३ स्थानीय तहद्वारा जलजलामा दाबी

मन्दिरको भेटीमा सबैको दाबी
काशीराम डाँगी

रोल्पा — जिल्लाका तीन स्थानीय तहले धार्मिकस्थल जलजला आफ्नो क्षेत्रमा पर्ने दाबी गरेपछि विवाद सुरु भएको छ । रोल्पा नगरपालिका, थबाङ र सुनछहरी गाउँपालिकाले जलजलाको भूगोल आफ्नोमा पर्ने दाबी गरेका हुन् ।

३ स्थानीय तहद्वारा जलजलामा दाबी

जलजलामा वर्षमा तीनपटक बराह पूजा लाग्छ । यसको क्षेत्र साबिकका थबाङ, मिरुल, धबाङ, जेलबाङ र उवा गाविसमा रहेको थियो । नयाँ संरचनापछि उक्त क्षेत्र रोल्पा नगरपालिकासहित तीन तहअन्तर्गत बाँडिएको हो । यसलाई आधार मानेर धार्मिक पर्यटन विकासको चर्चा चलिरहेको छ । भूगोललाई लिएर विवाद भएपछि यस क्षेत्रको भौतिक विकासमा भने बाधा हुने देखिन्छ ।


त्यहाँका मन्दिर, पोखरी तथा गुफा क्षेत्रको आम्दानी थबाङले लिँदै आएको थियो । साबिकका उवा, थबाङ र मिरुल गाभेर बनाइएको थबाङ गाउँपालिकाले अहिले पनि एकलौटी आम्दानी लिने योजना बनाएको छ । ‘जलजलाबाट हुने आम्दानी थबाङले लिन्छ । वर्षौंदेखि चलिआएको हो,’ थबाङका पूर्वशिक्षक ग्रीस पुनले भने, ‘नयाँ परिवेशमा छलफल पनि गर्न सकिन्छ ।’ अधिकांश भूगोल आफ्नो क्षेत्रमा पर्ने दाबी गर्दै सुनछहरीले आम्दानीको हिस्सा दाबी गरेको छ । गाउँपालिका अध्यक्ष आशबहादुर पुन मगरले २० वर्षदेखि अन्तरविरोध कायम रहेको बताए । ‘जुन क्षेत्रलाई जलजला भनिएको छ, त्यो हाम्रो गाउँपालिकाभित्र पर्छ,’ पुनले भने, ‘आम्दानी पनि भूगोलअनुसार पाउनु जायज हुन्छ ।’ त्यहाँ वैशाख, जेठ र साउने पूर्णिमाका दिन बराह पूजा गरिन्छ । त्यसबेला जिल्लाबाहिरबाट श्रद्धालुको भीड लाग्ने गर्छ । त्यहाँ भेडाको बलि दिने परम्परा छ । पूजामा सहभागी भएबापत निश्चित भेटी (रकम) तिर्दै
आएका छन् ।


आम्दानीबाट साबिकको थबाङस्थित विद्यालयको खर्च जुटाउने गरिएको हो । बराह मन्दिरका पुजारीमा थबाङकै रोका मगरलाई नियुक्त गर्ने चलन छ । थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले जलजला क्षेत्रको विकास योजना बनाउने तयारीमा रहेको बताए । ‘यस क्षेत्रको विकास गर्न आउँदो वर्षमा विशेष योजना ल्याइनेछ,’ उनले भने, ‘समुद्र सतहदेखि जलजला करिब ३ हजार १ सय मिटर उचाइमा पर्छ । यस क्षेत्रमा धेरै प्रकारका जडीबुटी पाइनुका साथै विभिन्न प्रकारका जंगली जनावरसमेत छन् ।’

प्रकाशित : जेष्ठ २९, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?