१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अत्यधिक गर्मी: विद्यार्थी र मजदुर मारमा

चार छात्रछात्रा बेहोस
केही विद्यालय बन्द
दैनिकी कष्टकर हुँदै

भैरहवा — तीन दिनयता पश्चिम तराईका जिल्लामा गर्मीले जनजीवन कष्टकर बनेको छ । तापक्रम ह्वात्तै बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित बनेको हो । विद्यार्थी, कामकाजी र ज्याला मजदुरी गर्ने बढी मारमा छन् ।

अत्यधिक गर्मी: विद्यार्थी र मजदुर मारमा

घामले पोलेका बेला छिनछिनमा बिजुली काटिने समस्याले थप मर्का परेको छ । भैरहवामा गर्मीले सर्वसाधारण उकुसमुकुस छन् । बिहानै चर्किने घामले जनजीवन ठप्पजस्तै छ । बस्ती, सडक र बजार सुनसान देखिन्छन् ।


गर्मीले आलसतालस भएका बेला झ्यापझ्याप बत्ती जाने समस्याले थप पीडित बनाएको छ । शनिबारदेखि मौसममा परिवर्तन आएर गर्मी बढेको हो । गौतम बुद्ध विमानस्थलस्थित मौसम शाखाका अनुसार शुक्रबार अधिकतम तापक्रम ३३ दशमलव १ डिग्री सेल्सियस थियो । लगातार बढेर सोमबार अधिकतम ३९ डिग्री पुग्यो ।


थेग्न नसकेपछि भैरहवाका निजी विद्यालयले सोमबार दुई दिनका लागि पठनपाठन बन्द गरे । पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको जनाए । भीम अस्पतालमा आएका बिरामीमध्ये धेरै विद्यार्थी र मजदुर छन् । आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी गोपाल उपाध्यायले गर्मीले चक्कर लाग्ने र मुर्छा पर्ने समस्या धेरै देखिएको बताए । ‘यस्तै गर्मी तीन/चार दिन कायम हुने हो भने बिरामीको चाप थेग्न मुस्किल पर्छ,’ उपाध्यायले भने ।


विद्यार्थी बेहोस
बर्दियामा दिउँसो तापक्रम ४० डिग्रीभन्दा माथि हुन्छ । घरबाहिर निस्कने अवस्था छैन । मधुवन नगरपालिका प्रमुख गणेश केसीका अनुसार गर्मीले गुराँस माविका तीन विद्यार्थी बेहोस भए । सोमबार शुक्र माविमा एक विद्यार्थी बेहोस भएको केसीले बताए । मुस्किल भएपछि नगरपालिकाले मातहतका विद्यालयलाई अनिवार्य बिहानी कक्षा चलाउन भनेको छ । गर्मीबाट बच्न स्वास्थ्यकर्मीले चिसो पानी वा झोलिलो पदार्थ पिउन सुझाव दिए । पातलो लुगा लगाउने, चर्को घाममा बाहिर नजान र निस्कनै परे छाता, चस्मा, टोपी प्रयोग गर्न बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुभास पाण्डेयले सुझाव दिए ।


जिल्लामा तातो हावा चल्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घाममा ननिस्कन आग्रह गरेका छन् । अघोषित लोडसेडिङका कारण सास्ती भोग्नु परेको स्थानीयले बताए । विद्युत् प्राधिकरण प्रमुख अवधेशकुमार गुप्ताले कोहलपुरस्थित सबस्टेसन बेलाबेलामा बिग्रेका कारण समस्या हुँदै आएको जनाए ।


चहलपहल घट्यो
नेपालगन्जको न्यूनतम तापक्रम करिब २८ डिग्री पुगेको यहाँस्थित हावापानी फिल्ड कार्यालयका निमित्त प्रमुख पलबहादुर विश्वकर्माले बताए । उनका अनुसार अत्यधिक तापक्रम ३९ डिग्रीसम्म पुगेको छ । यसअघि नेपालगन्जको तापक्रम ४२ डिग्रीसम्म पुगेको थियो । ‘नेपालमा मनसुन प्रवेशसँगै पश्चिमी सुक्खा हावाको बहाव बढेको छ । आकाशमा तातो हावा छ । भुइँ तातेको छ,’ उनले भने, ‘यस्तो मौसममा खलखली पसिना आउँछ । मान्छेलाई छटपटी हुन्छ ।’ यहाँ चहलपहल घटेको छ । विभिन्न किसिमका संक्रमण सुरु भएका छन् । आँखा पाक्ने, टाउको दुख्ने र छालासम्बन्धी रोगका बिरामी बढेका हुन् । गर्मीमा झाडापखाला, हैजाको संक्रमण फैलिन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । त्यसका लागि बासी र सडेगलेका खानेकुरा नखान, सफा पानी पिउन र सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।


तातो रापले कपिलवस्तुका सर्वसाधारण घरभित्रै रहन थालेका छन् । आइतबार र सोमबार यहाँ अत्यधिक गर्मी रह्यो । आइतबार ३९ दशमलव १ डिग्री सेल्सियस तापक्रम पुगेको रामनगरस्थित जल तथा मौसम विज्ञान विभाग इकाइका रामु रेग्मीले बताए । उनका अनुसार सोमबार बढेर ४० डिग्री सेल्सियस पुग्यो । सोमबार बिहानदेखि घाम चर्केको थियो । तापक्रम बढ्दा यहाँको जनजीवन कष्टकर बनेको छ । ‘दिनभर घरभित्रै बस्छौं,’ गृहिणी सुशीला अर्यालले भनिन्, ‘स्कुल गएका छोराछोरी लिन जानै मुस्किल छ ।’ सर्वसाधारणलाई हिँडडुल गर्न सास्ती भइरहेको छ । छिटफुट रूपमा हिँड्ने पनि टाउको छोपेर हिँड्छन् । रिक्सा चलाएर ७ जनाको परिवार पाल्ने सिकटवाका रामदास यादवले एक/दुई दिनयता कमाइ हुन छाडेको बताए । ‘कोही बाहिर निस्कँदैनन्,’ उनले भने । गर्मीले बिरामी बढेका छन् । जिल्ला अस्पतालमा ४ दिनदेखि बिरामीको चाप बढेको छ । दैनिक ६० देखि ७० जना बिरामी आउने गरेकामा अहिले सय नाघेको अस्पतालका मेसु किशोर बन्जाडेले बताए ।


जनजीवन प्रभावित
पश्चिम नवलपरासीको सदरमुकाम सुनसानजस्तै छ । दुई दिनदेखि बढेको गर्मीले अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्किँदैनन् । सदरमुकाम मात्र होइन जिल्लाका अधिकांश व्यस्त बजार सुनवल, भुमही, बर्दघाटमा चहलपहल छैन । सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ । गर्मीले विद्यार्थी, वृद्ध र मजदुरलाई प्रभावित तुल्याएको छ । परासी क्षेत्रको तापक्रम ४० डिग्री हाराहारी छ । जिल्ला अस्पतालमा छाला, झाडापखाला र आँखाका रोगी बढेका छन् । चिसो पदार्थ र फलफूलको व्यापार बढेको छ । उखुको रस, खरबुजा र जुस व्यापारीलाई भ्याइनभ्याइ छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?