२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सधैँ बाढीको त्रास

‘खोला र नहरमा बालुवा, माटो थुप्रिएर पानीको सतह बढेपछि बस्ती जोखिममा परे’
नवीन पौडेल

परासी — पश्चिम नवलपरासी को प्रतापपुर ८ फड्कीटोलका पानमती मल्लालाई बादल मडारिन थालेपछि गत वर्ष बाढीले सताएको सम्झना आउँछ ।

सधैँ बाढीको त्रास

स्थानीय खहरेमा आएको बाढी बस्तीमा पस्दा भैंसी र बाख्रा बगे । छोराछोरी र आफ्नो ज्यान बल्लतल्ल जोगाइन् । अन्नपात बग्यो । दुई दिनसम्म बस्ती नजिकको टाँडीमा गएर बस्नुपरेको थियो । पीडा सम्झिदा बसाइँ सर्न मन लाग्ने उनी बताउँछिन् ।


तर, मजदुरी गरेर छाक जुटाउने उनी सुरक्षित स्थानमा जग्गा खरिद गरेर परिवार सार्ने अवस्थामा पनि छैनन् । बाढीले भत्काएको घर सामान्य मर्मत गरेर बसिरहेकी छन् । अन्नपात बगाएपछि ६ जनाको परिवार पाल्न निकै दु:ख गर्नुपरेको उनले सुनाइन् । ‘ऋण गरेर किनेको भैंसीको पाडी, बाख्रा र अन्नपात बाढीले बगायो,’ उनले भनिन्, ‘मजदुरीको रकमले ऋण तिर्ने कि परिवार पाल्ने, साह्रै दु:ख पायौं ।’


स्थानीय ७० वर्षीय चन्द्रिका चमारको गुनासो पनि उस्तै छ । १०/१२ वर्ष पहिलेसम्म बस्तीमा बाढी पस्दैनथ्यो । तर, केही वर्षदेखि नियमित सताउन थालेको उनले बताए । ‘पहिले खोला गहिरो थियो, नहरमा पनि अहिलेजस्तो पानी आउँदैनथ्यो,’ चमारले भने, ‘खोला र नहरमा बालुवा, माटो थुप्रिएर पानीको सतह बढेपछि बस्ती जोखिममा परेको हो ।’ गत वर्ष यहाँका १ सय १५ घर डुबानमा परे । पीडितले अहिलेसम्म राहत पाएका छैनन् । बाढी आएका बेला केही किलो चामल, भुजा र नुनबाहेक सहयोग नपाएको पीडितले गुनासो गरे । फडकीटोलमा स्थानीय राइपुरवा खोला र साना नहरको सतह बढेर बर्सेनि डुवान हुन्छ ।


नियन्त्रणका लागि अहिलेसम्म प्रभावकारी कदम चालिएको छैन । बाढी आउँदा चिउरा/भुजा बाँडछन् । बाढी नियन्त्रण र खोलामा तटबन्धन निर्माणका लागि पहल गर्दैनन् । ‘नहर र खहरे खोला सामान्य सरसफाइ गरेर गहिरो बनाउने हो भने जोखिम कम हुने थियो,’ स्थानीय हरिलाल हरिजनले भने, विपन्न बस्ती भएकाले कसैले पनि चासो नदिँदा बर्सेनि कटान र डुबान भोग्नुपरेको छ ।’ उक्त गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले स्थानीय खोला र नहर सफा गरेर बाढी नियन्त्रणको प्रयास गरिएको दाबी गरे ।


‘सचेतनादेखि बाढी नियन्त्रणका लागि तटबन्धन, नहर सफा गर्ने काम गरेका छौं,’ उनले भने, ‘गत वर्ष मात्रै निर्वाचित भएकाले सबै काम गर्न सकिएको थिएन, यस वर्षबाट पीडितको ध्यान दिनेछौं ।’ पश्चिम नवलपरासीको प्रतापपुर, सरावल, सुस्ता गाउँपालिका बाढी र प्राकृतिक जोखिम प्रभावित बस्ती हुन् । सरकारी तथा गैरसरकारी संघसंस्थाले यहाँ जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।


प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले दैविक प्रकोप उद्धार समिति प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि चौबीसै घण्टा तयारी अवस्थामा रहेको बताए । ‘सुरक्षा निकायका विशेष टोली, स्थानीय र अन्य संघसंस्थाको सहयोगमा स्पेसल फोर्स तयारी अवस्थामा छ,’ लामिछानेले भने । प्रशासनले जिल्लालाई ६ भागमा विभाजन गरेर प्रत्येक क्षेत्रमा तत्काल उद्धारका लागि संयोजक तोकेर काम अघि बढाउने तयारी गरेको छ ।


जिल्लास्थित नारायणी नदी आसपास र खहरे खोलाको तटीय क्षेत्रलाई उच्च जोखिममा राखेर रोकथामको तयारी गरिएको छ । गण्डक क्षेत्रको सुस्ता, कुडिया, नर्सही, पक्लिहवा, भुजहवा, सोमनी, प्रतापपुरलगायत बाढीको जोखिममा रहेका छन् । स्थानीय तहले पनि आ–आफनो क्षेत्रमा विपत् व्यवस्थापन समिति गठन गरेर काम सुरु गर्न लागेकाले यस वर्ष बाढी तथा अन्य प्राकृतिक विपत्तिमा उद्धार र राहतको काम प्रभावकारी हुने स्थानीयले आशा गरेका छन् । गत वर्षको साउन १८ गते आएको बाढीले जिल्लाका १ हजारभन्दा बढी घर डुबानमा पर्नुका साथै हजारांै बिघा जमिनको खेती नष्ट गरेको थियो ।

प्रकाशित : असार ६, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?