सबै वडामा प्रसूति केन्द्र

माधव अर्याल

पूर्वखोला (पाल्पा) — पूर्वखोला गाउँपालिकाको सहयोगमा सबै वडामा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालन गरिएको छ । ६ वडामा रहेको गाउँपालिकामा देवीनगर, जल्पा र हेक्लाङ स्वास्थ्यचौकीमा चालु वर्षबाट केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सबै वडामा प्रसूति केन्द्र

रिङनेरह, वीरकोट र सिलुवामा यसअघि नै थिए । घरमै सुत्केरी हुने नरोकिएपछि सेवा थप गरिएको हो । सुत्केरीका लागि आवश्यक सामग्री, भवन निर्माण, शौचालयलगायत छन् । गाउँपालिकाले यस्ता केन्द्रमा अनमी (स्वास्थ्यकर्मी) को व्यवस्था गरेको छ । गत चैतबाट सबै वडामा सेवा सुरु भएको हो ।

गाउँपालिका सूचना अधिकारी मोहन ढकालका अनुसार अशिक्षा, चेतना अभाव र भौगोलिक विकटताले घरमै सुत्केरी हुनेको संख्या धेरै छ । ‘नीति तथा कार्यक्रममै घरमा सुत्केरी हुनेको सख्ंयामा शून्य गराउने घोषणा गरेका थियौं,’ उनले भने, ‘सोहीअनुसार कार्यक्रम अघि बढाइएको हो ।’ गाउँपालिकाले दुई वर्षभित्र घरमै सुत्केरी हुनेको संख्या शून्यमा झार्ने योजना सफल पार्न १५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । ‘तालिमप्राप्त कर्मचारीको कमी नहोस् भनेर एक–एक अनमीको व्यवस्था गाउँपालिकाले गरेको छ,’ सूचना अधिकारी ढकालले भने, ‘त्यसपछि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गरेका छौं ।’ २४ घण्टा नै स्वास्थ्य संस्थामा कर्मचारी बसेर सेवा दिने व्यवस्था मिलाइएको उनले बताए ।


पूर्वखोला ६ हेक्लाङको स्वास्थ्यचौकी प्रमुख अमृतविक्रम श्रेष्ठका अनुसार चालु वर्षमा १८ जना घरमै सुत्केरी भएका थिए । २३ जना नजिकका स्वास्थ्यचौकी पुगेर सुत्केरी गराए । ‘अझै पनि चेतनाको कमी छ,’ उनले भने, ‘साबिकका सबै वडामा पुगेर यस विषयमा सुत्केरीलाई जानकारी गराइएको छ । आगामी दिनमा स्वास्थ्य संस्थामै आउलान् भन्ने अपेक्षा लिएका छौं ।’


सबै वडामा घरमै सुत्केरी हुने गरेका छन् । गाउँपालिकाले सचेतना अभियानका लागि समेत केही रकम सहयोग गरेको छ । जसले गर्दा साबिकका सबै वडा पुगेर महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारीले चेतना फैलाउन सहयोग गरेका हुन् ।

प्रकाशित : असार ४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?