१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षलाई व्यावसायिक कृषि तथा पशुपालन वर्षका रुपमा मनाउने नीति अघि सारिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

जसअन्तर्गत ६ सय बिघा जमिनमा व्यावसायिक फलफूल बगैंचा निर्माण गर्ने र ५ सय बिघा व्यावसायिक तरकारी खेती उत्पादन गर्ने नीति अंगिकार गरिएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । कृषियोग्य जमिन खण्डीकरण रोकी एक वर्षमा १ हजार ५ सय हेक्टर जमिनमा सिँचाई उपलब्ध गराउने नीति तय भएको पाण्डेले जानकारी दिए । कुनै पनि जमीनलाई बाँझो राख्न नपाईने नीति लिइने उनले बताए । वर्षमा एक बाली पनि खेती नगरी बाँझो छोड्ने कार्यलाई निरुत्साहित गरी त्यस्तो जमिनमा अतिरिक्त मालपोत शुल्क लगाइने उनले जानकारी दिए ।


वर्षमा तीन बाली उत्पादन गर्ने कृषकलाई करमा छुट दिइने नीति प्रस्तुत गरिएको छ । कृषि व्यवसाय तथा कृषिसँग सम्बन्धित कार्य गर्नेलाई सिफारिस शुल्क, दर्ता शुल्क तथा नवीकरण शुल्कमा केही छुट गर्ने व्यवस्था मिलाउने नीति तय गरिएको छ ।


यसैगरी कृषक परिचयपत्र, कृषक पोशाक, किसानसँग कृषि वैज्ञानिक भेट, एक वडा एक कृषि तथा तथा पशु सेवा प्राविधिक, पशु सेवा उपचारका लागि आधुनिक प्रयोगशाला र पशु एम्बुलेन्सजस्ता कार्यक्रम सञ्चालन गर्ने नीति प्रस्तुत भएको छ । विपन्न तथा सुकुम्बासीले जग्गा भाडामा लिई प्राङ्गारिक खेती गर्न चाहेमा तोकिएको भाडाको ५० प्रतिशत रकम अनुदान दिने व्यवस्था मिलाइएको छ ।


श्रमिक परिचयपत्र, सबै टोल र बस्तीमा सहकारीको पहुँच बिस्तारजस्ता कार्यक्रम सञ्चालन गर्ने नीति प्रस्तुत गरिएको छ । प्रत्येक वर्ष ‘घुम्न जाऔं तुलसीपुर’ अभियान चलाउने, एक वडा एक उद्यान, मिनि चिडियाखाना, बहुसाँस्कृतिक कला संग्रहालय निर्माण, होमस्टे सञ्चालन गर्ने र तुलसीपुरलाई पाहुनामैत्री शहर बनाउने नीति बनाइएको छ ।


प्रत्येक टोल बस्तीलाई सुर्तीशुन्य बनाउने, मदिरा सेवनलाई निश्चित स्थान र समयमा मात्र बिक्री वितरण तथा उपभोग गर्न पाउने मापदण्ड बनाउने र प्लास्टिकका कप, गिलास र प्लेटमा रोक लगाई स्थानीय सामान प्रयोगमा प्रोत्साहित गर्ने नीति प्रस्तुत भएको छ । थारु जातिमा रहेको सिकलसेल रोग न्यूनिकरणका कार्यक्रम सञ्चालन गर्ने नीति तय भएको छ ।


विदेश पलायन हुने युवाहरुको संख्या घटाउने, फोहरबाट उर्जा उत्पादन, तुलसीपुरलाई महिला हिंसा, छुवाछुत, अन्धविश्वास र कुप्रथालगायत सम्पूर्ण गलत प्रचलन, तथा प्रवृत्तिलाई अन्त्य गरी उच्च संस्कारयुक्त बनाउने र अन्तरजातीय नवविवाहित जोडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने नीति बनाइएको छ । ‘बालअधिकार–स्थानीय सरकारको सरोकार’ भन्ने नीति लिई बालमैत्री उपमहानगरपालिका निर्माणको प्रक्रिया अगाडि बढाएर आगामी वर्ष दुई वडालाई बालमैत्री घोषणा गर्ने लगायतका १ सय ९५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रकाशित : असार ८, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?