पाखोबारीमा बाह्रैमास तरकारी

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका ९ घोचेखोलाका गणेश बन्जाडेले २०४१ सालदेखि तरकारी खेती गरिरहेका छन् । बाबुबाजेका पालामा करेसामा तरकारी फल्थ्यो । बिक्री गर्ने चलन थिएन ।

बजारीकरणले सदरमुकाममा तरकारीको माग बढ्यो । कर्मचारी र व्यापारीले किन्न थालेपछि अन्नखेती छाडेर बाह्रैमास तरकारी खेती गर्न थाले । अहिले मौसमी र बेमौसमी तरकारी उत्पादन गर्छन् । यस अवधिमा उनको पुँजी १० करोडको पुग्यो । तरकारीकै कमाइबाट सदरमुकाम सन्धिखर्कमा एक रोपनीमा घर, बुटवल र काठमाडौंमा घर बनाएको उनले बताए । ‘दांैतरी जागिर, व्यवसाय र वैदेशिक रोजगारीमा छन्,’ उनले भने, ‘माग बढेपछि मैले जागिर छाडेर तरकारी खेती गर्न थालें । निरन्तर गरेपछि सफल भइँदो रहेछ ।’


आलु, काउली, सिमी–बोडी, भान्टा, साग, मूला, तोराय, घिरांैला, लौकालगायत बारीमा छन् । ‘माटोमै पैसा छ,’ उनले भने, ‘कमाउन विदेश जानु पर्दैन ।’ १० रोपनी बारी र खेतमा तरकारीबाट वार्षिक १० लाख रुपैयाँ बचत हुन्छ । एक दशकयता दूध पनि बिक्री गर्छन् । १० जर्सी गाई र भैंसी छन् । एउटा गाईले १५ लिटरसम्म दूध दिन्छ । उनको देखासिकी गरेर अहिले गाउँका धेरैले तरकारी खेती गरिरहेका छन् ।


किमडाँडाका पुष्करनाथ बन्जाडेले ०४४ सालमा एसएलसी उत्तीर्ण गरेपछि अदालतमा जागिरे भए । त्यो छाडेर कुटानी पिसानी मिल किने । त्यसपछि तरकारी खेतीमा लागे । बाहै्रमास तरकारी फलाएका छन् । ‘१० हजार लिटरको ट्यांकीमा पिसाब संकलन गरेर बेलाबेलामा तरकारीको बोटमा हाले रासायनिक र गोबर मल चाहिँदैन,’ उनले भने, ‘अर्गानिक तरकारी उत्पादन भइरहेको छ ।’ सिँचाइको समस्या छ । त्यसैले आकाशे पानी संकलन गर्न एक लाख लिटर अट्ने टयांकी बनाएका छन् । काठमाडौं र सन्धिखर्कमा घर बनाएका छन् ।


‘बिहानदेखि बेलुकासम्म खटिन्छु,’ उनले भने, ‘तरकारीको बोटमा झार उम्रन नदिने, पिसाब राख्ने, गोडमेल, मलजल र स्याहारसुसार गर्छु । जति स्याहार गर्‍यो, त्यति धेरै फल्छ ।’ अहिले २० रोपनीमा घिरौंला, सिमी, बोडी, लौका, तोराय, खुर्सानी, काँक्रो, तनेबोडी, सिम्लामिर्चालगायत एक दर्जनभन्दा बढी लहरेबाली छन् । दैनिक ५ देखि ८ हजार रुपैयाँको तरकारी बिक्री हुने बताए । दुईवटा जर्सी गाई छन् । एउटाले १६ लिटरसम्म दूध दिन्छ । ‘जागिरमै रहेको भए तलबले घरखर्चबाहेक केही हुने थिएन,’ उनले भने, ‘तरकारीले ठूलै परिवर्तन भएको छ ।’ सरकारले कृषिलाई बेवास्ता गरेकाले उत्पादनको सम्भावना भए पनि ओझेलमा परेको बताए ।


अहिले किमडाँडाका ३ सयभन्दा बढीले तरकारीबाट महिनामा १५ हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बन्जाडे बताउँछन् । १० वर्षदेखि नरपानीमा तरकारी खेती गरिरहेका गुणानिधि न्यौपानेले वर्षमा ५ लाख रुपैयाँ बचत गर्छन् । उनले तरकारी सन्धिखर्क बजारमा पुर्‍याउँछन् । पाणीनि गाउँपालिका सिम्लेका चिरञ्जीवी पौडेल विदेशबाट फर्केर १० वर्षदेखि अन्तरबाली प्रणाली अपनाएर खेतीमा व्यस्त छन् । सुन्तलाका बोटमुनि अदुवा, बेसार, काउली, मूला, साग, आलु, भान्टा, पिँडालु रोपेका छन् ।


