कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिलबहादुरको जीवन रक्षा माग

साउदी जेलमा रहेका दिलबहादुरलाई ६५ लाख ‘ब्लडमनी’ आवश्यक, सहयोगीले जुटाए ४० लाख

रोल्पा — साउदी अरबको जेलमा रहेका रोल्पा, धबाङका ३१ वर्षीय दिलबहादुर घर्तीलाई स्वदेश फर्काउन उनकी पत्नी मनिकाले सरकारसँग याचना गरेकी छन् । वैदेशिक रोजगारीका क्रममा सडक दुर्घटना मुद्दामा घर्ती साउदी अरबको जेल परेका हुन् ।

दिलबहादुरको जीवन रक्षा माग

‘जेल परेका मेरा पतिलाई सरकारले घर फर्काइदेओस्,’ पत्रकारसँग मनिकाले भनिन्, ‘बरू यतै दुखजिलो गरी बाँच्छौं ।’ काठमाडांैस्थित डेस्टिनी ओभरसिज प्रालिमार्फत ४ वर्षअघि १ लाख ४५ हजार रुपैयाँ तिरेर एक्साभेटर चालकका रूपमा दिलबहादुर साउदी पुगेका थिए ।

तर, माजिद अल दियावाही कन्स्ट्रक्सन इस्ट रियाद नामको कम्पनीमा उनी ट्रक चालकका रूपमा ‘इन्ट्री’ भए । उनलाई कम्पनीले ‘वर्क परमिट’ र ‘चालक अनुमतिपत्रबिनै’ काममा लगायो । दिलबहादुरले चलाएको ट्रकको ठक्करबाट २०७३ जेठ ३१ मा साउदी नागरिक ओतिन विन दिगफाको मृत्यु भएपछि उनी जेल परेका थिए ।

साउदीको एक स्थानीय अदालतले दिलबहादुरलाई ७५ प्रतिशत दोषी ठहर्‍याउँदै ६५ लाख रुपैयाँ ‘ब्लडमनी’ तिरेपछि जेलमुक्त हुन सक्ने फैसला सुनायो । अदालतको फैसला चित्त नबुझेर साउदीस्थित नेपाली दूतावासले पुनरावेदन गर्‍यो । तर, पुनरावेदनबाट पनि अदालतको फैसला नफेरिएको साउदीस्थित नेपाली दूतावासका प्रथम सचिव विजयकुमार राउतले दिलबहादुरको परिवारलाई उपलब्ध गराएको पत्रमा उल्लेख छ । ‘ब्लडमनी’ बुझाउन नसके दिलबहादुर आजीवन जेलमै बस्नुपर्ने त्यहाँको कानुनी प्रावधान छ ।


ब्लडमनी संकलन अभियान
दिलबहादुरको जीवन रक्षार्थ अहिले सहयोगीहरूले रकम संकलन कार्य थालेका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीको साझा संस्था अन्तर्राष्ट्रिय रोल्पाली मञ्चका संयोजक सन्दीप थापाले अहिलेसम्म करिब ४० लाख रुपैयाँ संकलन भएको बताए । पत्रकार सम्मेलनमा थापाले मुलुकभित्र र मुलुकबाहिरका ११ देशमा आर्थिक संकलन गरेको बताए । ‘अहिलेसम्म ४० लाखजति रकम संकलन भएको छ,’ उनले भने, ‘यो अभियानलाई पूरा गरेरै छाड्ने अठोट लिएका छौं ।’


अहिलेसम्म साउदीमा ४ लाख ५० हजार, मलेसियामा १ लाख १९ हजार, कतारमा १ लाख १२ हजार, जापानमा १ लाख, दुबईमा ३ लाख ३६ हजार, कुबेतमा १५ हजार, पोर्चुगलमा १ लाख, बेलायतमा ५ लाख संकलन गरिएको छ । यस्तै काठमाडौंस्थित रोल्पाली कलाकार संघले १ लाख, दीपेश पुन संयोजक रहेको अभियानबाट १३ लाख ३२ हजार र योङ कम्युनिस्ट लिग रोल्पाले ५ लाख संकलन गरेको थापाले बताए ।


यस अभियानलाई सफल बनाउन रोल्पा नगरपालिकाले १ लाख बजेट छुट्याएको छ । यस्तै रोल्पाका सांसद र उद्योग वाणिज्य संघले समेत सहयोग गर्ने वचन दिएका छन् । रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले दिलबहादुरको जीवन जोगाउने उद्देश्यले अभियान थालिएको बताए । अन्तर्राष्ट्रिय रोल्पाली मञ्चले यसका लागि विशेष अभियान थालेको र सहयोगीलाई बैंक खातासमेत उपलब्ध गराएको सचिव लेखप्रसाद रोकाले बताए ।

प्रकाशित : जेष्ठ २५, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?