कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झुम्सा–चरंगे ट्रयाक खुल्यो

सिद्धबाबा खण्ड पहिरोले असुरक्षित बनेपछि विकल्पमा यो सडक खनिएको हो
माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्डको विकल्पका रूपमा अघि सारिएको झुम्सा–चरंगे मोटरबाटोको ट्रयाक खुलेको छ ।

झुम्सा–चरंगे ट्रयाक खुल्यो

सिद्धबाबा खण्डमा जोखिम बढेपछि झुम्सा–चौकीभञ्ज्याङ–चरंगे–धागो कारखाना खण्डलाई वैकल्पिक मार्गका रूपमा प्रस्ताव गरिएको थियो । स्थानीय तह र उपभोक्ता समितिकै पहलमा मंगलबार नयाँ ट्रयाक खुलेको हो ।

ट्रयाक खुलेसँगै सिद्धार्थ राजमार्गको झुम्साबाट २१ किमि बुटवल नजिकैको धागो कारखानासम्म पुग्न सकिने भएको छ । दूरीका हिसाबले झुम्सा–बुटवल ९ किलोमिटर मात्र भए पनि सिद्धबाबाको जोखिम न्यूनीकरणका लागि नयाँ ट्रयाक उपयुक्त विकल्प हो । जिल्ला समन्वय समितिको नेतृत्वमा तानसेन नगरपालिका, तिनाउ, बगनासकाली, रिब्दीकोट गाउँपालिकाका साथै देवदह नगरपालिका रूपन्देहीको सहयोगमा ट्रयाक खुलेको तिनाउ गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकारले आफ्नै लगानीमा वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्ने काम पूरा गरेको जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्यालले बताए । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीलगायतको टोली तीनवटा साना सवारी साधन र दुई मोटरसाइकलमा सिद्धार्थ राजमार्गको झुम्साबाट चौकीभञ्ज्याङ हुँदै धागो कारखाना पुगेको थियो ।

ट्रयाक खोल्न स्थानीय तह र जिससको गरी झन्डै १ करोड रुपैयाँ खर्च भइसकेको छ । नयाँ ट्रयाक निरीक्षण तथा अनुगमनपछि जिसस प्रमुख बस्यालले गाउँपालिका र नगरपालिकाको आर्थिक सहयोगले छिट्टै सफलता मिलेको बताए । पाल्पा र रूपन्देहीका प्रशासकहरूको नैतिक साहस र सबैको सद्भावका कारण छिट्टै ट्रयाक खोल्न सम्भव भएको उनको भनाइ छ । ‘यसले सिद्धबाबा क्षेत्रमा खस्ने पहिरोबाट बर्सेनि हुने जनधनको क्षति रोक्न मद्दत पुग्नेछ,’ उनले भने ।

दोभान गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले काम सुरु गरेको एक महिनामा ट्रयाक खुलेको बताए । ‘यस सडकले पाल्पाली मात्र नभएर पश्चिमाञ्चलका धेरैलाई खुसी बनाएको छ,’ उनले भने । झुम्सादेखि चौकी भञ्ज्याङसम्को सात किमी र रूपन्देहीको धागो कारखानाबाट चरंगे मुढावास साढे सात किलोमिटरमा यसअघि नै ट्रयाक खोलिएको थियो । चौकीभञ्ज्याङबाट मुढावाससम्मको करिब साढे ५ किलोमिटरमा नयाँ ट्रयाक खुलेको हो । रूपन्देही र पाल्पा जोड्ने सडक भएकाले यसमा दुवै जिल्लाका उपभोक्ताले संयुक्त समिति बनाएर काम गरिरहेका थिए ।

जिल्लाका जनप्रतिनिधिहरूले आगामी आर्थिक वर्षमा सडक फराकिलो बनाउने र ग्राभेलसम्मको काम सक्ने रणनीति अघि सारिएको बताएका छन् ।

सिद्धबाबाको वैकल्पिक मार्गका लागि प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षलाई १० करोड रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारले पनि बजेटमा सिद्धबाबाको पहिरो रोकथामका लागि सुरुङमार्गको अध्ययन र काम अघि बढाउने उल्लेख गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ७, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?