कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दूधमा ‘आत्मनिर्भर’

गाउँगाउँमा संकलन र चिस्यान केन्द्र सञ्चालनपछि किसानलाई राहत

रूपन्देही — मुलुकमा बन्द/हड्ताल ‘फेसन’ बनेका बेला यहाँका किसानलाई दूध बेच्न सास्ती थियो । विभिन्न जिल्लामा दूध समयमा बिक्री नभएपछि उनीहरू सडक र मलखादमा फ्याँक्न बाध्य थिए । लामो समयसम्म दूध चिस्यान केन्द्रको अभाव थियो तर अहिले समय बदलियो । गाउँगाउँमा संकलन र चिस्यान केन्द्र सञ्चालनपछि किसानलाई राहत मिलेको छ ।

दूधमा ‘आत्मनिर्भर’

प्रदेश ५ का अधिकांश जिल्लामा उल्लेख्य मात्रामा दूध उत्पादन हुन्छ । पछिल्लो समय पशुपालनमा युवापुस्ता आकर्षित भएपछि दूध उत्पादन बढ्दो क्रममा छ । जनसंख्या वृद्धिसँगै जिल्लामै यसको खपत बढेको हो । जिल्लाभित्र खपत नभएको दूध बाहिर पठाउने गरिन्छ । अहिले स्थानीय सरकारले दूध उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यसले पनि शिक्षित युवालाई यसतर्फ आकर्षित गरेको छ । रूपन्देहीमा दैनिक ४० देखि ४५ हजार लिटर दूध उपभोग हुन्छ । जिल्लामा ६० हजार लिटर उत्पादन हुने र त्यसमध्ये २० हजार लिटर जिल्लाबाहिर जाने गर्छ । दूधका लागि वैशाख, जेठ, असार, साउन र भदौलाई सुक्खा सिजनका रूपमा लिने गरिन्छ । राष्ट्रिय दुग्ध विकास बोर्डका प्राविधिक निर्देशक डा. बालक चौधरी भन्छन्, ‘रूपन्देही जिल्ला पशुपालनका लागि नमुना क्षेत्र हो ।’ जिल्लामा हाल २ सय ५० दुग्धजन्य व्यवसायी छन् । ‘जिल्लामा स्वावलम्बन पेसाका रूपमा साना डेरी फस्टाउँदै गएका छन्,’ चौधरीले भने, ‘यसले धेरै युवालाई पशुपालनतर्फ आकर्षित गरेको छ ।’


१० वर्षमै धेरै
अर्घाखाँची दूध उत्पादनमा अगाडि छ । यहाँ दैनिक १० हजार ५० लिटर दूध बिक्री हुन्छ । जिल्लाबाहिर २ हजार लिटर जान्छ । छत्रदेव गाउँपालिकाको मरेङ, अर्घातोष, भगवती गाउँबाट सदरमुकाम तम्घासमा मात्रै १ हजार लिटर दूध जान्छ । पाणिनी गाउँपालिकाको खिदिम, पणेना, पटैटी, पोखराथोक गाउँबाट दैनिक रूपमा पाल्पाको तानसेनसम्म दूध जाने गर्छ । शीतगंगा नगरको पावरा, विक्रमसोता, ठाडा, चाक्ला, कपिलवस्तुको पथ्थरकोट, पिपरा र चार नम्बर बजारसम्म यहाँका कृषकले दूध बेच्न लैजान्छन् । मालारानी, भूमिकास्थान गाउँपालिका र सन्धिखर्क नगरपालिकाबाट सदरमुकाम र विभिन्न बजारमा दूध खपत भएको वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले बताए ।


‘दूधको माग अत्यधिक छ,’ उनले भने, ‘अब ट्यांकरमा बुटवल र कपिलवस्तुका डेरी उद्योगमा पठाउने गरी दूध उत्पादन गर्ने लक्ष्य छ । जर्सी गाई पालेर मनग्य आम्दानी भएपछि पढेलेखेका युवासमेत यसतर्फ तानिएका छन् ।’ पटैटीको नियालीमा देउराली छुर्पी उद्योगमा दैनिक १ हजार १ सय लिटर दूध खपत हुन्छ । त्यहाँ दूधका विभिन्न परिकार बन्छन् ।