‘मलजल हुँदा सुन्तला लटरम्मै फल्छन्,’ उनले भने, ‘तरकारी र सुन्तलाबाट वर्षमा १० लाख रुपैयाँको कारोबार हुन्छ ।’ पोखराथोकबाट पाल्पाको तानसेन दैनिक बस, ट्रक र जिप चल्ने भएकाले बोरामा भरेर पठाउन सहज भएको उनले बताए । सिम्लेमा पनि ७० भन्दा बढी कृषकले व्यावसायिक तरकारी खेती गरेका छन् । ‘मिहिनेत गर्नेलाई यहीं राम्रो छ,’ उनले भने । जिल्लामा ६ स्थानीय तहमा तरकारी खेतीको राम्रो सम्भावना छ । जिल्लाको पूर्वी, उत्तर र पश्चिमी क्षेत्रमा उत्पादित वस्तु छिमेकी प्यूठान, पाल्पा र गुल्मी सदरमुकाम सहजै गइरहेको छ । तराईसँग जोडिएको जिल्ला भएकाले पहाडको उत्पादन कपिलवस्तु र रूपन्देहीको बुटवलमा पनि जान्छ ।


संघीय संरचनाअनुसार स्थानीय तहमा अधिकार भएकाले जनप्रतिनिधिले कृषि र उत्पादनमुखी बजेट पारेर उत्पादनलाई बढाउनुपर्ने कृषकको गुनासो छ । जो नेता र जनप्रतिनिधिको नजिक छ, त्यसैले फाइदा लिँदा वास्तविक कृषक मारमा परेको गुनासो उनीहरूको छ ।


वरिष्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीका अनुसार योजनाबद्ध रूपमा जनप्रतिनिधि लागे अर्घाखाँची कृषि उत्पादनमा अब्बल जिल्ला बन्छ । रोगकीरा लाग्न नदिने उपाय, थोरै जग्गामा धेरै उत्पादन गर्ने र बाली जोगाउने उपायका लागि प्राविधिक सल्लाह र तालिम आवश्यक परेको उनले बताए । ‘कृषिमा युवाको आकर्षण बढदो छ,’ उनले भने, ‘तालिम दिइरहेका छौं । अब सबै अधिकार स्थानीय तहमा गएकाले जनप्रतिनिधिले कृषिमा धेरै बजेट विनियोजन गरेर दीर्घकालीन योजना बनाउनुपर्छ ।’

प्रकाशित : जेष्ठ २९, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

बीउ राँगो वितरण

कान्तिपुर संवाददाता

अर्घाखाँची — दूध उत्पादन बढाउन भूमिकास्थान नगरपालिका र जिल्ला पशु सेवा कार्यालयले कृषकलाई १० वटा उन्नत जातका मुर्रा राँगो वितरणको खबरले ढिकुराका ओमप्रकाश खनाल उत्साहित छन् ।

मुर्रा राँगोको वीर्य र स्थानीय जातको भैंसीबाट जन्मिएकाले ६ लिटरसम्म दूध दिने उनको दाबी छ । ‘ब्याएको एक वर्ष अवधिमै भंैसी फेरि गर्भाधान हुन्छ । त्यसैले भंैसीलाई उन्नत राँगो नै लगाइदिन्छु,’ उनले भने, ‘त्यसैबाट धेरै दूध उत्पादन गर्ने र बिक्री गरेर परिवार पाल्ने खर्च जुटाउँछु ।’


भैंसीको दूध प्रतिलिटर ५५ रुपैयाँमा बिक्री हुन्छ । दुई–चारवटा भैंसी पाल्न घाँस प्रशस्त छ । विदेश कतै नगई भैंसी पालन व्यवसाय सञ्चालन गर्ने मन रहेको उनले बताए । दुई दुहुना भैंसी र दुई पाडी छन् । ‘भैंसी पालन विस्तार गर्छु,’ उनले भने, ‘दूध बेचेर घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउँछु ।


रोजगारी खोज्दै विदेश जान्न ।’ गोठमा भैंसी र बाख्रा छन् । खेतबारीमा मलका लागि पालिएका छन् । ढिकुराबाट सन्धिखर्क बजार नजिकै छ । १ सय ५० कृषकले बिहान १, २ लिटर दूध बोकेर बजार पुग्छन् । ‘नुन, तेल र चामल किन्न गुजारा चलेको छ,’ शान्ता खनालले भनिन्, ‘व्यावसायिक रूपमै पाल्ने योजना छ । एउटा दुहुनो र अर्काे ब्याउने छ । तीन पाडी छन् ।’

प्रकाशित : जेष्ठ २९, २०७५ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्