कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

प्रदेशसभामा मुख्यमन्त्रीको जवाफ ‘बजेटका सबै पोका खुल्छन्’

रूपन्देही — मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीमा मोनोरेल सञ्चालन गर्ने सरकारको योजना रणनीतिक सोचका साथ आएको बताएका छन् । प्रदेशसभा बैठकमा बुधबार उनले योजना महत्त्वाकांक्षी भए पनि प्रदेश सरकारले अध्ययन गरेर तयार पारेको प्रस्ट्याए ।

प्रदेशसभामा मुख्यमन्त्रीको जवाफ ‘बजेटका सबै पोका खुल्छन्’

मोनोरेलसँगै विद्युतीय बस पनि चलाउने सरकारको योजना छ । ‘त्यसको पूर्ण अर्थ र महत्त्व छ,’ उनले भने, ‘यी दुवै योजनाले लुम्बिनी क्षेत्रमा पर्यटकको बसाइँ लम्ब्याउन महत्त्वपूर्ण योगदान गर्नेछन् ।’ प्रदेशको बजेटले मात्र नपुग्ने भएकाले संघीय सरकारसँग थप बजेट माग गरिने समेत उनले बताए ।

सरकारले आगामी वर्षका लागि पेस गरेको बजेटमाथिको सैद्धान्तिक छलफल बुधबारदेखि सकिएको छ । छलफलपछि मुख्यमन्त्री पोखरेलले विपक्षी र सत्तापक्षकै प्रदेशसभा सदस्यले उठाएका विषयवस्तुमाथि प्रकाश पारेका थिए । विपक्षी दल कांग्रेसले केही योजना बिनाबजेट आएको र त्यस्ता योजनाका लागि पोका–पोकामा बजेट राखिएको भन्दै स्पष्ट पार्न माग गरेको थियो ।

मुख्यमन्त्री पोखरेलले सरकारले ल्याएका कुनै पनि योजना विपक्षीले आरोप लगाउन मिल्ने खालका नभएको दाबी गरे । ‘पाल्पाको रामपुरदेखि रोल्पाको होलेरी हुँदै कपुरकोटसम्म पुग्ने सडकका लागि ५ करोड रकम छ,’ उनले भने, ‘त्यो सडकले धेरै निर्वाचन क्षेत्र जोडेको छ ।’ उनले सबै योजनाको अध्ययन र मापदण्ड बनाएर बजेट ल्याइएकाले कार्यान्वयनमा ढुक्क हुन आग्रह गरे । उनले विपक्षीलाई योजना अध्ययन गरेर, बजेट केलाएर अनि विश्लेषण गरेर मात्र निर्णय लिन आग्रह गरे । संघीय सरकारले २० अर्ब बजेट समपूरक कोषमा राखेको र त्यसलाई आधार बनाएर प्रदेश ५ मा ३ अर्ब आउने अनुमानका साथ केही योजनामा रकम उल्लेख नगरिएको पनि उनले स्पष्ट पारे । कृषि यन्त्रीकरणमा २० करोड, सहकारी विकास कोषमा १५ करोड, कृषि उत्पादनमा आधारित अनुदान १० करोड सबै जिल्लाका लागि भएको उनले बताए ।

त्यस्तै, ५२ प्रादेशिक निर्वाचन क्षेत्रमा स्थापना गर्न लागिएका कृषि स्मार्ट गाउँ, स्थानीय तहमा शीत भण्डार, सभाहल, खेल मैदान सबै जिल्लाका लागि भएको मुख्यमन्त्रीले प्रस्ट्याए । ‘यी सबै त्यही पोकाका बजेट हुन्,’ उनले भने, ‘यी पोका खोल्दा सबैतिर बजेटै बजेट छ, त्यसरी बुझ्नुहोला ।’ मोनोरेल चलाउने योजना बनाइएको रामग्रामदेखि लुम्बिनी हुँदै तिलौराकोटका सबै क्षेत्रमा प्रतिपक्षीले चुनाव जितेको भन्दै उनले आफ्ना क्षेत्रमा मात्र बजेट राखेको नबुझ्न आग्रह गरे ।

छलफलमा केही प्रदेशसभा सदस्यले लुम्बिनी क्षेत्रलाई बजेटले नछोएको बताएका थिए । त्यसमा स्पष्ट पार्दै उनले लुम्बिनी क्षेत्र अझै संघीय सरकारबाट प्रदेश सरकार मातहत नआएकाले बजेट विनियोजन गर्न समस्या परेको स्पष्ट पारे । मोनोरेलको सम्भाव्यता अध्ययन, पर्यटकीय बस र भैरहवामा विद्युतीय बस सञ्चालनका लागि योजना बनाइएको उनले बताए ।

नियमावली पारित, विधेयक पेस
प्रदेशसभा नियमावली मस्यौदा समितिले पेस गरेको प्रदेश ५ को प्रदेशसभा पहिलो संशोधन नियमावली २०७५ सर्वसम्मतिले पारित भएको छ । नियमावलीमाथिको छलफल सकिएपछि सभामुख पूर्णबहादुर घर्तीले बुधबारको बैठकमा नियमावली निर्णयार्थ पेस गरेका थिए । नियमावली पारित भएपछि अब प्रदेश ५ मा संसदीय समिति ६ वटा बन्नेछन् ।

बुधबारको बैठकमा प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री पोखरेलले विनियोजन विधेयक २०७५ पेस गरेका छन् । सरकारले पेस गरेको विनियोजन विधेयक पारित भएपछि सरकारलाई बजेट खर्चने बाटो खुल्नेछ ।

प्रकाशित : असार ७, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?