कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

उपभोक्ताको पहलमा वैकल्पिक सडक

प्रदेश सरकारले छुट्यायो १० करोड
२१ किमिमध्ये ३ सय मिटर मात्र ट्रयाक खोल्न बाँकी
घनश्याम गौतम

रूपन्देही — संघीय र प्रदेश सरकारको प्राथमिकतामा परेपछि सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको वैकल्पिक सडक बन्ने भएको छ । उपभोक्ताको पहलमा सडकको ट्रयाक भने खुलिसकेको छ ।

उपभोक्ताको पहलमा वैकल्पिक सडक

संघीय सरकारले बजेटमा सिद्धबाबाको पहिरो रोकथामका लागि प्राथमिकता दिने उल्लेख गरेको छ । प्रदेश सरकारले शुक्रबारको बजेटमा बुटवलको धागो कारखानादेखि चरंगे हुँदै झुम्सा सडकका लागि १० करोड रुपैयाँ विनियोजन गरेपछि वैकल्पिक सडक निर्माण हुने देखिएको हो । बुटवल–सिद्धबाबा–तिनाउ क्षेत्रको झन्डै ४ किमि खण्डको जोखिम कम गर्न सरकारले चरंगे–चौकी भञ्ज्याङ हुँदै झुम्सा जोड्ने २१ किमि सडक निर्माण र स्तरोन्नति गर्ने भएको छ । त्यसले वैकल्पिक मार्गसँगै पाल्पाका केही दुर्गम बस्तीसमेत सुगम बन्नेछन् ।


२०६८ सालदेखि सिद्धबाबा खण्डमा निरन्तर पहिरोको जोखिम बढ्दो छ । ०७२ को भूकम्पपछि जोखिम झन् बढेको हो । पछिल्ला वर्षमा पहिरोले क्षति पुर्‍याउने सवारी साधन र मानिसको संख्या पनि बढेको छ । यो खण्डमा पहिरोकै कारण १० वर्षको अवधिमा ७५ भन्दा बढीको मृत्यु भइसकेको छ । १८ बस, ५ जिप, २२ मोटरसाइकल, ७ ट्रक र ९ कारमा क्षति पुगेको पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक कार्यालयको तथ्यांक छ । जेठ लागेसँगै यो वर्ष पनि पहिरो र ढुंगा खस्न थालेको छ ।


सिद्धबाबाको वैकल्पिक सडक निर्माणका अभियन्ता पाल्पा जिविस पूर्वसभापति झपेन्द्रबहादुर जीसीले प्रदेश सरकारले उपयुक्त निर्णय गरेको बताए । ‘प्रदेश सरकारको यो निर्णयले एकैसाथ दुई काम हुनेछ,’ उनले भने, ‘पहिलो सिद्धबाबाको प्रभावकारी मर्मत, दोस्रो वैकल्पिक सडक निर्माण ।’ धेरै वर्षदेखि सिद्धबाबाको विकल्पका रूपमा धेरै हल्ला गरे पनि काम केही नभएको उनले बताए । दैनिक सयौं सवारी ओहोरदोहोर गर्ने यो सडकको वैकल्पिक सडक अभावले पनि मानवीय क्षति बढ्दै गएको थियो ।


सरकारले रकम विनियोजन गरेको वैकल्पिक सडक बुटवलको धागो कारखानादेखि देवदह नगरपालिका १० मुढावाससम्म साढे ७ किमिमा अहिले पनि यातायात चल्दै आएका छन् । सामान्य सुधारपछि सजिलै बस चल्न सक्ने सडक छ । मुढावासदेखि पाल्पाको तिनाउ गाउँपालिकाको चौकीभञ्ज्याङसम्मको ६ किमि खण्डमा अहिले पनि सडक निर्माण भइरहेको छ । उपभोक्ता समितिका अध्यक्ष पुरन सलामी मगरका अनुसार शनिबारको कामपछि यो सडकको ट्रयाक खुल्न ३ सय मिटर मात्र बाँकी रहन्छ । ‘अबको ५ दिनमा हामी सबै ट्रयाक खोल्छौं,’ उनले भने, ‘त्यसपछि यो सडकमा साना सवारी सजिलै चल्नेछन् ।’


