यार्चा किन्न हेलिकप्टरमा

एकै दिन झन्डै डेढ करोडको कारोबार
हरि गौतम

रुकुमपूर्व — जिल्लाको बुकीमा यार्चा संकलनसँगै बिक्री पनि सुरु भएको छ । यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्चा खरिद गर्न व्यापारी यहाँ आएका हुन् । 

यार्चा किन्न हेलिकप्टरमा

४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी यहाँ आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडी ७ किलो ८ सय ग्राम यार्चा खरिद गरी लगत्तै काठमाडौं फर्किए ।


बुकीमा प्रतिगोटा ६ सय ५० रुपैयाँमा यार्चा खरिद गरेको व्यापारी ओलीले बताए । ‘५ सयदेखि ५ सय ५० रुपैयाँसम्म प्रतिगोटा यार्चा कारोबार भइरहेको रहेछ,’ उनले भने, ‘हामीले प्रतिगोटा ६ सय ५० रुपैयाँ तिरेर एकमुष्ट ठूलो मात्रामा यार्चा उठायौं ।’


उनीहरूले एक सय जनाबाट यार्चा खरिद गरेका थिए । ‘धेरै टिप्नेले दिनमा ३ सय ग्रामसम्म संकलन गर्दारहेछन्,’ व्यापारी ओलीले भने ।


बुकीमा गोटाका आधारमा खरिद गरेका उनीहरूले रुकुमपश्चिम सदरमुकाम मुसीकोट पुर्‍याएर यार्चा तौलिएका थिए । जिल्ला वनबाट छुट पुर्जी लिन उनीहरू त्यहाँ पुगेका हुन् । खरिद गरेको यार्चा वन कार्यालयले तौलेर टाँचा लगाएको थियो ।


‘प्रतिकिलो १८ लाख ५० हजार रुपैयाँ पर्न आयो,’ ओलीले भने । सामान्यतया १ किलो यार्चामा २ हजार ८ सय वटा हुन्छन् । उनका अनुसार बिहीबार मात्रै १ करोड ४४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । दलालमार्फत नभई सीधै स्थानीयबाट खरिद गरेको उनीहरूले बताए ।


उनीहरूले छुट पुर्जीबापत प्रतिकिलो २५ हजारका दरले जिल्ला वनलाई २ लाख ५० हजार रुपैयाँ राजस्व तिरे । ७ किलो ८ सय ग्रामको १ लाख ९५ हजार रुपैयाँ तिर्नुपर्नेमा १० किलोको छुट पुर्जी बनाएकाले त्यति रकम तिरेको उनीहरूले बताए ।


बाँकी यार्चा अर्को पटक लैजाने पनि उनीहरूले बताए । ‘बिहीबार खरिद गरिएको यार्चा १/२ दिनमै चीन पठाइनेछ,’ ओलीले भने, ‘हाम्रा व्यापारी मित्र भट्ट चीनमा बस्छन् । उनले त्यतै यार्चा बिक्री गर्नेछन् ।’


असुरक्षाका कारण हेलिकप्टर चार्टर गरेरै यार्चा खरिद गर्न आएको व्यापारीले बताए । ‘हेलिकप्टरमा नगद बोक्न नपाइने हुनाले सबै रकम चुक्ता गर्न सकेनौं,’ ओलीले भने, ‘बाँकी रकम बुझाउन बुकीबाटै एक जनालाई सँगै काठमाडौं लिएर जाँदै छौं ।’


५ वर्षपछि बुकीमा यार्चा खरिद गर्न हेलिकप्टर पुगेको हो । यसअघि ०७० सालमा पनि व्यापारी हेलिकप्टर लिएर यार्चा खरिद गर्न बुकी पुगेका थिए । स्थानीय भरतकुमार पुनका अनुसार असुरक्षाका कारण लामो समय व्यापारी बुकीमा नआएपछि एकै पटक ठूलो मात्रामा यार्चा बिक्री भएको थिएन ।


यस सिजनमा बुकी खुला भएको १० दिन भयो । जेठ १५ गतेदेखि बुकी खुला गरिएको थियो । पुथाउत्तरगंगा गाउँपालिकाका १ र २ वडाको पुपाल, अरबिजा, जंगला, पूर्वाङ, भित्रीवन, उङ्ला, निम्कु, पानीढल, फूलबारीलगायत स्थानमा यार्चा पाइन्छ । स्थानीय तथा अन्य सर्वसाधारणको आम्दानीको मुख्य स्रोत यही भएकाले संकलनका लागि प्रत्येक वर्ष एक महिना बुकी खुला गरिन्छ ।


यार्चा सिजन व्यवस्थापन समितिले यस वर्ष यार्चा टिप्न पुगेका स्थानीयबाहेकलाई प्रतिव्यक्ति १ हजार ५ सय, स्थानीय व्यापारीलाई १५ हजार र बाहिरका व्यापारीलाई ३० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

प्रकाशित : जेष्ठ २४, २०७५ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?