साहित्यलाई पर्यटनसित जोड्न सुझाव

लेखन प्रवृत्तिबारे बहस
दुर्गालाल केसी

दाङ — कला, साहित्य, लेखन प्रवृत्ति र पर्यटन विकासबारे तुलसीपुरमा दुई दिनसम्म छलफल भएको छ । राष्ट्रिय स्तरका लेखक, कलाकार, पत्रकार र स्थानीय तहका विकास अभियन्ताबीच भएको अन्तक्र्रियामा साहित्यलाई पर्यटन विकाससित जोड्नुपर्नेमा जोड दिइएको हो ।

साहित्यलाई पर्यटनसित जोड्न सुझाव

‘पर्यटन र विकासका लागि साहित्य’ मुख्य नारासाथ गरिएको उत्सवमा विभिन्न विषयविज्ञले आफ्ना विचार राखेका थिए । ‘अबको विकास’ विषयमा विश्लेषक हरि रोका, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र प्रदेश योजना आयोगका सदस्य रमेश अधिकारीले आ–आफ्ना तर्क राखे । संघीय संरचनाको कार्यान्वयनसँगै स्थानीय तहमा विकासका सम्भावना बढेको उनीहरूले बताए । भौतिक मात्रै नभई मानवीय विकासमा पनि ध्यान दिनुपर्नेमा उनीहरूको जोड थियो । समाजको समावेशी विकास गर्दै नागरिकको चेतनास्तर वृद्धि गर्न आवश्यक रहेको उनीहरूले बताए । विकास बहसको सहजीकरण पत्रकार बसन्त बस्नेतले गरेका थिए ।


‘अक्षरमा दु:ख’ विषयमा हास्य कलाकार एवं लेखक मदनकृष्ण श्रेष्ठले विचार प्रस्तुत गरेका थिए । उनले अक्षरको माध्यमबाट कसरी दु:खका कथाहरू व्यक्त गर्न सकिन्छ भन्नेबारे विमर्श गरे । ‘दु:खबाट अरूलाई प्रेरणा दिनुपर्छ । सबैलाई दु:खी बनाउनेभन्दा जीवनमा उत्साह दिने खालको लेखन आवश्यक छ,’ उनले भने, ‘अनेक खालका पीडाका बाबजुद पनि जीवन अघि बढाउनुपर्छ । जीवनमा निराशा आउनु हुँदैन ।’ उनले स्वर्गीय श्रीमतीको सम्झनामा ‘खोलावारि खोलापारि पीपलु र बर...’ बोलको गीत गाएका थिए ।


‘आजको नेपाली आख्यान’ बारे कवि रमेश क्षितिज, साहित्यकार अमर न्यौपाने र लेखक प्रमोद धितालले बोले । लेखक एवं पत्रकार दीपक सापकोटाले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनीहरूले अहिले आख्यानका क्षेत्रमा भइरहेका नयाँ प्रयोगबारे व्याख्या गरेका थिए । कवितामा पनि गुटगत प्रवृत्ति बढेको गुनासो गर्दै उनीहरूले एकथरी प्रगतिशील साहित्यलाई मात्रै रचना ठान्ने र अर्कोथरीमा समाजलाई चेतना दिने कुरालाई महत्त्व नै नदिने समस्या रहेको विचार व्यक्त गरेका थिए । ‘लेखन : किन, कसरी र कसलाई’ विषयमा साहित्यकारहरू अमर न्यौपाने र शिवानीसिंह थारूले बहस गरे । पत्रकार विमल आचार्यले सहजीकरण गरेको यस छलफलमा लेखनको लक्षित समूहबारे व्याख्या गरिएको थियो । न्यौपाने र थारूले साहित्य सिर्जना गर्दा जहिले पनि आफूलाई पाठक ठानेर काम गर्नुपर्ने बताए । प्रकृति र समाजको यथार्थ चित्रण साहित्यमा हुनुपर्ने उनीहरूको विचार थियो ।


‘दाङको साहित्यिक र सांस्कृतिक पहिचान’ विषयमा थारू संस्कृतिका जानकार अशोक थारू, साहित्यकार नारायण नेपाल र लोकसंस्कृतिका अध्येता गोविन्द आचार्यले बहस गरेका थिए ।


पत्रकार एवं लेखक वसन्त विवश आचार्यले सहजीकरण गरेको उक्त बहसमा वक्ताहरूले दाङ साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताए । कार्यक्रममा लेखकहरू महेश चौधरी, भावना न्यौपाने र खगेश्वर भण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रम उद्घाटन गर्दै जिल्लाका अग्रज लेखक तथा पत्रकार नारायणप्रसाद शर्माले साहित्य र लेखनबारे बहस हुन जरुरी रहेको बताए ।

प्रकाशित : जेष्ठ २९, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?