२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दुर्गममा सामूहिक तरकारी खेती

माधव अर्याल

पाल्पा — पूर्वखोला गाउँपालिका ६ खुमडाँडाका किसानले गाउँमै पहिलो पटक सामूहिक तरकारी खेती सुरु गरेका छन् । जनजाति मगर बस्तीका २७ घर किसान परिवारले परम्परागत मकै लगाउँदै आएको १२ रोपनी बारीमा सामूहिक तरकारी खेती गर्न सुरु गरेका हुन् ।

दुर्गममा सामूहिक तरकारी खेती

कानुङ खुमडाँडा कृषि समूह गठन गरेर बेमौसमी बन्दा खेतीबाट पहिलो पटक कृषि अभियान सुरु गरेको उनीहरूले बताए । ‘विदेशमा जानुभन्दा यहीँ कृषिकर्म गर्न सकियो भने आम्दानी हुन्छ भन्ने बुझाउने योजना छ,’ अगुवा किसान जितबहादुर रानाले भने, ‘हाम्रो मुख्य उद्देश्य युवा पलायन रोक्ने हो ।’ यस गाउँका धेरै युवा विदेश पलायन छन् ।

समूहका अगुवा जितबहादुर स्वयं पनि भारत, मलेसिया र सिंगापुरमा बसेर तरकारी खेती गरेर फर्केका हुन् । समूहका किसानहरूले हरेक महिना १ हजार ५ सय रुपैयाँ सामूहिक खेतीका लागि उठाउने गर्छन् । बन्दागोभीका अतिरिक्त गोलभेंडा, मुला, काँक्रो, धनियाँ पनि लगाउने तयारी भएको स्थानीय अगुवा कृषक रानाले बताए । उनका अनुसार १० हजार बन्दागोभी हुर्केका छन् । बेमौसमी गोलभेंडाका ८ हजार बिरुवा लगाउने तयारीमा छन् ।

यस गाउँका बुढापाकामा अहिले पनि सामूहिक तयारी खेतीमा विश्वास छैन । यस्तो खेती सफल हुन्छ भन्ने विश्वास नगर्ने धेरै थिए र अझै पनि छन् । तर, नमुना प्लटमा तरकारी खेती गर्दा सन्तुष्टि मिलेको रानाले बताए । ‘गरेपछि काम सफल हुन्छ भन्ने उदाहरण यहाँ देखिएको छ,’ वडाध्यक्ष मनबहादुर सारुले भने, ‘समूहमा मेरो परिवार पनि छ तर सबैलाई विश्वास दिलाउन अझै सकिएको छैन ।’ सदरमुकामबाट ४० किलोमिटर पूर्वउत्तरमा रहेको यस गाउँमा गरेको तरकारी खेती हेर्न छिमेकी गाउँका समेत पुग्ने गरेका छन् ।

डाँडाबस्तीमा सामूहिक तरकारी खेती सफल होला भन्ने कमैलाई लागेको थियो । स्थानीय कृषक रम्भा घर्तीले सबैलाई विश्वास दिलाउन सक्ने अगुवाहरूका कारण सामूहिक तरकारी खेतीमा लागेको बताइन् । ‘यस्तो बस्तीमा तरकारी खेती गर्ने भन्दा विश्वास नै लागेन,’ उनले भनिन्, ‘अहिले बिरुवा हुर्केको देख्दा सबैलाई खुसी बनाएको छ ।’

यहाँ काम गरेको सीप प्रत्येक घरमा लगाउन सकियोस् भन्ने योजना छ । परम्परागत मकै र तोरी खेती गर्ने यी बारीमा अहिले हलहल बढेका तरकारी देख्दा सबैमा खुसियाली छाएको छ । सदस्य सबैले सामूहिक रूपमा काम गर्छन् । गोडमेल, खनजोत गर्दा सबैको सहभागिता हुने गर्छ । अहिलेको सिजनमा ८ लाखभन्दा बढीको गोलभेंडा र ६ लाख रुपैयाँभन्दा बढीको बन्दागोभी बिक्री गर्ने योजना उनीहरूको छ ।

वडा कार्यालयले सामूहिक तरकारी खेतीका लागि लक्षित वर्गको बजेटबाट १ लाख रुपैयाँ सहयोग गरेको छ । किसानले १० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन । वडाध्यक्ष सारूले खुमडाँडा क्षेत्रलाई गाउँपालिकाकै नमुना तरकारी खेती र प्रदर्शनी स्थल बनाउने योजना रहेको सुनाए ।

गाउँपालिकाका सूचना अधिकृत मोहन ढकालका अनुसार हेक्लाङ खुमडाँडाको तरकारी खेती सबैलाई लोभ्याउने खालको छ । ‘यस विषयमा गाउँपालिकामा छलफल भएको छ,’ उनले भने, ‘उत्साह, जोस, जाँगरलाई मर्न दिइने छैन भन्ने गाउँपालिकाको मान्यता छ ।’

प्रकाशित : असार १०, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?