१५ वर्षपछि लालपुर्जा

वीरेन्द्र केसी

काठमाडौँ — 'पत्थरीको अप्रेसन गर्ने पैसा भएन । रोग बोकेरै बसें,’ सन्धिखर्क नगरपालिका २ की कमला नेपालीले भनिन्, ‘उपचारमा लाग्ने दुई लाख रुपैयाँ जुटाउनै मुस्किल पर्‍यो । आफ्नै जमिन भए पनि त्यसलाई बेच्न र बैंकमा धितो राख्न सम्भव भएन ।’

१५ वर्षपछि लालपुर्जा

यसको कारण उनको जग्गाधनी पुर्जा (प्रमाणपत्र) सरकारी अड्डामा थिएन । यो समस्या उनको मात्र होइन, जिल्लाका अधिकांश बासिन्दाको हो ।

१५ वर्षसम्म यस्तो समस्या खेपेका उनीहरू अब भने त्यसबाट मुक्त हुने भएका छन् । तत्कालीन माओवादीले २०५९ र ०६१ मा सदरमुकाम आक्रमण गरी सरकारी कार्यालय ध्वस्त पार्‍यो । त्यस क्रममा नापी र मालपोत कार्यालयका सम्पूर्ण कागजपत्र जलेर खरानी भए । तसर्थ, झन्डै डेढ दशकसम्म अर्घाखाँचीवासी पुर्जाविहीन बने । अहिले यहाँ रहेको विशेष नापी कार्यालयले धनीपुर्जा बाँड्न थालेको छ । ०६७ मा सन्धिखर्कमा विशेष नापी कार्यालय स्थापना भएपछि नापी–नक्साको काम सुरु भएको थियो । ‘१५ वर्ष निकै आपत् भयो,’ कमलाले भनिन्, ‘अब खुसीका दिन आए । छोरालाई उच्चशिक्षा पढाउन जग्गा धितो राखेर बैंकबाट ऋण पाइने भइयो ।’

आफ्नो जग्गाको पुर्जा भए पनि सरकारी निकायमा प्रमाणपत्र नहुँदा धेरै स्थानीयले दु:ख पाएको उनले बताइन् । चुत्राबेंसीका नन्दलाल श्रेष्ठ, लालमणि भुसाल, शिवहरि पौडेल, लक्ष्मी कुँवरलगायत जग्गाधनीले कृषिमन्त्री चक्रपाणि खनालको हातबाट पुर्जा लिँदा उनीहरूको अनुहार बिछट्टै खुलेको थियो । पुर्जा पाएपछि सबैको मुहार उज्यालियो ।

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खडका, प्रदेश सांसद रामजीप्रसाद घिमिरे, जल्पा भुसाल र निर्मला क्षत्री, जिसस प्रमुख पीताम्बर शर्मा, सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसाललगायतले पुर्जा पाएपछि कानुनी रूपमा जग्गाधनी बलियो भएको तर्क गरे । मन्त्री खनालले सबैलाई भरोसा दिलाए, ‘क्रान्तिका बेला पुर्जा जलाइए पनि अब नयाँ ढंगले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सरकार लागिपरेको छ ।’

राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले अब आर्थिक क्रान्तिमार्फत देशलाई विकसित तुल्याउँदै समाजवादको दिशामा सरकार र दलका नेता अघि बढेको दाबी पनि उनले गरे । ‘कृषिमा लगानी गरेर उत्पादन बढाउने योजनामा सरकार छ,’ उनले भने, अब तपाईंहरू बैंकबाट पैसा निकालेर उत्पादनमुखी व्यवसायमा लगानी गर्नुस् । सरकार सहयोग गर्न आतुर छ ।’ कृषियोग्य जमिन बचाउन भूमिसम्बन्धी नीति, भू–उपयोगसम्बन्धी नयाँ कार्ययोजना र कार्यक्रम ल्याउने गृहकार्य भइरहेको पनि उनले बताए ।

पुर्जा बैंकमा राखेर विभिन्न व्यवसाय गर्न, औषधि उपचार गर्न र छोराछोरी पढाउन ऋण निकाल्न पाइने भएपछि मन्त्री खनालको हातबाट धनीपुर्जा लिएकी लक्ष्मी कुँवर अहिले फुरुंग छिन् । ‘दु:ख गरेर जोडेको सम्पत्तिको प्रमाण नहुँदा ऐलानीमा बसेजस्तो भएको थियो,’ धनीपुर्जा पटुकीमा राख्दै उनले भनिन्, ‘अब भने धेरै खुसी मिलेको छ ।’

अब उनीजस्ता धेरै जग्गाधनीले कानुनी प्रक्रिया पूरा गरेर छोरालाई अंश पास गरिदिन पाउने भएका छन् । प्रमुख नापी अधिकृत खिमबहादुर रानाले नगरको वडा २ मा १ सय ४ जग्गाधनीलाई पुर्जा बाँडेको बताए । ‘यहाँ डिजिटल प्रविधिमार्फत पुर्जा बनाइएको हो,’ उनले भने, ‘पुर्जा तयार पार्न झन्डै डेढ वर्ष लाग्यो ।’

जिल्लाका ६१ मध्ये २१ वडामा पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ । ६ वटा वडामा असार मसान्तभित्र वितरण गर्ने योजना रहेको रानाले सुनाए । बाँकी ३४ वटा वडामा जनशक्ति अभावले समयमै काम सम्पन्न गर्न कठिनाइ परेको उनले सुनाए । फिल्डमा खटिने अमिन ४० जनाको दरबन्दी छ । अहिले २१ जनाले काम गरिरहेको उनले बताए । सर्वेक्षक २० जनाको दरबन्दीमा १२ जना मात्रै छन् । जनशक्ति अभावले छिटोछरितो काम गर्न नसकिएको उनले बताए । नापी अधिकृत दुई जनाको दरबन्दी छ तर एक जना पनि छैनन् ।

प्रकाशित : जेष्ठ २६, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?