१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

उजाड डाँडामा हरियाली

समुदायलाई कबुलियती वन

पकला (प्यूठान) — वन विनाशले उजाड डाँडा र खाली जग्गा समुदायको संरक्षणमा पुगेपछि हरियालीपूर्ण भएका छन् । हरियालीबाट स्थानीय समुदायले आम्दानी पनि गर्न थालेका छन् ।

उजाड डाँडामा हरियाली

सरकारले विपन्न समुदायको आम्दानीका लागि नांगोमा परिणत हुँदै गएका डाँडा र खाली जग्गा कबुलियती वनका रूपमा समुदायलाई १० वर्षअघि हस्तान्तरण गरेको थियो । वनमाराले ढाकेका स्थान अहिले अम्रिसो, खर, बाँसलगायतले हरियालीपूर्ण बनेका छन् । ऐरावती गाउँपालिका २ र ३ का जाबुने, पकला र बरौला क्षेत्रका ४१ कबुलियती वन समूहका २ सय ४१ परिवार वनमाराले भरिएको जंगलमा डालेघाँस खेती गरिरहेका छन् । त्यसबाट उनीहरूको जीविकोपार्जन समेत हुँदै आएको छ ।

हैसियत बिग्रेको झन्डै ९ सय हेक्टर जमिन कबुलियतीनामा गराएर ४० वर्षका लागि विपन्न समुदायलाई हस्तान्तरण गरेको वन कार्यालयका प्रमुख प्रवीण बिडारीले बताए । इलाका वन कार्यालय बरौला अन्तर्गत दाङबाङ, पकला र बरौलामा ०६० बाट कबुलियती वन बनाउन थालिएको थियो । बरौलाअन्तर्गत १ सय ३७ दशमलव ८९ हेक्टर वन समुदायले संरक्षण गरिरहेका छन् ।

वन कार्यालयले जिल्लाभरि १ सय ७४ कबुलियती वन समूह गठन गरेर ७ सय ५० हेक्टरभन्दा बढी वन क्षेत्र समुदायलाई हस्तान्तरण गरेको छ । सुरुमा नमुना कलस्टर निर्माण गर्न कार्यालयले प्रतिसमूह ५० हजार रुपैयाँका दरले सहयोग गरेको थियो । समुदायले संरक्षण गर्न थालेपछि त्यस्ता कबुलियती वनमा चरिचरन बन्द गरिएको छ । वनमा समुदायले नै लगानी गर्छन् र त्यसबाट हुने आम्दानी पनि समुदाय आफैंले राख्छन् ।

काम र छलफल सामूहिक रूपमै गर्ने भए पनि त्यसको संरक्षण र आम्दानी भने समूहभित्रका व्यक्तिले नै लिन्छन् । समूहमा आबद्ध १ हजार ५ सय ९५ उपभोक्ताले प्रतिउपभोक्ता १० रोपनीका दरले जग्गा पाएका छन् । जेठको अन्तिम सातादेखि साउनसम्म जंगलभित्र गोडमेल, सरसफाइ र बिरुवा हुर्काउने काम गर्छन् । नर्सरीमा उत्पादन गरेको बिरुवा बिक्री गर्ने उपयुक्त समय पनि यही नै हो ।

खाली भएको सरकारी जग्गा पाएपछि किसानले पशु चौपायाको संख्या बढाएका छन् । दुई/चार वटा बाख्रा पाल्ने किसानले बढाएर डेढ दर्जनसम्म पुर्‍याएका छन् । कबुलियती वनले बाख्रा पाल्न सहज बनाएको र त्यसबाटै आम्दानी पनि बढेको हारबाङदीप कबुलियती वन समूहका अध्यक्ष कमलसिङ गुरुङले बताए । समूहलाई वन कार्यालयले ब्याड बोका पनि दिएको छ ।

उपभोक्ताले अम्रिसोको नर्सरी बनाएर बिरुवा बिक्री गरेर पनि आम्दानी गरेका छन् । स्थानीय उदयबहादुर जीसीले अम्रिसोको बिरुवा बिक्रीबाट मात्र यस वर्ष २० हजार आम्दानी गरेको बताए । तुलाकुमारी गुरुङको समूहले कबुलियती वनभित्रको घाँस, दाउरा र अम्रिसोको बिरुवा बिक्री गरेर यस वर्ष मात्र २ लाख ५० हजार आम्दानी गरेको बताइन् ।

प्रकाशित : असार १०, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?