१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

घनश्याम गौतम

गुल्मी — शिलान्यासको झन्डै १२ वर्षपछि निर्माण भएको रेसुंगा विमानस्थलमा शुक्रबार तारा एयरलाइन्सले परीक्षण उडान गरेको छ । रेसुंगा नगरपालिका–१० सिमीचौरस्थित विमानस्थलमा तारा एअरको नाइन एनएकेएल कल साइनको टीनअटर विमानले सफल उडान गरेको हो ।

रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

विमानस्थलको प्राविधिक पक्षको परीक्षण गर्न गरिएको उडान सफल भएको क्याप्टेन सन्तोष साहले बताए । उनको नेतृत्वमा १८ सिटे विमान चालक दलका थप ४ सदस्यसहित धुले धावनमार्ग हुँदै अवतरण भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले बिहान १० बजे नै उडान गर्ने तयारी गरेको थियो । त्यसका लागि प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, केबलकार व्यवसायी चन्द्र ढकालसहितको टोली मनाङ एयरको हेलिकप्टरमार्फत विमानस्थल पुगेको थियो । तर, मौसम प्रतिकूल भएपछि टोली दिउँसो फिर्ता भएको थियो । मौसम प्रतिकूल भएपछि विमानले बेलुकी पौने ४ बजे उडान गरेको थियो ।

विमानस्थलको ०६३ मा तत्कालीन पर्यटनमन्त्री रहेका ज्ञवालीले शिलान्यास गरेका थिए । ‘गुल्मीवासीको लामो समयदेखिको एउटा आकांक्षा पूरा भएको छ,’ उनले भने, ‘यससँगै विकास र समृद्धिका लागि जोडिन सक्ने योजना बनाएर कार्यान्वयन गर्नु जरुरी छ ।’ उनले जिल्लाको पर्यटकीय र धार्मिक महत्त्व बोकेको रेसुंगासम्म जाने केबलकार निर्माण योजनाको सम्भाव्यता अध्ययन सुरु भइसकेको बताए । '

विमान आउने खबरले हजारौं सर्वसाधारण स्वस्फूर्त रूपमा विमानस्थल पुगेका थिए । सदरमुकाम तम्घासबाट झन्डै ७ किमि दूरीमा रहेको विमानस्थल अझै निर्माणाधीन छ । विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार ७८ रोपनी १० आना क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थलको अहिले ५ सय ५० मिटर लम्बाइमा धावनमार्ग निर्माण भएको छ । २ सय मिटर चौडाइ छ । तर, नियमित उडानका लागि वर्षापछिको समय कुनुपर्ने उनले बताए । ‘अहिले परीक्षण उडानमा हामी सफल भएका छौं,’ उनले भने, ‘नियमित उडानका लागि वर्षापछिको समय कुनुपर्ने बाध्यता छ ।’ विमानस्थल निर्माणमा अहिलेसम्म १४ करोड १७ लाख ८० हजार रुपैयाँ खर्च भएको उनले बताए ।

नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर दिनेश परियारले तत्काल धुले धावनमार्ग निर्माण गरेर परीक्षण उडान गरिए पनि व्यवस्थापनका केही काम बाँकी रहेकाले नियमित उडान गर्न समय लाग्ने बताए । ‘अहिले परीक्षण मात्र गरिएको हो,’ उनले भने, ‘कन्ट्रोल टावर निर्माण, धावनमार्गको रेखांकन र भवन निर्माण नियमित उडानका लागि आवश्यक पूर्वाधार हुन् ।’ ती पूर्वाधार तयार भएपछि उडान नियमित हुने उनले बताए ।

परीक्षण उडानका लागि प्राधिकरणले भरतपुर विमानस्थलमा कार्यरत ट्राफिक एयर कन्ट्रोलर र प्राधिकरणकै इन्जिनियरलाई यहाँ खटाएको थियो । परराष्ट्रमन्त्री ज्ञवाली र महानिर्देशक गौतमले विमानस्थलको धावनमार्ग कालोपत्रे र अन्य आवश्यक संरचना निर्माण तत्काल सुरु हुने बताए । निर्माण उपभोक्ता समितिले विमानस्थलको पूर्वाधार निर्माणका लागि ३० करोड रकम आवश्यक रहेको जनाएको छ । रेसुंगा प्रदेश ५ का पहाडी जिल्लालाई हवाई सेवाबाट जोड्ने पहिलो विमानस्थल हो । यसबाट गुल्मीसँगै अर्घाखाँची, बाग्लुङ र प्यूठान जिल्ला जोडिनेछन । सबै जिल्लामा विमानस्थलसँग सडक पहुँच पुगेको छ ।

प्रकाशित : जेष्ठ २७, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?