कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रोकिएन कमलरीको मृत्यु

घरमा काम गर्न राखिएका नानीहरू मर्छन् कि मारिन्छन् ?
दुर्गालाल केसी

दाङ — सरकारले ५ वर्षअघि कमलरीमुक्त घोषणा गरेको थियो । त्यस्तो घोषणापछि ‘मालिक’ को घरमा किशोरीले बँधुवा जीवन बिताउनु नपर्ने विश्वास गरियो । तर, घोषणा दस्तावेजमा सीमित बन्यो ।

रोकिएन कमलरीको मृत्यु

अहिले पनि धेरै किशोरी घरेलु मजदुरका रूपमा रहेको र तिनले अकालमा ज्यान गुमाउनु परेको सार्वजनिक भइरहेको छ । अहिलेसम्म पश्चिम तराईका विभिन्न जिल्लामा ६ कमलरीको ज्यान गएको छ । उनीहरूको मृत्युको कारण एउटै प्रकृतिको देखिन्छ । १० वर्ष अवधिमा ४ जना झुन्डिएको र २ जलेको अवस्थामा भेटिएका छन् ।


पछिल्लो पटक बर्दियामा कमलरी मृत्युको घटनाले सरोकारवालालाई स्तब्ध बनाएको छ । बढैयाताल गाउँपालिका ७ का दुर्गा भण्डारीले कमलरी राखेकी बाँसगढी ४ अस्नेरीकी ११ वर्षीया अस्मिता थारू गत जेठ २९ गते राति मृत फेला परिन् । ५ वर्षदेखि कमलरी रहेकी उनी ३ कक्षा पढिरहेकी थिइन् ।

भण्डारीको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थारूको हत्या/आत्महत्या के हो भन्नेबारे बहस चलिरहेको छ । मुक्त कमलरी विकास मञ्चले हत्या भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ । ‘मालिक’ बाट पटक–पटक यातना र दुव्र्यवहार भोग्दै आएको र अन्त्यमा अपराध लुकाउन अस्मिताको हत्या गरेको मञ्चको दाबी छ ।


कर्तव्य ज्यानअन्तर्गत कारबाही हुनुपर्ने मागसहित जाहेरी दिन इलाका प्रहरी मैनापोखर पुग्दा धेरै दिनसम्म दर्ता गर्न इन्कार गरेको मञ्चकी अध्यक्ष सुनीता चौधरीले बताइन् । लामो दबाबपछि मात्रै जाहेरी दर्ता भएको उनले जानकारी दिइन् ।

प्रत्येक वर्ष कमलरीको ‘हत्या’ भइरहँदा पनि दोषीमाथि कारबाही हुन नसकेको उनले गुनासो गरिन् । ‘कमलरी राख्ने, श्रम तथा यौनशोषण गर्ने र अन्त्यमा हत्या गर्ने घटना धेरै भएका छन्,’ चौधरीले भनिन्, ‘तर अहिलेसम्म दोषीलाई कारबाही भएको छैन । कमलरी मरेका होइनन्, मारिएका हुन् ।’


बढ्दै शृंखला
२०६९ सालमा पनि दाङ लालमटियाकी १२ वर्षीया सिर्जना चौधरीको ललितपुरको चाकुपाटस्थित इन्जिनियर युवराज पौडेलको डेरामा कमलरी बसेको अवस्थामा जलेर मृत्यु भएको थियो । ०६८ भदौ १ गते कैलालीको चौमाला ८ दैदवारी मुक्त कमैया शिविरकी २० वर्षीया मेघी चौधरीको काठमाडौंस्थित बालकृष्ण शाहको घरमा शरीरमा आगो लागेर मृत्यु भएको थियो । ०६७ वैशाख १८ गते कैलालीकी १५ वर्षीया उर्मिला राना थारूको कैलालीको धनगढीस्थित दीपक विष्टको घरमा झुन्डिएर मृत्यु भएको थियो ।
०६५ वैशाख २ गते टीकापुर ९ वनगाउँ कैलालीकी १५ वर्षीया सरिता चौधरी दाङको लमहीस्थित इन्द्रमणि खनालको घरमा झुन्डिएर मृत्यु भएको थियो । ०६४ पुस ३० गते दाङ रामपुरकी सीमा होजा मगरको लमहीस्थित दंगाली होटलमा झुन्डिएर मृत्यु भयो । कमलरी मृत्युको शृंखला बढिरहँदा पनि कमलरी राख्ने क्रम पनि रोकिएको छैन ।

पश्चिम तराईका ५ जिल्लामा अझै ९७ कमलरीको उद्धार हुन बाँकी रहेको मञ्चले जनाएको छ । मञ्चका अनुसार बर्दियामा ३६, कैलालीमा २८, दाङमा २१, कञ्चनपुरमा ७ र बाँकेमा ५ कमलरी छन् । त्यसमध्ये ६१ सरकारले मुक्तिको घोषणा गरेपछि कमलरी बसेका हुन् । ३६ जना ०७० सालभन्दा पहिले नै गएका थिए । कतिपय मुक्त कमलरी उचित पुन:स्थापनाका नहुनाका कारण फेरि कमलरी बस्न बाध्य छन् ।


