नेपालगन्ज–दिल्ली उडान माग

बुद्ध एयरले दिल्ली उडान भर्न लागेको छ
ठाकुरसिंह थारू

नेपालगन्ज — स्थानीय सरोकारवालाले नेपालगन्ज–दिल्ली उडानका लागि भारतीय सरकारसँग अनुमति माग गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार गरेको छलफलपछि सांसद, स्थानीय तहका प्रमुख र राजनीतिक दलका नेताले यस्तो माग गरेका हुन् ।

नेपालगन्ज–दिल्ली उडान माग

उपमहानगरपालिकाले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पहल थालेपछि अनुमति माग गरिएको हो । त्यसका लागि सरकारसँग पटक–पटक माग गर्दै आएको छ ।

सरकारले यसपालि बजेटमा नेपालगन्ज विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्ने उल्लेख गरेको छ । उपमहानरपालिका प्रमुख धवलशमशेर राणाले नेपालका लागि भारतीय राजदूतलाई सम्पर्क गरी उडान अनुमतिका लागि पहल गर्न आग्रह गरेको जनाए ।

भारतीय राजदूतले नेपाल सरकारमार्फत पहल गर्न सुझाएका छन् । उपमहानगरपालिकाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहल गरिदिन पत्र पठाएको छ । ‘हामीले नेपालगन्ज–दिल्ली सोझो उडानका लागि सरकार प्रमुखलाई पत्र पठाएका छौं । सकारात्मक जवाफ आउने विश्वास गरेका छौं,’ राणाले भने, ‘भारतीय सरकारले अनुमति दिएलगत्तै उडान सुरु हुनेछ ।’ बुद्ध एयरले यहाँबाट दिल्ली उडान गर्ने जनाएपछि सरोकारवाला उत्साहित छन् ।


नेपालगन्ज विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले नेपालगन्ज–दिल्ली हवाई उडानका लागि एयर ट्राफिक खाली रहेको बताए । नेपालगन्ज उडानका लागि महेन्द्रनगरको रुट प्रयोग गर्न सकिने जनाए । ‘त्यसका लागि भारत सरकारले अनुमति दिनुपर्छ । नेपाल सरकारले औपचारिक रूपमा अनुुुुुुुुमतिका लागि पहल गर्न आवश्यक छ,’ उनले भने, ‘नेपाल सरकारले चाह्यो भने उडान सम्भव छ ।’ विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन स्थानीय सरकार प्रमुुखले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले आर्थिक सहयोग गर्ने जनाएका छन् । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन धावन मार्गको विस्तारलगायत भौतिक पूर्वाधार निर्माण आवश्यक छ । नेपालगन्ज–दिल्ली हवाई उडान तयारी छलफलमा सहभागी नेकपाका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी र सरकार स्तरबाटै पहल थाल्ने प्रतिबद्धता जनाए ।


‘नेपालगन्ज–दिल्ली हवाई उडानका लागि सरकार प्रमुखसँग कुरा गर्छु,’ उनले भने, ‘नेपालगन्जलाई दिल्लीसँग जोड्न सक्ने हो भने यस क्षेत्रको आर्थिक विकासमा ठूलो सहयोग पुग्नेछ ।’ संघीय सरकारका सांसद महेश्वर गहतराज, प्रदेश सांसद आईपी खरेलले नेपालगन्ज विमानस्थलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पहल भइरहेको र संसदमा मुद्दा उठाउँदै आएको जनाए ।


नेपालगन्ज–दिल्ली उडानले प्रदेश ५, कर्णाली र प्रदेश ७ लाई प्रत्यक्ष जोड्नेछ । हवाई मार्गबाट नेपालगन्ज–दिल्लीबीचको दुरी एक घण्टामा खुम्चिनेछ । काठमाडौंपछि व्यस्त रहने नेपालगन्ज विमानस्थलबाट भारतको दिल्ली उडानका लागि सबैभन्दा छोटो रुट हो । हवाई उडान सञ्चालन भए लाखौं भारतीय पर्यटक नेपाल भित्रिनेछन् । हाल भारतको लखनउबाट मात्रै वार्षिक ३० हजारको हाराहारीमा तीर्थयात्री हुम्लाको सिमकोट हुँदै मनसरोवर जाने गरेको तथ्यांक छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?