हिलपार्कमा जनजाति संग्रहालय

लागत २ करोडभन्दा बढी लाग्ने अनुमान हङकङमा बस्ने नेपालीले पठाए ४७ लाख
बुद्धको पहिचान गराउने उद्देश्यले पूर्वाधार निर्माणको योजना अघि बढाइयो – शिवराज सुवेदी, उपमहानगर प्रमुख

रूपन्देही — बुटवलको हिलपार्कमा २ करोड रुपैयाँ लागतमा जनजाति संग्रहालय बन्ने भएको छ । बुटवल उपमहानगरपालिका, बुटवल हिलपार्क परिषद्, आदिवासी जनजाति महासंघ र हङकङमा बस्ने नेपालीको सहयोगमा संग्रहालय बनाउन लागिएको हो ।

हिलपार्कमा जनजाति संग्रहालय

संग्रहालय निर्माणका लागि १० वर्षअघिदेखि काम सुरु भए पनि रकम अभावले अलपत्र थियो । बुटवल उपमहानगरपालिका र बुटवल हिलपार्क सहयोग समिति हङकङले आर्थिक सहयोग गर्ने भएपछि निर्माण कार्य अघि बढदै छ । संग्रहालयमा लोपोन्मुख विभिन्न जातिका वेशभूषा झल्कने सामग्रीदेखि परम्परागत पोसाक र सांस्कृतिक सामग्री राखिनेछ ।


संग्रहालय निर्माणका लागि बुटवल हिलपार्क सहयोग समिति हङकङले बुटवल हिलपार्क परिषद्लाई ४७ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । यो रकम हङकङमा बस्दै आएका नेपालीले चन्दा संकलन गरेर उपलब्ध गराएका हुन् ।


समितिले हिलपार्क परिषद्लाई रकम हस्तान्तरण गरेपछि आदिवासी जनजाति महासंघले त्यसको विरोध गरेको छ । जनजाति संग्रहालय निर्माणमा आदिवासी महासंघलाई ‘बाइपास’ गर्न खोजिएको उसको आरोप छ ।


तर, सहयोग समिति हङकङले भने महासंघलाई बाइपास नगरिएको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर स्पष्ट पारेको छ । दुवै संस्थाको संयुक्त आग्रहमा रकम संकलन गरिएको र त्यसमा आदिवासी जनजाति महासंघ पनि सँगै रहेको संग्रहालय निर्माण समितिका संयोजक होमबहादुर गलामीले बताए । ‘दुवै संस्थाको सहकार्यमा १० वर्षदेखि हिलपार्कमा जनजाति संग्रहालय निर्माण प्रक्रिया अघि बढेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘अहिलेसम्म सबै निर्णय दुवै संस्थाको सहभागितामा हुने गरेका छन् ।’ रकम महासंघलाई हस्तान्तरण नगरेकै कारण बाइपास गरियो भन्न नमिल्ने उनले बताए । १० वर्षअघि संग्रहालय निर्माणको अवधारणा बनेदेखि गत चैत २ गतेसम्मका संग्रहालय निर्माणका हरेक निर्णयमा महासंघ सँगसँगै रहेको उनको दाबी छ ।


बुटवल हिलपार्क परिषदका आजीवन सदस्य हेमराज थापाले भने महासंघका अध्यक्ष र पदाधिकारीले सबै रकम महासंघलाई हस्तान्तरण गर्न आग्रह गरेको तर संकलनकै क्रममा बुटवल हिलपार्क परिषदका नामबाट संकलन भएकाले दिन नमिल्ने बताएपछि विवाद सुरु गरिएको दाबी गरे । संग्रहालय निर्माणमा यसले खासै असर नगर्ने पनि उनले बताए । ‘साथीहरूले संकलन भएको रकम आदिवासी जनजाति महासंघलाई नै दिन आग्रह गर्नुभएको थियो,’ उनले भने, ‘तर, विदेशमा परिषदकै नामबाट रकम संकलन गरिएकाले अहिले महासंघलाई हस्तान्तरण गर्न सकिएन ।’


बुटवल हिलपार्क सहयोग समिति हङकङका उपसंयोजक पुरन खडकाले विदेशमा साथीभाइसँग हिलपार्क परिषदकै नामबाट सहयोग संकलन गरिएकाले अहिले नेपालमा आएर आदिवासी महासंघलाई हस्तान्तरण गर्न नमिलेको बताए । ‘तर, हामीले महासंघलाई अलग गराएका छैनौं,’ उनले भने, ‘भोलिका दिनमा पनि सहकार्य हुनेछ ।’ दु:खकष्टसाथ रकम संकलन गरी हस्तान्तरण गर्दा उल्टै ‘माफिया’ को आरोप खेप्नुपरेको उनले गुनासो गरे ।


संग्रहालय बनेसँगै हिलपार्कको आकर्षण थपिनेमा शंका छैन । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुद्धको पहिचान गराउने उद्देश्यले पूर्वाधार निर्माणको योजना अघि बढाइएको बताए । ‘कंक्रिटका संरचना निर्माण गर्नेतिर मात्र हाम्रो ध्यान छैन,’ उनले भने, ‘हिलपार्कलाई थप हरियालीयुक्त बनाएर पर्यटक आकर्षित गर्ने योजना पनि बनाएका छौं ।’ ०५७ मा स्थापित हिलपार्क परिषदको अगुवाइमा व्यक्ति, समुदाय र संघसंस्थाको सहयोगमा ४ करोडभन्दा बढी लगानी गरी सडक, विद्युत्, खानेपानी, वनभोजस्थल, चिल्ड्रेन पार्क बनाइसकिएको छ ।

प्रकाशित : असार ८, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?