मल अभावले किसान मर्कामा

अमृता अनमोल

बुटवल — धान रोप्ने समयमा रूपन्देहीमा रासायनिक मल अभाव हुँदा किसान मर्कामा परेका छन् । मुख्य बाली लगाउने सिजनमै डीएपी मल अभाव हुँदा किसानले बाली लगाउनसमेत पाएका छैनन् । कृषि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई दिनुपर्ने रकम दिन ढिलाइ गर्दा मल अभाव भएको हो ।

मल अभावले किसान मर्कामा

गोदाम रित्तै भएको भन्दै साबिकका पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवाले अहिले आपूर्ति ठप्प पारेको छ । कम्पनीलाई अहिले काठमाडौं, धादिङ, नुवाकोट र काभ्रेमा समेत मल ढुवानी गर्ने जिम्मा दिइएको छ । मल नभएपछि ती क्षेत्र पनि प्रभावित भएका छन् ।


कार्यालय प्रमुख राजेन्द्रबहादुर कार्कीले गोदाममा डीएपी मलै नभएको बताए । मल अभाव हुन नदिन समयमै चनाखो भए पनि रकम नहँुदा समस्या भएको उनले बताए । ‘हामीले मल किन्न १ अर्ब ३ करोड रुपैयाँ माग गरेका थियौं,’ उनले भने, ‘तर, जम्मा ५० करोड, त्यो पनि ढिलो गरी मात्रै निकासा भएकाले सिजनमा मल किन्न सकिएन ।’ मल पठाउने गरेका कृषि सामग्री कम्पनी, कृषि विकास कार्यालय र सहकारीहरू अहिले निरन्तर कार्यालयमा धाइरहेका छन् । मल नहुँदा ढुवानी रोकिएको छ ।


भारतबाट मल आउने क्रममा रहेकाले आगामी साताबाट भने केही सहज हुने कार्कीले बताए । उनका अनुसार २ हजार ५ सय मेट्रिक टन डीएपी मल कोलकाताबाट आउँदै छ । आगामी साताको अन्तिमसम्ममा उक्त मल स्वदेश भित्रिइसक्नेछ । थप साढे ७ हजार मेट्रिक टन मल पनि आउने क्रममा छ । त्यो २ साताभित्र आइसक्नेछ । यसले पनि महेन्द्रनगरसम्मका किसानको मलको माग पूरा हुने छैन । कम्पनीको गोदाममा अहिले साढे १२ हजार मेट्रिक टन युरिया मौज्दात छ । केही मात्रामा पोटास पनि छ । तर, मुख्य माग भएको डीएपी नै नभएपछि मल ढुवानी रोकिएको हो ।


मल नपाएपछि सीमा नजिकका केही किसानले भारतीय बजारबाट गुणस्तरहीन र पोषकतत्त्व कम भएको रासायनिक मल भित्र्याएका छन् । त्यही मल ल्याउन पनि सीमाबाट भन्सार जाँच नगरी ल्याएको भन्दै प्रहरीले रोकेको किसानको गुनासो छ । ‘भारतबाट लुकाईछिपाई ल्याएको मल पनि सीमाको सशस्त्र प्रहरीले खोसेर दु:ख दिन्छ,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाको आमाका किसान राघुन्द्र कलवारले भने, ‘यता मल छैन । उताबाट ल्याउन पाइन्न ।’


भारतबाट किसान आफैंले मल ल्याउनु अवैध हो । यसले एकातिर रकम बढी खर्च हुने र अर्कातिर उत्पादन बढाउन नसक्ने कृषिविज्ञहरू बताउँछन् । कृषि विकास कार्यालयका बाली विकास अधिकृत विनोद ज्ञवालीले बेलैमा मल आपूर्ति हुन नसके उत्पादनमा असर पर्ने बताए । उनका अनुसार रोपाइँका लागि उपयुक्त महिना असार हो । छिटो पानी परेकाले यसपालि जेठ अन्तिम साताबाटै रोपाइँ सुरु भएको छ । ‘असारभित्रै धान रोप्दा गाँज झाँगिन्छ, रोग/कीरा लाग्दैन, झार उम्रँदैन र फसल राम्रो लाग्छ,’ उनले भने, ‘मल आयात समयमै नहुने हो भने सिजन राम्रो भए पनि आगामी वर्ष धान उत्पादन घट्ने निश्चित छ ।’ गत वर्ष पनि यो कार्यालयले सिजनको अन्तिममा मल वितरण गरेको थियो । साल्ट ट्रेडिङ कम्पनी भैरहवाले भने गएको वर्ष पनि मल बिक्री गर्न सकेको थिएन ।

प्रकाशित : असार ८, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?