१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

देवदहका विद्यालयमा बौद्ध शिक्षा

अमृता अनमोल

बुटवल — रूपन्देहीको देवदह नगरपालिकाले बौद्ध शिक्षालाई स्थानीय पाठ्यक्रमका रूपमा लागू गरेको छ । अनिवार्य विषयका रूपमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ लागू गरिएको हो । यसले विद्यार्थीलाई जन्मभूमिप्रति आस्था र चरित्रवान् बनाउने विश्वास लिएको छ ।

देवदहका विद्यालयमा बौद्ध शिक्षा

नगरपालिकाले गत वर्ष कक्षा ६ बाट यसको पढाइ सुरु गरेको थियो । यस वर्ष ७ कक्षामा समेत पढाउन थालेको छ । देवदहका ३० विद्यालयमा उक्त विषय पढाइ हुनेछ । अंग्रेजी र नेपाली भाषामा तयार पाठ्यपुस्तक स्थानीय सामुदायिक र निजी विद्यालयमा पढाइन्छ ।

यसमा नैतिकता र असल कर्मका लागि बुद्धका पञ्चशीललाई प्राथमिकता दिइएको छ । नगरपालिका प्रमुख हीराबहादुर खत्रीले अनुशासित र चरित्रवान् बनाउन बौद्ध शिक्षा सुरु गरेको बताए ।

‘बालबालिकालाई कुलतबाट बचाउने र घरघरमा बौद्ध शिक्षा पुर्‍याउने उद्देश्य हो,’ उनले भने । स्थानीय पाठ्यक्रम भएकाले यसलाई नैतिक र परोपकारसित जोडिएको छ । कसरी असल बन्ने, खराब काम त्याग्ने, दु:खबाट छुटकारा पाउने र भलो हुने काम बुद्ध शिक्षाका मर्म हुन । ‘पाठ्यक्रमले विद्यार्थीमा निकै राम्रो प्रभाव पार्‍यो,’ प्रशासकीय अधिकृत श्रीकृष्ण नेपालले भने, ‘प्रभाव देखेर माथिल्लो कक्षासम्म पुर्‍याउने योजना बनाएका हौं ।’

कथा, निबन्ध र सूत्रका माध्यमबाट यस्तो शिक्षा बुझाउने गरिएको छ । योग र अभ्यास माध्यमबाट बुझ्ने बनाइएको छ । बुद्ध र उनको मावली देवदहबारे पढ्न पाउँदा विद्यार्थी खुसी छन् । केरवानी माविमा कक्षा ७ की छात्रा उषा कुँवरले बुद्ध शिक्षाका हिंसा नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु, सदाचारी रहनु र जाँडरक्सी नखानु भन्ने उपदेशले प्रभावित भएको बताइन् । ‘बुद्धका उपदेशबाट आफैंलाई चिन्ने मौका पाएका छौं,’ उनले भनिन्, ‘असल व्यक्ति बन्ने अभ्यास गर्न मिलेको छ ।’ देवदह माविका छात्र मनीष शर्माले आमाबाबु र गुरुप्रति सम्मानको भाव बढेको बताए । ‘देवदहको ऐतिहासिक महत्त्वबारे जान्न पायौंं,’ उनले भने, ‘ठूलालाई आदर, सानालाई माया, दु:खीलाई सहयोग र साँचो बोल्न पनि सिकेका छौं ।’

पाठ्यक्रम निर्माणका लागि ३ वर्षअघि सिद्धिचरण भट्टराईको संयोजकत्वमा ११ सदस्यीय समिति बनेको थियो । यसले लुम्बिनी बौद्ध विश्वविद्यालयको सहयोगमा पाठयक्रम बनाएको हो । ‘बुद्धको जीवनी र उपदेशका साथै देवदहको परिचय र महत्त्व समेटेका छौं,’ लेखक निर्मल ढुंगानाले भने, ‘देवदह पुरातात्त्विक र बुद्ध मावली भएकाले यसो गरेका हौं ।’

लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पस प्रमुख फणीन्द्रकुमार न्यौपानेले बुद्धका उपदेशसँगै बालबालिकालाई मिहिनेत गर्ने र अनुशासित बन्ने बानीलाई जोड दिएको बताए । ‘किशोर उमेरमा हुने चञ्चलता र कुलतमा लाग्न सक्ने अवस्थाबाट जोगाएर सतचरित्र र परोपकारी विद्यार्थी बनाउनु प्रमुख लक्ष्य हो,’ उनले भने, ‘यसलाई सरल माध्यमबाट राखिएको छ ।’ नगरपालिकाले कम्प्युटर विषयलाई ६० अंकको बनाएर बौद्ध शिक्षा लागू गरेको हो । यो ४० अंकको छ । १० अंकको प्रयोगात्मक अभ्यास र ३० को सैद्धान्तिक विषय समावेश गरिएको छ । यसलाई क्रमश: कक्षा १२ सम्म पुर्‍याउने योजना छ । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले देवदहबाट सुरु भएको बौद्ध शिक्षालाई मुलुकभर फैलाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?