सैनामैनामा ‘आधुनिक कृषि योजना’

बुटवल — सैनामैना नगरपालिकाले आधुनिक कृषि योजनाका लागि गृहकार्य थालेको छ । नयाँ योजना साउनदेखि लागू हुनेछ ।

सैनामैनामा ‘आधुनिक कृषि योजना’

नगरप्रमुख चित्रबहादुर कार्कीका अनुसार त्यसमा कृषिभूमि बाँझो राख्न तथा टुक्र्याउन नपाउने व्यवस्था छ । जग्गा बाँझो हुन नदिन करारमा किसानलाई खेती गर्न दिने नीति ल्याइने नगरपालिकाले जनाएको छ ।


आधुनिक तथा मुनाफासहितको खेती गर्न अनुदानका कार्यक्रम चलाउने व्यवस्था गरिनेछ । ०६८ को जनगणनाअनुसार ५५ हजार ८ सय २२ जनसंख्या रहेकोमा अहिले दोब्बर पुगेको छ । तीव्र बसाइँसराइ र जग्गा व्यवसायप्रतिको आकर्षणले कृषि भूमि घडेरीमा परिणत भइरहेका छन् । भएको भूमि जोगाउन र उत्पादन बढाउन पनि यस्तो कदम चालिएको नगरप्रमुख कार्कीले बताए ।
भूमि खण्डीकरण गर्ने र बाँझो राख्ने प्रवृत्तिले उत्पादन घट्दै गएको हो । खेतीमै आश्रित किसान बेरोजगार बनेका छन् । ‘विभिन्न तहका अध्ययनले कृषिको आधुनिकीकरणबिना सैनामैनाको समृद्धि नहुने नतिजा देखायो,’ नगरप्रमुख कार्कीले भने, ‘तसर्थ, नगरलाई आधुनिक कृषिको नमुना बनाउने योजना ल्याएका हौं ।’ कृषिभूमिको बहुउपयोगका लागि जमिनदार र किसानबीच समन्वयका कार्यक्रम चलाउने उनले बताए ।


आइतबार सुरु नगरपालिकाको तेस्रो अधिवेशनमा आगामी वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । त्यसमा कृषि भूमिको उपयोग र आधुनिक कृषि प्रणालीलाई उच्च प्राथमिकता दिइएको छ । मलबीउ मात्रै होइन, कृषि उपकरणमै अनुदान दिने र कृषि प्राविधिकलाई सर्वसुलभ बनाउने कार्ययोजना छ ।


प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले उत्पादन बढाउन चक्लाबन्दी, घुम्ती बाली, नगदे बालीलगायत प्राथमिकतामा राखेको बताए । ‘पशुपालनका लागि उन्नत जातका पशु खरिद, व्यवस्थापन, घाँस आदिमा सहयोग गरिनेछ,’ उनले भने, ‘कृषि तथा पशु बिमालाई सर्वसुलभ गरिनेछ ।’

प्रकाशित : असार ४, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?