कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पञ्जीकरण गराउन स्वास्थ्यचौकी !

वडा सचिव नभएपछि गाउँपालिकाले लिखित रूपमै स्वास्थ्यकर्मीलाई स्थानीय पञ्जीकाधिकारीको काम पनि जिम्मा दिएको छ 
हरि गौतम

रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिकाले पञ्जीकरण गर्न सर्वसाधारणलाई स्वास्थ्यचौकी पठाउन थालेको छ । वडा सचिव नहुँदा गाउँपालिकाले लिखित रूपमै स्वास्थ्यकर्मीलाई स्थानीय पञ्जीकाधिकारीको पनि काम गर्न लगाएको हो ।

पञ्जीकरण गराउन स्वास्थ्यचौकी !

१४ वडा रहेको गाउँपालिकामा १ जना मात्रै वडा सचिव छन् । दुईवटा वडाको काम उनीमार्फत हुने गरेको छ । अन्य १२ वटा वडाको पञ्जीकरणसम्बन्धी सबै काम स्वास्थ्यकर्मीबाट गराइँदै आएको छ । यस गाउँपालिकाका १२ वटा वडाका सर्वसाधारण जन्म, बिहे, मृत्यु दर्ता, बसाइँसराइको सिफारिस तथा सम्बन्धविच्छेदका घटना दर्ता गराउन स्वास्थ्यचौकी जाने गरेका छन् ।

वडा सचिव नहुँदा जनताको काम नरोकियोस् भनेर स्वास्थ्यकर्मीबाट काम चलाउन थालिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलकबहादुर रावतले बताए । कुनै वडामा ४ महिनादेखि त कुनै वडामा ३ महिनादेखि स्वास्थ्यकर्मीबाट स्थानीय पञ्जीकाधिकारीको काम भइरहेको उनको भनाइ छ । सबै वडामा स्वास्थ्य संस्था छैनन् । त्यसैले सर्वसाधारण पञ्जीकरणसम्बन्धी काम गर्न अर्को वडा जानुपर्छ ।

वडा कार्यालयका सहयोगीले तयार गरेको कागजात बोकेर सर्वसाधारण छाप लगाउन र सही गराउन स्वास्थ्यचौकी पुग्ने गरेका हुन् । एक स्वास्थ्यकर्मीले १ देखि ४ वटा वडासम्मको पञ्जीकरणको काम गर्दै आएका छन् ।

‘भएका सचिव सरुवा भएर अन्यत्रै गएपछि स्वास्थ्यकर्मीबाटै जनताको काम गराइरहेका हौं,’ गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्ती मगरले भने, ‘वडा सचिव नआएसम्मका लागि स्वास्थ्यकर्मीलाई पञ्जीकरणको काम गर्ने गरी जिम्मा दिइएको छ ।’

साबिक रन्मामैकोट गाविसमा हाल ४ वटा वडा छन् । ती सबैमा गरी एकजना मात्र पञ्जीकाधिकारी छन् । स्वास्थ्यचौकी मैकोटका इन्चार्ज स्वास्थ्य सहायक समिर गिरीले पञ्जीकाधिकारीको काम गर्दै आएका छन । गिरीसँग ४ वटै वडाका छाप छन् ।

स्वास्थ्य क्षेत्रको दैनिक काममा असर नपर्ने गरी गाउँपालिकाले स्थानीय पञ्जीकाधिकारीको काम गर्न नियुक्ति नै दिएको गिरीले बताए । ‘वडा सचिव नभएकाले अर्को व्यवस्था नभएसम्मका लागि भनेर गत चैत पहिलो हप्तादेखि पञ्जीकरणसम्बन्धी काम गर्दै आएको छु,’ उनले भने, ‘आफ्नो दैनिक कामकाजमा असर नपर्ने गरी काम गर्नु भनिएको छ । फरक क्षेत्रको काम गर्दा सजिलो भने छैन ।’ पञ्जीकरणको काम गरेबापत स्वास्थ्यकर्मीले गाउँपालिकाबाट थप कुनै सेवासुविधा पाएका छैनन् ।

२ नम्बर वडाबाट स्वास्थ्यचौकी रहेको १ नम्बर वडासम्म पुग्न ६ घण्टा लाग्छ । अन्य वडाको अवस्था पनि यस्तै छ । पञ्जीकरणको काम गर्न यति टाढा हिँडेर जानुपर्दा सर्वसाधारण समस्यामा छन् । स्थानीय मनकुमारी कामीले वडाबाट पाउनुपर्ने सेवा पनि नपाइएको गुनासो गरिन् । ‘सचिव छैनन् भनेर हामीलाई जन्मदर्ता र मृत्युदर्ताजस्ता सामान्य काम गर्न पनि यति टाढा पठाउँछन्,’ उनले भनिन्, ‘यस्तो भएपछि त वडा कार्यालय भएको नै के अर्थ भयो र ?’

साबिकका रन्मामैकोट, हुकाम, जाङ, तकसेरा, कोल र राङ्सी गाविस मिलाएर पुथाउत्तरगंगा गाउँपालिका बनाइएको हो । रन्मामैकोटमा ४, हुकाममा २, जाङमा ३, तकसेरामा २, कोलमा २ र राङ्सीमा एउटा वडा छन् ।

प्रकाशित : जेष्ठ २५, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?