतिपछि आन्दोलन स्थगित

पुस १४ गतेको गाउँसभाले गरेको १२ नम्बर वडा कोलमा रहेको गाउँपालिका केन्द्र १३ नं. वडाको बिर्गुम पदमीमा सार्ने निर्णय कार्यान्वयन गर्ने सहमतिसँगै आन्दोलनरत पक्ष र गाउँपालिकाबीच ४ बुँदे सहमति भएको हो ।

गाउँसभाले गरेको सर्वसम्मत निर्णय कार्यान्वयन गर्न माग गर्दै पुथाउत्तरगंगा गाउँपालिका १३ का स्थानीय संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका थिए । १२ नं. वडाको कोलमै राख्दा १० र ११ नम्बर वडाले नमान्ने, १० वा ११ मा राख्दा १२ ले नमान्ने भएपछि गाउँसभाबाट तेस्रो विकल्प भन्दै गाउँपालिकाको केन्द्र १३ वडामा सार्ने निर्णय भएको थियो । गाउँसभाले गरेको यस्तो निर्णय ६ महिनासम्म पनि कार्यान्वयनमा नल्याइएपछि उनीहरूले कोलस्थित गाउँपालिकाको केन्द्र नै घेराउ गरेका थिए ।

संघर्ष समितिका संयोजक जुनप्रसाद बुढामगरका अनुसार गाउँपालिका गत पुस १४ गते गाउँसभाबाट भएको निर्णय कार्यान्वन गराउन तयार भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ । उनका अनुसार गाउँपालिका र १३ नम्वर वडावासीबीच गाउँसभाबाट भएको निर्णय कार्यान्वयन गराउन गाउँ कार्यपालिकाको बैठक जेठ २६ गते डाक्ने, गाउँ कार्यपालिकाको बैठकले गाउँसभा बोलाउने, गाउँ कार्यपालिकाको बैठक बस्ने समयसम्म आन्दोलनकारीले आन्दोलन स्थगित गर्ने र गाउँसभामार्फत नै पुस १४ गते भएको गाउँपालिका केन्द्र सार्ने निर्णय कार्यान्वनमा लैजाने सहमति भएको छ ।

गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीमगरले सबैको सहमतिमा गाउँपालिका केन्द्र सार्ने निर्णय भएको भन्दै अब कार्यान्वनमा लैजाने तयारीस्वरूप आन्दोलनरत पक्षसँग सहमति भएको बताए । स्थानीय तहको संख्या तथा सीमा निर्धारण समितिले पुथाउत्तरगंगा गाउँपालिका बनाउँदा साबिक कोल गाविसको कार्यालय रहेको ठाउँबाटै अस्थायी रूपमा कार्यालय सञ्चालन गर्न भनेको थियो । हालसम्म सोही ठाउँबाट गाउँपालिकाले कामकाज हुँदै आएको छ ।

अस्थायी केन्द्र तोक्दादेखि नै केन्द्रको विषयमा स्थानीय विभाजित बन्दै आएका थिए । कोल केन्द्र तोकिएपछि १० र ११ नम्बर वडाका स्थानीयले लामो समयसम्म आन्दोलन गरेका थिए । जिल्ला विकास समितिको कार्यालयमा तालाबन्दीलगायतका कार्यक्रम गरेर तकसेरामा केन्द्र कायम गर्नुपर्ने माग तकसेरावासीको थियो । पुथाउत्तरगंगा गाउँपालिका साबिकका रन्मामैकोट, हुकाम, जाङ, तकसेरा, कोल र साङ्सी गाविस मिसाएर बनाइएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?