अर्घाखाँचीमा ६ स्थानमा चिस्यान केन्द्र छन् । दूध संकलन केन्द्र ५० छन् । ‘यहाँ वर्षमा ३२ हजार मेट्रिक टन दूध उत्पादन हुन्छ,’ पौडेलले भने, ‘त्यसबाट १ अर्ब ६० करोड रुपैयाँको कारोबार हुन्छ ।’ समूह र व्यक्तिमार्फत डेरीमा जाने दूधको तथ्यांकअनुसार महिनामा ९ करोड रुपैयाँको कारोबार हुन्छ ।

बाँके डुडवा गाउँपालिका कम्दीस्थित दूध डेरीमा संकलन भएको दूध नेपालगन्ज ल्याउने तयारीमा


रूपन्देहीदेखि काठमाडौंसम्म
दूधमा कपिलवस्तु आत्मनिर्भर छ । १ वर्षमा ४२ हजार २ सय मेट्रिक टन दूध उत्पादन हुन्छ । भैंसीको २८ हजार ३ सय ८० मेट्रिक टन हुन्छ भने गाईको १२ हजार ८ सय २० मेट्रिक टन उत्पादन भइरहेको छ । जिल्लामा एक व्यक्तिलाई १ सय ७० एमएल दूध आवश्यक पर्ने भए पनि यहाँ त्यसभन्दा १ सय ९० एमएल बढी उत्पादन भइरहेको कपिलवस्तु नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।

‘१० वर्षअघिसम्म दूध उत्पादन १५ हजार मेट्रिक टन पनि थिएन,’ पशु विकास अधिकृत अब्दुल सलामले भने, ‘६ वर्षदेखि निरन्तर बढ्दै गएको छ ।’ सरकारले सञ्चालन गरेको गोठ सुधार कार्यक्रम, कृत्रिम गर्भाधान र उन्नत घाँस कार्यक्रमले दूध उत्पादनमा राम्रो सहयोग पुर्‍याउँदै आएको छ । गत वर्ष २ अर्ब ६० करोडको दूध उत्पादन भएको थियो, आगामी वर्ष अझ बढ्ने सलामले बताए । बुद्धभूमि नगरपालिकाको इमिलियास्थित महालक्ष्मी दुग्ध उद्योगले दैनिक ७ हजार लिटर दूध जिल्लाबाहिर पठाउँदै आएको छ । विदेशबाट फर्केका युवाले उक्त उद्योग सञ्चालन गरेका हुन् । त्यस्तै यहाँ विकल्प उन्नत भैंसी स्रोत केन्द्र सञ्चालित छ । सहकारीले सञ्चालन गरेको यस केन्द्रले मुलुकको पूर्वदेखि पश्चिमसम्म उन्नत पाडापाडी बेचबिखन गर्छ ।


भारतबाट आयात
बाँकेका किसानले उत्पादन गरेको दूध काठमाडौंसम्म पठाउने गरिएको छ । तर, नेपालगन्ज बजार भारतीय दूधमा निर्भर छ । जिल्लामा हाल साढे ७ हजार लिटर संकलन हुने गरेको छ । नेपालगन्ज दुग्ध वितरण आयोजनाले काठमाडौं, पोखरालगायत सहरमा पठाउने गरेको हो । सहकारी संस्थामा आबद्ध किसानले उत्पादन गरेको दूध संकलन गरी बिक्री गरिँदै आएको हो । आयोजना नेपालगन्जका निमित्त प्रमुख कृष्णप्रसाद अर्यालले यहाँका बासिन्दाले उत्पादन गरेको दूध नेपालगन्जमा कमै खपत हुने गरेको बताए । ‘पोकामा सिल गरिएको दूध नेपालगन्जमा त्यति प्रयोग हुँदैन । खुला दूधका कारण हाम्रो कम खपत भएको हो,’ उनले भने, ‘त्यसैले यहाँ संकलित दूध काठमाडौं पठाइन्छ ।’ यस क्षेत्रका करिब ५० सहकारीले उत्पादन गरेको दूध आयोजनामा आउने गरेको छ । एक लिटर दूधको मूल्य किसानले ४५ देखि ५० रुपैयाँसम्म पाउने गरेका छन । प्रशोधनपछि उपभोक्ताका लागि ६६ रुपैयाँ लिटर मूल्य तोकिएको छ । तर, गर्मीमा भने दूधको उत्पादन घट्ने गरेको छ । माग बढी भएकाले अन्य स्थानका बिक्री केन्द्र डिपोबाट मगाउनुपर्ने बाध्यता छ ।