बस, ट्रकसहितका सवारी चल्न सक्ने बनाउन भने नाली निर्माण, ग्याबिन वाल, दुई खोलामा कल्भर्ट निर्माण र ग्राबेल गर्नुपर्ने बताए । रूपन्देही र पाल्पा जोड्ने सडक भएकाले यसमा दुवै जिल्लाका उपभोक्ताले संयुक्त समिति बनाएर काम गरिरहेका छन् । २१ किमि सडकमध्ये बुटवलदेखि मुढावाससम्म नियमित सवारी चल्ने गरेका छन् । त्यस्तै चौकीभञ्ज्याङदेखि झुम्सासम्मको साढे ७ किमि पनि सवारी चल्न सक्ने सडक रहेको पाल्पाको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । ‘यसलाई सिद्धबाबाको वैकल्पिक सडकका रूपमा निर्माण गरिरहेका छौं,’ उनले भने, ‘प्रदेश सरकारले रकम छुट्याएपछि स्थानीय तहलाई निर्माणमा सहयोग पुग्ने भएको छ ।’ सडकका लागि यस वर्ष तिनाउ गाउँपालिकाले मात्र ३० लाख रुपैयाँ लगानी गरेको छ ।


तानसेन नगरपालिकाले २० लाख, रिब्दीकोट र बगनासकाली गाउँपालिकाले १०/१० लाख रुपैयाँ उपलब्ध गराएका छन् । यस सडकका लागि पाल्पाले यस वर्ष मात्र १ करोड रुपैयाँ लगानी गरेको उनले बताए । सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्यका अनुसार सिद्धबाबा क्षेत्रको पहिरो र ढुंगा नियन्त्रणका लागि गत वर्ष अस्ट्रियाको टियुमर कम्पनीले नेपालको जियोटेक्स सोलुसन कम्पनीसँगको सहकार्यमा ५० लाखको लागतमा सिद्धबाबा मन्दिरदेखि २० किमि चेनेजमा रक नेटिङको काम गरेको थियो । त्यसले त्यही क्षेत्रमा त ढुंगा खस्न छाडेको छ तर बढी जोखिम भएको क्षेत्रमा खतरा उत्तिकै छ ।


‘ढुंगा त खसेको छैन,’ उनले भने, ‘तर, कम्पनी आफैंले स्थान छनोट गर्दा नै कम जोखिम क्षेत्र छनोट गरेकाले त्यसको त्यति प्रभावकारिता देखिएन । अहिले बढी जोखिम भएको र पहिरो गइरहेको क्षेत्रमा सडक विभागले ‘रक नेटिङ, रक सेड’ निर्माणको तयारी गरेको छ । त्यसका लागि स्वीस कन्सल्ट्यान्टले अध्ययन सकेर प्रतिवेदन तयार गरिरहेको छ । संघीय सरकारले त्यही प्रतिवेदनका आधारमा बजेट व्यवस्था गरेर निर्माण सुरु हुने उनले बताए ।


प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मनोज श्रेष्ठले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको पहिरो नियन्त्रणको काम संघीय सरकारबाटै हुन थालेकाले वैकल्पिक सडक निर्माणका लागि बजेट विनियोजन गरेको बताए । ‘अहिले अध्ययन भइरहेको छ,’ उनले भने, ‘अर्को वर्षदेखि नियमित सवारी चल्ने गरी सडक निर्माणको काम सुरु हुन्छ ।’ १० करोडबाट कटिङ, नाली, ग्याबिन वाल, कल्भर्ट, ग्रेडिङ र ग्राबेलको काम हुने उनले बताए ।

प्रकाशित : असार ४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?