दुई महिनादेखि पढाइ ठप्प

नवीन पौडेल

परासी — प्रधानाध्यापक र शिक्षकबीच विवादले बर्दघाट नगरपालिका १० स्थित ज्ञान ज्योति माविमा दुई महिनादेखि पठनपाठन अवरुद्ध छ । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक सरस्वती श्रेष्ठको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत वैशाख २ गते उनलाई जिम्मेवारीमुक्त गरेको थियो ।

दुई महिनादेखि पढाइ ठप्प

तर, श्रेष्ठले जिम्मेवारी नछाड्ने अडान लिएपछि पढाइ अवरुद्ध भएको हो । समितिको निर्णयविरुद्ध उनले उच्च अदालत दाङमा रिट दायर गरेकी थिइन् । अदालतले यथास्थितिमा काम गर्न अन्तरिम आदेश दिएको छ ।

अभिभावक र विद्यार्थीले तत्काल विद्यालय सञ्चालन गर्न माग गरेका छन् । शिक्षक विवादमा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै उनीहरूले छिटो विवाद मिलाइदिन नगरपालिका, शिक्षा कार्यालय र नागरिक समाजसित आग्रह गरे । ‘कहिले शिक्षक त कहिले विद्यार्थीले तालाबन्दी गर्दा छोराछोरीको पढाइ बिग्रियो,’ अम्बिका खड्काले भनिन्, ‘अन्यत्र विद्यालयमा भर्ना गरौं भने टाढा छ, कक्षा सञ्चालन भएको तीन महिनामा पहिलो पाठ मात्र पढाइ भएको छ ।’

एसईई परीक्षाको तयारी गर्नुपर्ने विद्यार्थीलाई कोर्स नसकिने चिन्ताले सताएको छ । कक्षा १० मा अध्यनरत विपना कँडेलले परीक्षाको तयारीमा जुट्नुपर्ने बेला विद्यालय बन्द भएपछि तनाव बढेको बताइन् । ‘अहिलेकी हेड मेडमको कार्यशैलीप्रति चित्त नबुझेपछि सञ्चालक समितिले ढुण्डिराज भण्डारी सरलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो,’ उनले भनिन्, ‘शिक्षकबीच विवाद भए पनि हाम्रो भविष्य बिगार्ने अधिकार कसैलाई छैन ।’ वैशाख ३१ गते अभिभावकले लगाएको ताला जेठ १२ गते नगरप्रमुख धीरज शर्मा बस्यालको उपस्थितिमा खोलिएको थियो । त्यसपछि पढाइ सञ्चालन हुने विश्वास गरिए पनि समस्या ज्युँका त्युँ छ ।

अभिभावकले विवाद तत्काल समाधान नहुने भए नजिकका विद्यालयमा पठनपाठनको व्यवस्था मिलाउन माग गरेका छन् । लामो समयसम्म शैक्षिक संस्था बन्द हुँदा पनि सम्बन्धित निकाय मौन रहेको भन्दै उनीहरू आक्रोशित छन् । विद्यार्थी दिनहुँ विद्यालय आउँछन् । पढाइ नहुने भएपछि फर्कने गरेका छन् ।

लामो समय पठनपाठन बन्द भएको विरोधमा बुधबार विद्यार्थीले मूलगेटमा तालाबन्दी गरेपछि समस्या अझ थपिएको छ । प्राथमिक तहको दरबन्दी रहेको विद्यालयमा निजी स्रोतमा शिक्षक राखेर १० कक्षासम्म अध्यापन हुँदै आएको छ । आर्थिक अभाव देखाएर तीन वर्षदेखि वार्षिक उत्सव तथा आर्थिक हिसाबसमेत सार्वजनिक नगरिएको शिक्षक ताराप्रसाद भुसालले आरोप लगाए । ‘प्रधानाध्यापकले गुणस्तर बढाउन पहल नगर्ने र पद पनि नछाड्ने अडान लिएपछि आन्दोलित भएका हांै,’ उनले भने, ‘यस्तै हालत रहे विद्यार्थी र शिक्षकको भविष्य अन्धकार हुनेछ ।’

विद्यालयको अवस्था बिग्रँदै जाँदा विद्यार्थीसंख्या बर्सेनि घटिरहेको छ । गत वर्ष ३ सय ५० भन्दा बढी विद्यार्थी भर्ना भएकोमा यस वर्ष २ सय ५० जति मात्र छन् । प्रशासन, शिक्षा कार्यालय र स्थानीय तहमा पटक–पटक वार्ता भए पनि समाधान हुन सकेको छैन । शिक्षक, सञ्चालक समिति, शिक्षक–अभिभावक समितिले प्रधानाध्यापक श्रेष्ठलाई कुनै हालतमा नस्वीकार्ने र उनले पद नछाड्ने अडान लिँदा समस्या जटिल बनेको नगरशिक्षा अधिकृत तुलसी अधिकारीले बताए । ‘मुद्दा विचाराधीन भएकाले तत्कालका लागि पठनपाठन गराउन पहल भइरहेको छ,’ उनले भने ।

प्रधानाध्यापक श्रेष्ठले अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै यस विषयमा थप प्रतिक्रिया दिन मानिनन् । ‘जे गर्छ अदालतले गर्छ,’ उनले भनिन्, ‘विभिन्न बहाना बनाएर मलाई हटाउने प्रयास भएको छ ।’ व्यवस्थापन समिति अध्यक्ष हेमबहादुर क्षत्रीले प्रधानाध्यापकले शिक्षक र व्यवस्थापन समितिविरुद्ध मुद्दा दायर गरेको बताए । ‘सम्मानित अदालतको आदेश हामी मान्छौं तर प्रधानाध्यापकले विद्यालयमा अध्यापनको माहोल बनाउन सक्नुपर्‍यो,’ उनले भने, ‘शिक्षकले कक्षामा पढाउन पनि नसक्ने अनि विवाद मात्र बढाएर विद्यार्थीको भविष्य अन्योलमा पार्ने काम तत्काल रोक्नुपर्छ ।’

प्रकाशित : असार ७, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?