नेपालगन्जमा भने भारतबाट आयातित दूधको मात्रा दोब्बर छ । यहाँका किसानले भन्दा सीमापारिकाले कम मूल्यमा दूध बिक्री गर्ने भएकाले आयात बढेको हो । भारतीय किसानले ल्याउने दूध होटल र चिया पसलमा बिक्री हुने गरेको छ । सीमास्थित पशु क्वारेन्टाइनका अनुसार दैनिक ५ हजारदेखि ८ हजार लिटर दूध भारतबाट नेपालगन्ज आउने गरेको छ । भारतीय किसानले ३५ देखि ४५ रुपैयाँसम्म प्रतिलिटर बिक्री गर्दै आएका छन् । सीमापारिबाट बिक्रीका लागि ल्याइएको दूधमा फ्याट निकै कम मात्रामा हुने गर्छ । त्यसैले पनि उनीहरूले निकै सस्तो मूल्यमा दूध बिक्री गर्दै आएका छन् । क्वारेन्टाइनका पशु चिकित्सक रामसेवक त्रिपाठीले सयौं भारतीय किसान दूध बिक्रीका लागि नेपालगन्ज आउने गरेको जानकारी दिए । ‘भारतबाट किन यति धेरै दूध नेपालगन्ज आउँछ, त्यसबारे अनुसन्धान गर्नैपर्छ,’ उनले भने ।


दैनिक खपत
दाङमा उत्पादित दूध दैनिक यहीं खपत हुने गरेको छ । दैनिक दूध खपत हुने भएकाले गुणस्तरमा समस्या नरहेको जिल्ला पशु सेवाले जनाएको छ । लामो समय दूध राख्नुपर्ने अवस्थामा मात्रै मिसावट हुने भएकाले दैनिक खपतमा यस्तो समस्या नहुने पशु चिकित्सकको भनाइ छ ।


‘दैनिक दूध खपत हुन्छ । किसानले शुद्ध दूध नै बजारमा ल्याउने गरेका छन्,’ वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्रबहादुर रानाले भने, ‘कतै व्यवसायीले पानी मिसाएको गुनासो आए पनि अरू मिसावटको समस्या छैन ।’ दूध उत्पादन र खपत सन्तोषजनक रहेको उनले बताए । राष्ट्रिय मापदण्डअनुसार प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूध खपत हुनुपर्नेमा जिल्लामा ५२ देखि ५५ लिटर मात्रै उत्पादन भइरहेको उनले बताए । वार्षिक रूपमा २८ हजार ३२ मेट्रिक टन दूध उत्पादन भइरहेको रानाले जानकारी दिए ।


भैंसीको १७ हजार ९ सय र गाईको १० हजार १ सय ३२ मेट्रिक टन दूध उत्पादन भइरहेको उनले बताए । जिल्लामा खपत भएर दैनिक ४ हजार लिटर दूध नेपालगन्ज र कपिलवस्तु पठाउने गरेको उनले बताए । ‘उत्पादित दूध पर्याप्त छ । जिल्लामा खपत भएर बाहिर पनि दैनिक बिक्री भइरहेको छ,’ उनले भने, ‘जिल्लामा दूध बिक्री नहुने समस्या छैन । उत्पादन र खपतको सन्तुलन छ ।’

प्रकाशित : असार ४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?