ढिलासुस्ती गर्ने ठेकेदारलाई सचेत

हरि गौतम

रुकुम पूर्व — जिल्ला प्रशासनले चिठी काटेर विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई सचेत गराएको छ । तीन पक्की पुल, एउटा झोलुंगे र अर्को सडक विस्तारमा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले बताए ।

ढिलासुस्ती गर्ने ठेकेदारलाई सचेत

रुकुमगाड खोला पक्की पुल निर्माणको जिम्मा लिएको याकथुम्हाङ/बीबी जेभी निर्माण सेवा, सानोभेरी (तरबरा) सडक पुल पोखरा–रुकुमकोट निर्माणको जिम्मा लिएको मृत सञ्जीवनी निर्माण सेवा, लुकुमखोला पक्की पुल दोमई निर्माणको जिम्मा लिएको मृत सञ्जीवनी निर्माण सेवालाई सचेत गराइएको सापकोटाले जनाए । छिपतारा झोलुंगे पुल निर्माणको जिम्मा लिएको अकेला वाविरो जेभी निर्माण सेवा र काँक्री–विरगुम–मैकोट सडक विस्तार आयोजनाको जिम्मा लिएको पम्पु कोसी एण्ड न्यौपाने निर्माण सेवालाई ढिलासुस्ती नगरी काम गर्न सचेत गराइएको छ ।

योजना/आयोजना निर्माण कम्पनीको पछिल्लो प्रगतिसहित सम्बन्धित सम्झौता भएका निकायलाई जानकारी गराइएको र ढिलासुस्ती गर्नेहरूको सूची गृह मन्त्रालयमा पठाइएको प्रजिअ सापकोटाले बताए । ‘ढिलासुस्ती भएको पाइयो, सम्पन्न भइसक्नुपर्ने योजना तथा आयोजनाहरूको भर्खर काम सुरु भएको छ, कामलाई तीव्रता दिन भन्दै सचेत गराइएको छ,’ प्रजिअ सापकोटाले भने । ५ वर्षअघि निर्माण थालिएको रुकुमगाड खोला पक्की पुल निर्माण योजनाको भर्खर ५० प्रतिशत मात्रै काम भएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल सिस्ने र भूमे गाउँपालिका जोडने महत्त्वपूर्ण मानिन्छ । यो पुल नबनेकै कारण हरेक वर्षको वर्षा याममा रुकुमगाड खोलाले गाडी र सर्वसाधारणलाई वारपार गर्न सकस हुने गर्छ । यो असारमा सम्पन्न हुने गरी जिल्ला प्राविधिक कार्यालय रुकुम पश्चिममा सम्झौता गरिएको सानोभेरी (तरबरा) सडक पुल निर्माणको प्रगति १० प्रतिशत मात्रै भएको छ ।

सिस्ने गाउँपालिकाका २ वडासहित रुकुम पश्चिम हुँदै डोल्पासम्म सडक जोड्ने यो महत्त्वपूर्ण सडक पुल हो । लुकुमखोला पक्की पुल दोमई निर्माणको प्रगति ४० प्रतिशत छ । रोल्पाबाट रुकुमपूर्व जोडने यो पुल सहिद मार्ग सडक आयोजनाअन्तर्गत पर्छ । एक वर्षअघि निर्माण थालिएको छिपतारा झोलुंगे पुल निर्माणको प्रगति १५ प्रतिशतमात्रै छ भने सहिद मार्ग सडक आयोजनाअन्तर्गतको काँक्री–विरगुम–मैकोट सडक विस्तार आयोजनाले हालसम्म ३० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

काँक्री–विरगुम–मैकोट सडक विस्तार आयोजना रुकुमपूर्वको महत्त्वपूर्ण आयोजना हो । सरकारले यही आयोजनामार्फत हालसम्म पनि सडक नपुगेको रन्मामैकोटसम्म सडक पुर्‍याउने लक्ष्य लिएको छ । रोल्पाबाट रुकुमपूर्वको चुनावाङ, महत हुँदै काँक्री, तकसेराबाट माथिको भूगोलमा सडक पुर्‍याउने लक्ष्य सरकारले राखेको छ ।

प्रकाशित : असार ३, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?