ठेकेदार कम्पनी बेपत्ता

लुम्बिनी जोड्ने पुुल अलपत्र
नियमित काम गर्न निर्माण कम्पनीलाई पटक–पटक पत्राचार गरे पनि सम्पर्कविहीन
माधव ढुंगाना

भैरहवा — पर्यटकीय धार्मिकस्थल लुम्बिनी जोड्ने तिनाउ र दानव नदीमाथि निर्माणाधीन दुई पुल अलपत्र परेका छन् । निर्माणका क्रममा सामान्य प्राविधिक समस्या देखाउँदै ठेकेदार कम्पनी पुल हस्तान्तरण गर्ने समय नजिकिँदै गर्दा काम छाडेर बेपत्ता भएपछि पुल निर्माण अलपत्र परेको हो ।

ठेकेदार कम्पनी बेपत्ता

लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवा–लुम्बिनी हुलाकी खण्डमा रहेका ती पुल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी पप्पु एन्ड बामती जेभीले ०७१ असार २५ मा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालय बुटवलका अनुसार ०७३ पुस २४ मा निर्माण सम्पन्न नभएपछि म्याद थप गरी ०७५ असार २३ मा हस्तान्तरण गर्ने अन्तिम सम्झौता गरिएको थियो ।


‘यो सिजनमा वर्षा लागिसकेकाले काम हुन सक्दैन,’ सडक डिभिजन कार्यालय बुटवलका प्रमुख कैलाशकुमार श्रेष्ठले भने, ‘निर्माणस्थलमा हाल देखिएको प्राविधिक समस्या सुल्झाएर द्रुत गतिमा निर्माण कार्य अघि बढाउने हो भने अर्को वर्षायामसम्ममा सम्पन्न होला ।’ समस्या सुल्झाएर निर्माणलाई निरन्तरता दिन आफूले पुसमै प्रस्ताव पेस गरेको भए पनि विभागबाट निर्णय हुन नसक्दा समस्या बल्झिएको उनले बताए । उनका अनुसार नदीको बीच भागमा पिल्लर तयार भइसकेपछि दुवैतर्फ किनारामा पुल र सडक
जोड्नका लागि जमिन खन्दा हाल चालु अवस्थामा रहेको सडक भासिएर यातायात आवागमन ठप्प हुन सक्ने प्राविधिक समस्या देखाउँदै निर्माण कम्पनीले काम रोकेको हो । कम्पनीले दुवै पुल निर्माणमा देखाएको समान खालको प्राविधिक समस्याप्रति सडक डिभिजन कार्यालय र सडक विभागका प्राविधिक सहमत छन् । तर, सडक विभागले कुनै निर्णय दिएर समस्या टुंग्याउन सकेको छैन ।


प्राविधिकहरूले सडक भासिएको खण्डमा डाइभर्सन वा बेलिब्रिजको प्रयोग गरी निर्माणलाई निरन्तरता दिन प्रस्ताव गरेका छन् । तर, निर्माण कम्पनीले त्यो प्रस्ताव पनि अस्वीकार गरेको छ । डाइभर्सन कि बेलिब्रिज प्रयोगबारे लामो समयदेखि छलफल चले पनि सडक विभागले भने कुनै निर्णय गर्न सकेको छैन । यही मौका छोपेर कम्पनीले निर्माण रोकेर हुलाकी सडकमा काम गर्न थालेको स्रोतले बतायो । सँगै सुरु गरेको बेथरीनजिकको समान प्रकृतिको घाघरा नदीमा भने अर्को निर्माण कम्पनीले १ वर्षअघि नै सडकमा डाइभर्सन गरी पुल निर्माण गरिसकेको छ । बुद्ध जन्मस्थल लुम्बिनी जान स्थलमार्ग र भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट आएका यात्रुले उक्त सडक प्रयोग गर्छन् । दैनिक ५ हजारभन्दा धेरै सवारी साधन गुड्ने यो पुल एकतर्फी हुँदा दिनहुँ घण्टौं जामले बोधगया, सारनाथ, कुशीनगरजस्ता बौद्ध धार्मिक तथा पर्यटकीय स्थलमा जाने यात्रु समस्यामा पर्दै आएका छन् । त्यही पुलबाटै लुम्बिनी करिडोरका उद्योगले कच्चा पदार्थ र उत्पादित सामान ढुवानी गर्छन् ।


‘पुलको जामले लुम्बिनीको पर्यटन प्रवद्र्धनलाई असर पारेको छ,’ भैरहवास्थित अशोका ट्राभल्सका सञ्चालक तथा पर्यटन व्यवसायी सागर अधिकारीले भने, ‘लुम्बिनी घुमाउन पर्यटक लिएर आएका भारतीय ट्राभल्स एजेन्सीले लुम्बिनी नपुर्‍याईकनै फर्काउने गरेका छन् ।’


डिभिजन सडक कार्यालयका अनुसार ६ करोड २ लाख ५६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको तिनाउ नदीमाथिको पुलको भौतिक प्रगति ५० प्रतिशतको हाराहारीमा छ । निर्माण कम्पनीले ३ करोड १२ लाख ९८ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । ५ करोड ५६ लाख ८० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको दानवको पुलको प्रगति ३५ प्रतिशत मात्र छ । १ करोड ९१ लाख १४ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।


दुवै पुलको ठेक्का सम्झौता हुलाकी सडक आयोजनाले गरेको हो । परामर्शदाता बिम कन्सल्टयान्ट प्रालि हो । दुवै पुलको निरीक्षण तथा अनुगमन गर्ने जिम्मेवारी लिएका सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अमित बर्माले निर्माण कम्पनीलाई नियमित काम गर्न पटक–पटक पत्राचार गरे पनि सम्पर्कमा नआएको बताए । ‘सडक भासिए विकल्प दिन्छौं भनेर बारम्बार पत्राचार गरिएको छ,’ बर्माले भने, ‘पछिल्लोपटक वैशाखमा पत्र पठाइए पनि कुनै जवाफ आएको छैन ।’

प्रकाशित : असार ८, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?