एउटै प्रकृति
सिर्जनाको मृत्युबारे अध्ययन गर्न जिल्ला बाल कल्याण समितिले ०६९ मा एक समिति बनाएर छानबिन गर्‍यो । समितिले कमलरी झुन्डिने र जल्ने क्रम लामो समयदेखि चल्दै आएकाले यसबारे गम्भीर अध्ययन हुनुपर्ने निष्कर्ष निकालेको थियो । बर्सेनि कमलरीको कुनै न कुनै रूपमा काम गरिरहेको ठाउँमा मृत्यु हुनु सामान्य अवस्था नभएको समितिको निष्कर्ष छ । उस्तै प्रकृतिले बर्सेनि कसरी मर्छन् ? किन जल्छन् या झुन्डिन्छन् ? यही प्रश्न उठाएर पश्चिम नेपालका १२ हजारभन्दा बढी मुक्त कमलरी अहिले आन्दोलित छन् ।

जल्ने र झुन्डिएका घटना बाहिर आए पनि भित्रभित्रै गायब गरिने घटना ठूलो संख्यामा रहेको अध्यक्ष चौधरीको भनाइ छ । उनका अनुसार हालसम्म ११ जना यौन शोषणमा परी कुमारी आमा बनेका छन् । ‘यौन शोषणपछि हत्या गर्ने या बेपत्ता पार्ने क्रम बढिरहेकाले कमलरी असुरक्षित हुँदै आएका छन् । आत्महत्या गरेको नाटक रचिन्छ तर घटनाको अध्ययन गर्दा यौन शोषणपछि हत्या गरेको भेटिएका छन्,’ उनले भनिन्, ‘कसरी एउटै प्रकृतिको घटना भएर कमलरी मर्छन् ? यो रहस्यको विषय छ । मरेका हुन् या मारिएका ? यसको गम्भीर अध्ययन जरुरी छ ।’
मृत्यु सधैँ रहस्यमय
सिर्जनाको मृत्युका विषयमा अध्ययन गर्न गठित समितिले कमलरी मृत्युबारे विभिन्न प्रश्न गरेको छ । समितिले तयार पारेको ८ पेजको प्रतिवेदनमा १३ बुँदे सुझाव दिइएको छ । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका धेरै कमलरी बालिका यस्तै प्रकृतिले जलेको तथा मरेको र कमलरी बेपत्ता रहेको प्रसंग उल्लेख गर्दै प्रतिवेदनमा यस्ता घटना रोक्न विभिन्न सुझाव दिइएको छ ।


‘कमलरी आफैं मर्छन् या मारिन्छन् भन्ने विषय साँच्चिकै गम्भीर छ । आफैं मर्छन् भने पनि किन मर्छन्, मर्ने अवस्थामा कसरी पुग्छन् भन्ने विषयमा राज्यले उच्च स्तरको आयोग बनाएर अध्ययन गर्न जरुरी देखिन्छ,’ सिर्जनाको मृत्युपछि जिल्ला बालकल्याण समिति दाङद्वारा गठित अध्ययन समिति संयोजक उर्मिला चौधरीले भनिन्, ‘कमलरी ओसारपसार र राख्ने काममा संलग्नलाई यथाशक्य कानुनी कारबाही थाल्नुपर्ने आवश्यकता छ ।’

कानुनी बाटो
कमलरी राख्नेलाई कारबाही गर्न सकिने प्रशस्त कानुन छन् । त्यसको प्रभावकारी कार्यान्वयनमा भने समस्या देखिएको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ मा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा बालबालिका ओसारपसार गर्नेलाई १० देखि १२ वर्षसम्मको कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।

यसैगरी बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ को दफा १९ अनुसार कसैले १४ वर्षमुनिका बालबालिकालाई काममा लगाएमा निजलाई ३ महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै मुलुकी ऐनको जीउ मास्ने–बेच्ने महलको दफा ३ बमोजिम कसैले कसैलाई दास तुल्याउने र बाँधा बनाउने काम गरे ३ वर्षदेखि १० वर्षसम्म कैद र पीडितलाई उचित क्षतिपूर्ति दिलाउने व्यवस्था छ ।

मृत्यु शृंखला
-०७५ जेठ २९ गते बाँसगढी नगरपालिका ४ अस्नेरी बर्दियाकी ११ वर्षीया अस्मिता थारूको बर्दियाको बढैयाताल गाउँपालिका ७ का दुर्गा भण्डारीको घरमा
झुन्डिएर मृत्यु ।
-०६९ चैत १४ गते दिउँसो दाङको लालमटिया ८ पैंसट्ठी नम्बर निवासी १२ वर्षीया सिर्जना चौधरीको ललितपुरको चाकुपाटस्थित इन्जिनियर युवराज पौडेलको डेरामा कमलरी बसेको अवस्थामा शरीरमा आगो लागेर मृत्यु ।
-०६८ भदौ १ गते कैलालीको चौमाला ८ दैदवारी मुक्त कमैया शिविरकी २० वर्षीया मेघी चौधरीको काठमाडौंस्थित बालकृष्ण शाहको घरमा शरीरमा आगो लागेर मृत्यु ।
-०६७ वैशाख १८ गते कैलालीकी १५ वर्षीया उर्मिला राना थारूको कैलालीको धनगढीस्थित दीपक विष्टको घरमा झुन्डिएर मृत्यु ।
-०६५ वैशाख २ गते टीकापुर ९ वनगाउँ कैलालीकी १५ वर्षीया सरिता चौधरी दाङको लमहीस्थित इन्द्रमणि खनालको घरमा झुन्डिएर मृत्यु ।
-०६४ पुस ३० गते दाङ रामपुरकी सीमा होजा मगरको दाङको लमहीस्थित दंगाली होटलमा झुन्डिएर मृत्यु ।

प्रकाशित : असार ६, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?